ईपीएस भाषा परीक्षामा सहभागी ४० हजार ५८० मध्ये ६ हजार ३२१ जना उत्तीर्ण
काठमाडौं । पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। गत ७ फागुनदेखि २४ चैतसम्म भएको भाषा परीक्षामा उत्पादनमुलकतर्फ सहभागी ४० हजार ५८० मध्येबाट ६ हजार ३२१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार उत्तीर्ण भएकाहरूले अब सीप परीक्षा दिनु पर्नेछ।
‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरू कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुने विभागले जनाएको छ।उनीहरुको सिप परिक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म तय गरेको छ ।
उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म हुँदैछ। त्यस्तै तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म हुने तालिका छ।
पञ्चायतकी चर्चित पात्र नानीमैयाँ दाहालको निधन
काठमाडौं । पञ्चायत कालकी चर्चित पात्र राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ। निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौंमा निधन भएको हो ।पञ्चायतकालमा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन्। त्यसपछि उनी चर्चामा आएकी थिइन्। सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् । उनको पशुपति आर्यघाटमा आजै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।
चितवन बस दुर्घटनामा २३ जना घाइते
चितवन । नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको बस नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटनामा परेको छ । दुर्घटनामा २३ जना घाइते भएका छन् । लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान साढे ४ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिए । उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले ४ प्रदेशको मौसम बदली
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला (बुधबार बिहान) बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। तराई भूभागका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुने सम्भावना छ। त्यसैगरी कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। महाशाखाले आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातको सम्भावना रहेकोले त्यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाटसमेत बच्नको लागि आवश्यक उपाय तथा सतर्कता अपनाउन अनुरोध छ।’
माओवादी र भ्रष्टहरू आमनेसामने हुने स्थिति बनेको छ : अध्यक्ष प्रचण्ड
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी र भ्रष्ट तत्व आमनेसामने हुने स्थिति बनेको बताउनुभएको छ । शनिबार दाङमाको घोराहीमा माओवादीको नगर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले त्यसविरुद्ध माओवादीले शान्तिपूर्ण संघर्ष गर्ने समेत बताउनुभयो। ‘दलाल पूँजीपति, नोकरशाही, बिचौलिया, भूमाफिया र सबै जालीझेलीहरुका विरुद्ध आमनेसामने भएका छौं,’ प्रचण्डले भन्नुभयो, ‘यतिबेला सशस्त्र त होइन, शान्तिपूर्ण संघर्षको बेला हो।’ उहाँले थप्नुभयो, ‘शान्तिपूर्ण संघर्षमा एकतर्फ दलाल, बिचौलिया र भ्रष्ट तत्वहरु र अर्कोतिर माओवादी, सच्चा देशभक्तहरु आमनेसामने हुने स्थिति बनेको छ।’ प्रचण्डले गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन नदिने समेत बताउनुभयो। ‘हामीले यो गणतन्त्रलाई बुर्जुवा गणतन्त्रमा सीमित हुन दिने छैनौँ भनेर विश्वसमुदायलाई अपिल गर्दै युद्धको मैदानबाटै समाजवादतिरको यात्रा आरम्भ गरेको संकल्प लिएका थियौँ। ती दिनलाई स्मरण गर्न र संकल्पअनुसार अघि बढ्न म विशेष रूपले अपिल गर्न चाहन्छु।’उहाँले भन्नुभयो ।