डराउँदै चलाउँदै इन्ड्राइभ राइडरहरु
कुनै ठाउँमा कारवाही गर्ने, कुनै ठाउँमा निर्वाध छोड्ने, एप्लिकेसन चल्न दिने गर्दा राइडर, यात्रु र नियन्त्रण गर्ने प्रहरी समेत अन्यौलमा
काठमाडौं । गोदावरी नगरपालिका वडा नम्बर १६ ठेचोमा बाटोको छेउमा मोटरसाईकलमा बसेर प्रशान्त तामाङ मोवाइल हेरिरहेका थिए ।
इनड्राइभ एप चलाइरहेका उनी कुनै अर्डर पर्खिदै थिए । एकैछिनमा एक जना यात्रु आएर सातदोबाटो जान आग्रह गर्दै पैसा कति लाग्ने भन्नेबारे जिज्ञासा राखे ।
तामाङले मोवाइल एपमा रकम हेर्न आग्रह गर्दै आफुले अफलाईन ड्राइभ नगर्ने बताए । उनले भने, ‘इनड्राइभमा अनलाइन नै भएपनि समाउन थालेको छ भन्ने सुनेको छु, अफलाइन त झन चलाउनै भएन नी !’
इनड्राइभ एपमा रु. १०५ देखाएपछि त्यही पैसा दिने लिने त सहमति भयो तर तामाङले त्यसपछि मोवाइलमा एप बन्द गरे र पछाडि बस्नेलाई आग्रह गरे, ‘अहिले इनड्राइभलाई समाउने गरेको छ, प्रहरी चेकिङ भयो भने, मेरो भाइ हो, भनिदिनुस् ल !’
प्रशान्त तामाङ मात्रै होइन, अहिले इन ड्राइभ गर्नेहरु धेरैले यही अभ्यास गर्ने गरेका छन् । चल्ने एप पनि खुल्ला छाड्ने र बेला बेला ‘प्रयोजन विपरित सवारी चलाएको’ भन्दै दुई हजार देखि दुई हजार पाँच सय चिट काट्ने र पक्राउ सम्म गरेपछि इनड्राइभ चालकहरु दोधारमा परेको देखिन्छ ।
प्रशान्त भन्छन्, ‘कि सरकारले टिकटक जस्तै एप्स नै नचल्ने बनाए हुने, कि बन्द नै हो भने हुने, कि बेला बेला दुःख नदिए हुने ।’
गएको २२ चैतको बेलुका बौद्धको नयाँबस्तीस्थित पहेँलो पुलमा एकैपटक इन्ड्राइभ एपमार्फत राइड सेयरिङ गरेका १० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले जनही दुई हजार रुपैयाँ जरिवाना गरेको कुरा सामाजिक सञ्जालमा रहेको उनीहरुको ग्रुपमा मार्फत सार्बजनिक भएपछि इन्ड्राइभका राइडरहरु आतंकित भएका हुन् ।
मोटरसाइकल चालकले ग्राहकसँग मोलमोलाइ गरेर अफलाइनमा राइड सेयरिङ गरेको पाएमा ट्राफिकले कारबाही गर्ने गरेपनि इनड्राइभ एपमा अनलाइनमा नै चलाउँदा पनि कारवाही भएपछि इन्ड्राइभका राइडरहरु झस्किएका छन् ।
नेपालमा २०२२ देखि सञ्चालनमा आएको इन्ड्राइभमा कमिसन दिनुनपर्ने भएपछि अर्को राइड सेयरिङ गर्ने एप ‘पठाओ’ भन्दा यो केहि सस्तो पर्ने चालक तथा यात्रु बताउँछन् । एभरेष्ट दैनिकसँगको कुराकानीमा राइडर्स ग्रुप नेपालका सचिव सागर थापा भन्छन्, ‘नेपाल राजपत्रमा प्रकाशित भएको कुरामा पनि हामीलाई बेलाबेला दुःख दिने गरिएको छ । पठाओमा कमिसनको खेल हुँदा यात्रु र राइडर दुबैलाई केही घाटा हुन्छ, तर यसमा हुँदैन ।’
अघिल्लो विहीबार देखि अकस्मात रुपमा आफुहरुलाई समाउन लागेको उनले बताए ।
‘भारत, पाकिस्तान, अष्ट्रेलिया कहींपनि इन्ड्राइभको अफिस छैन तर मजाले चलिरहेको छ, सचिव थापाले भने, एपमा सम्पूर्ण डकुमेन्टहरु अपडेट हुने भएकाले दर्ता नै गर्नुनपर्ने हो । तर दर्ता प्रक्रियामा भएपनि नेपालको कानूनका कारण ढिला भएको र ९० प्रतिशत काम सकिएको जानकारी पाएको छु ।’
पोखरामा सात सय जनाको ग्रुप भएकोमा कसैलाई नसमाइएको, ललितपुरमा पनि चासो नदिइएको तर काठमाडौंका केहि ठाउँमा दुःख दिएको थापाको भनाई छ । आफुहरुले गृहमन्त्रीका स्वकीय सचिव गृह मन्त्रालयमा कुरा गर्दा पनि अनलाईनमा चलाउन कुनै समस्या नभएको बताए पनि प्रहरीले फरक व्यवहार गरेको उनले दावी गरे ।
