नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा
भरतपुर । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।
उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुइतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । सिमलतालमा दुइतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए।
सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसको खोजीकार्य जारी छ। अहिले बस र यात्रुको खोजीका लागि धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।
हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्ला । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । रासस
संसदका तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
सातवटै प्रदेशमा वर्षाको सम्भावना, चिसो बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहने छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली शुरु भएको र यो बिस्तारै पूर्वतिर फैलिँदै गरेको महाशाखाले जनाएको छ । यो प्रणाली आज राति कर्णाली प्रदेश हुँदै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउनेछ । पूर्वतर्फ फैलिँदै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिनेछ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । हाल वर्षा भइसकेको छैन तर आज राति र भोलि बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने तथा अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गत मंसिरको अन्तिम साता चिसो अत्यधिक बढेर विस्तारै घट्दै गएपनि सोमबारदेखि पुनः चिसो बढ्न थालेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । यसैगरि अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दै गएको महाशाखाले जनाएको छ।
राज्य व्यवस्थासहित पाँच समितिको बैठक बस्दै, यी हुन् एजेण्डा
काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न पाँच समितिको बैठक आज बस्दैछ । आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको कार्यान्वयनमा वनक्षेत्र र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित समस्याका विषयमा छलफल हुनेछ । यसैगरी, सिंहदरबारमा मध्याह्न १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समिति बैठकमा आत्महत्या रोकथाम सम्बन्धमा समितिबाट भएको निर्देशन कार्यान्वयन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । राज्य व्यवस्था समितिको बैठक दिउँसो १ बजे समितिको सभाकक्षमा बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमै बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद ९दोस्रो संशोधन० विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने तयारी छ ।