परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै छन्।

एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को परराष्ट्र मन्त्रीस्तरीय १९औँ  बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन्। यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ ।

मन्त्रीस्तरीय बैठक अघि आइतबार तेहरानमा हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन्।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

देशका विभिन्न स्थानमा वर्षा जारी, अझै कायम रहने

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका धेरै स्थानमा भीषण वर्षा भएको छ।  मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो साढे १२ बजे सार्वजनिक गरेको विवरणअनुसार कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा भारी वर्षा (५० मिमिभन्दा बढी) र केही स्थानमा धेरै भारी वर्षा (१०० मिमिभन्दा बढी) भएको छ।  यसैगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी र मधेस प्रदेशका एकरदुई स्थानमा अति भारी वर्षा (२०० मिमिभन्दा बढी) पनि भएको महाशाखाले जनाएको छ।  हाल कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको र आज पनि वर्षाको क्रम जारी रहने भएकाले सतर्क रहन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ। 

उपत्यका प्रवेश गर्ने नाका अवरुद्ध, यातायात ठप्प

काठमाडौं । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।  बिहान १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । नागढुंगा प्रहरीका ड्युटी अफिसर प्रहरी सहायक निरीक्षक दीपकबहादुर धानुकका अनुसार पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन् । प्रहरीका अनुसार उपत्यकाका नाकाहरूमा सडक अवरुद्ध भएका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार फर्पिङमा पनि पहिरो खसेको छ ।

अविरल वर्षासँगै देशभर बाढीपहिरोबाट ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं ।  अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।  पहिरोमा पुरिएर पाँचथरमा दुई, धनकुटामा दुईजनाको मृत्यु भएको छ । झापामा बाढीले बगाएर एजनाको मृत्यु भएको छ ।  काभ्रेमा पहिरोमा परेर तीन र ललितपुरमा एकजनाको मृत्यु भएको छ । काठमाडौंमा बाढी र पहिरोमा परेर एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  धादिङमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार १० जना बेपत्ता भएका छन् । ७६० जना सकुशल उद्दार गरिएको छ । १६२ घरमा क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

उपत्यकामा अत्यधिक वर्षा, बागमती र बिष्णुमती सतर्कता तहभन्दा माथि

काठमाडौं । काठमाडौँ उपत्यकाको नदीले सतर्कताको तह पार गरेको छ। अझै बढ्दो क्रममा रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले सबैमा अनुरोध गरेको छ।  उपत्यकास्थित बाग्मती नदी खोकना, गौरीघाट, बल्खु खोला बलम्बु र विष्णुमती गोङ्गबु बसपार्क जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरको हो।  महाशाखाले बढ्दो क्रममा भएकाले नदीको तटीय क्षेत्रमा यात्रा गर्ने र बस्नेहरुले राती सम्मै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।  यस्तै सिन्धुपालचोक जिल्ला स्थित मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागमा सावधानी अपनाउन अनुरोध गरिएको छ।

लोकप्रिय