ट्राफिक प्रहरीले भने प्रयोजन विपरित चलाएका सवारीसाधन कारवाहीको दायरामा आउने बताएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी तथा प्रवक्ता जीवनकुमार श्रेष्ठले भने, ‘इनड्राइभ चलेको वा व्याण्ड भएको कुनै जानकारी छैन ।’ एभरेष्ट दैनिकसँग राइड सेयरिङ गर्ने एपको नाम नलिइकन उनले अगाडि भने, ‘अफलाईन चलाउने, दर्ता नभएको चलाउने वा प्रयोजन विपरित चलाउने सबैलाई कारवाही हुन्छ ।’
उनका अनुसार रातो प्लेट नम्बर भएका सवारीसाधनले अर्को मान्छे ओसारपसार गर्नु नै ‘प्रयोजन विपरित’ हुन्छ । त्यस अर्थमा पठाओ समेत बन्द गर्नुपर्ने हुन्छ ।
प्रहरीले कारवाही गर्न थालेपछि इनड्राइभका राइडरहरुले मोटरसाइकल अगाडि राख्ने मोवाइल स्टाण्ड झिक्ने, यात्रु पाएपछि मोवाइलमा एप्स बन्द गर्ने, यात्रुलाई आफन्त भन्न लगाउने र गन्तव्यमा पु¥याउने गरेका छन् ।
राइडर्स ग्रुप नेपालका अनुसार आंशिक समय र पुरा समय गरी अहिले नेपालमा करिब दुई लाख २५ हजार जनाले राइड गरिरहेका छन् । राइडर्स ग्रुप नेपालका सचिव थापाले सरकारी कर्मचारीले समेत अहिले कार्यालय जाँदा र फर्किदा इन्ड्राइभ गर्ने गरेको बताए ।
नेपालमा हाल पठाओ, इन्ड्राइभ, टुटल, ट्याक्सीमाण्डु लगायतका राइड सेयरिङ एप सञ्चालनमा छन् । त्यसमध्ये पछिल्लो समय इन्ड्राइभका प्रयोगकर्ता बढि रहेको राइडर्स ग्रुपको भनाई छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८० साउनदेखि अहिलेसम्म राइड सेयरिङ गर्ने १९ हजार बढि कारबाहीमा परेका छन् । ति मध्ये इन्ड्राइभ र अफलाईन राइडर दुबै छन् ।
तर कुनै ठाउँमा कारवाही गर्ने, कुनै ठाउँमा निर्वाध छोड्ने, एप्लिकेसन भने निर्वाध चल्न दिने गर्दा राइडर, यात्रु र नियन्त्रण गर्ने प्रहरीमै पनि अन्यौल देखिन्छ ।
अर्थसहित तीनवटा समितिको बैठक बस्ने, यस्ता छन् ऐजेण्डा
काठमाडौं। संसदका तीनवटा समितिको बैठक आज बस्दैछ । अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक बिहान ११ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्नेछ । बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने तयारी छ । साथै आज नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सिंहदरबारमा दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्या तथा समाधानका उपायहरुका सम्बन्धमा छलफल हुने बताइएको छ ।
त्रिभुवन विश्वविद्यालयमा ८ डीन नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले ८ जना डीन नियुक्त गरेको छ । शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रजिस्ट्रार केदार प्रसाद रिजालले जानकारी दिनुभयो । कार्यविधिको आधारमा सर्वसम्मतिले डीनहरु नियुक्त गरिएको बताइएको छ । चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा प्रा.डा.मोहनराज शर्मा, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा प्रा।डा। सुशीलबहादुर बज्राचार्य, व्यवस्थापन संकायमा प्रा.डा.महानन्द चालिसे, मानविकी तथा सामाजिकशास्त्र संकायमा प्रा.डा. द्विविनन्द ढकाल, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक डा.किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्रा।डा।वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा सहप्राध्यापक ठाकुर सिलवाल र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा।डा।शंकर खनाललाई नियुक्त गरिएको हो । नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रधानमन्त्री तथा त्रिविका कुलपति केपी शर्मा ओलीले ७ पुसभित्र नियुक्त गरिसक्न निर्देशन दिनुभएको थियो । त्यसैगरि त्रिविको कार्यकारी परिषद्ले तीन निर्देशक पनि नियुक्त गरेको छ । शिक्षा विकास तथा अनुसन्धान केन्द्रको निर्देशकमा डा.सहप्राध्यापक राजेन्द्र कुँवर, व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्रको निर्देशकमा प्रा.डा. मिनराज भण्डारी र योजना निर्देशनालयका निर्देशकमा सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मालाई नियुक्त गरिएको हो ।
यस्ता छन् पछिल्लो मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा सदस्यहरु थप गरेको छ । पूर्वसचिव रामेश्वरप्रसाद खनालको अध्यक्षतमा गठित आयोगको सदस्यहरुमा निजी क्षेत्रबाट चन्द्रप्रसाद ढकाल (अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ) राजेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल उद्योग परिसंघ) र कमलेशकुमार अग्रवाल (अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स) सदस्य थप गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो । उहाँकाअनुसार सरकारले फिलिपिन्सको मनिलामा यही मङ्सिर २५ देखि २७ गतेसम्म आयोजना हुने दिगो यातायातसम्बन्धी छलफल कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । राष्ट्रिय योजना आयोगको प्रमुख सूचना आयुक्तमा सुरेश आचार्य नियुक्तलाई गरेको छ । आयोगको प्रमुख सूचना आयुक्तमा आचार्य र आयुक्तहरूमा गगन विष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको हो । बेल्जियमका लागि नेपाली राजदुतमा सिफारिस सेवा लम्साललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । चालु आर्थिक वर्षको मंसिर महिनामा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट निष्काशन हुने दुई अर्ब रुपैयाँ ऋणको नागरिक वचतको अवधी पाँच वर्ष र व्याजदर ७.५ प्रतिशत तोक्ने निर्णय भएको प्रवक्ता गुरुङले बताउनुभयो । प्रवक्ता गुरुङकाअनुसार सरकारले नेपाल प्रहरीको जनपथतर्फको दुई अतिरिक्त महानिरिक्षकको रिक्त पदमा प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा गरेको छ । सरकारले मंसिर ९ गतेदेखि पैसा तिरेर धरहरा चढ्न पाइने निर्णय गरेको छ । अगामी आईतवारदेखि सशुल्करूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको प्रवक्ता गुरुङले बताउनु भयो । विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन आदेश बमोजिम हाललाई अनुसूचिमा प्रश्ताव गरेबमोजिमको शुल्क लिएर धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी गराउनुभयो । सरकारले स्विट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिव एक अर्ब ७६ करोड ९७ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिसका लागि गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ । कपिलवस्तु निवासी पूर्णबहादुर नेपालीलाई श्रीलंकाका लागि नेपाली राजदुतमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । मङ्सिर १३ गते काठमाडौँमा हुने सीमा व्यापार तथा निगमका लागि नेपाल चीन समन्वय संयन्त्रको दोस्रो बैठकको वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गर्ने, वन ऐन, २०७६ को दफा ४५ बमोजिमको वन विकास कोषबाट व्यहोर्नुपर्ने दायित्व सृजना भएका बखत अर्थ मन्त्रालयले स्रोत व्यवस्था गर्नेगरी नेपाल सरकारद्वारा सञ्चालित आयोजनाले आव २०८१–८२ मा वन विकास कोषमा रकम जम्मा गर्नु नपर्ने गरी स्रोत सुनिश्चितता प्रदान गर्ने, धरान–केराबारी लेटाङ–मधुमल्ला सडक निर्माणका लागि झापा, सुनसरी र मोरङमा रहेको राष्ट्रिय वनको ३६ दशमलव ३२३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, सरकारले नेपाल स्वास्थ्य सेवा ऐनलाई संशोधन र एकीकरण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र यही मङ्सिर १९ देखि २० गतेसम्म इन्डोनेसियाको बालीमा सञ्चालन हुने गभिज डिसेम्बर २४ को बोर्ड बैठकमा नेपाल सरकारलाई थप आर्थिक व्ययभार नपर्नेगरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ । त्यस्तै राष्ट्रिय योजना आयोगमा विशेष अधिकृत (राजपत्राङ्कित विशिष्ट श्रेणी, मुख्यसचिव) सरह पदमा कार्यरत डा. बैकुण्ठ अर्यालले पेस गर्नुभएको स्वेच्छिक अवकाश स्वीकृत गर्ने र शहरी विकास मन्त्रालयसंवद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयनसम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गरेको छ ।
कार्तिक ८ सम्म बक्यौता नतिरे ४९ उद्योगको विद्युत लाइन काटिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ४९ उद्योगलाई ८ कात्तिकसम्म पनि डेडिकेटेड फिडर र ट्रंकलाइनको प्रिमियम महसुल बक्यौता नबुझाए विद्युत् लाइन काट्ने चेतावनी दिएको छ । २४ असोजमा सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले बक्यौता तिर्न उद्योगहरूलाई ताकेता गरेको हो । त्यसअघि प्राधिकरणले २२ असोजमा उद्योगहरूलाई छुट्टाछुट्टै पत्रमार्फत पनि बक्यौता तिर्न ताकेता गरेको थियो । त्यसपछि २४ असोजमा सार्वजनिक सूचना नै प्रकाशन गरेर उद्योगहरूलाई बक्यौता तिर्न ताकेता गरिएको हो । आठ अर्ब चार करोड नौ लाख हाराहारीमा रहेको कुल बक्यौता समयमै नबुझाएमा कानुनअनुसार कारबाही अघि बढाउने सार्वजनिक सूचनामा उल्लेख छ । सार्वजनिक सूचना र सीधै पत्र पठाउँदासमेत मंगलबारसम्म कुनै पनि उद्योग सम्पर्कमा नआएको प्राधिकरणका उपकार्यकारी निर्देशक एवं वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले जानकारी दिए । उद्योगहरूले उक्त अवधिमा महसुल नतिरेमा कानुनअनुसार उद्योगको लाइन काटिने उनको भनाइ छ । बक्यौता नतिरेको भन्दै प्राधिकरणले गत असार २५, २६ र २७ गते ६ उद्योगको लाइन काटेको थियो । कानुनअनुसार बक्यौता नतिरेसम्म काटिएको लाइन जोड्न मिल्दैन । तर, ३० असारमा प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओलीले उद्योगहरूमा लाइन जोड्न ठाडो मौखिक निर्देशन दिए । त्यसपछि विद्युत् नियमन आयोगले पनि ६ साउनमा प्राधिकरणलाई लाइन जोड्न लिखित निर्देशन दिएको थियो । ६ उद्योगले दिएको उजुरीका आधारमा आयोगले उक्त निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरणले ८ साउनमा ६ उद्योगमा काटेको लाइन जोड्ने निर्णय गरेको थियो ।