आजदेखि यी स्थानमा दैनिक ६ घण्टा बिजुली नआउने
काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चार दिन ६ घण्टा बिजुली कटौती हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना, खटिपारीका अनुसार जेठ ३, ५, ६ र ८ गते बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
बिहीबार नयाँबजार, खुसिब, सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ। शुक्रबार सोह्रखुट्टे चोक, भ्याली कोल्ड स्टोर, पिपुल्स डेन्टल अस्पताल टेक, पुष्पलाल पार्क, ढल्कु क्षेत्रपाटी चोक, धोबीचौर, ठहिटी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा बिजुली कटौती हुनेछ।
त्यस्तै जेठ ६ गते काष्ठमण्डप भीमसेनस्थान १२ नं वडा कार्यालय, ह्युमत, जैसीदेवल र चिगमंगल तथा ८ गते भीमसेनस्थान, काष्ठमण्डप त्रिपुरेश्वर टेक, पचली भैरव मन्दिर, बम्सीघाट, सबलबहाल र त्रिपुरेश्वर, विश्व निकेतन स्कुल क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे
काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो । टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।
एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन
काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो । सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि सङ्गठनहरूले त्यसको उत्तर दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै जानु महासङ्घको गम्भिर झुल भएको स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।
चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी
काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।