राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् । किरणकुमार श्रेष्ठको दुई कार्यकाल सकिएपछि खनाललाई कामु सीईओको जिम्मेवारी दिइएको थियो ।

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो । १६ वर्षअघि खनाल राष्ट्रिय वाणिज्य बैंकमा प्रवेश गरेका थिए ।

बैंकले सीईओको आवेदन खुला गरेपछि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये पाँचजनाको नाम सर्ट लिस्टमा परेको थियो । 

समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेगरी बजेट ल्याएका छौँ : अर्थमन्त्री

काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले उत्पादन वृद्धि, रोजगारी सिर्जना र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको बताएका छन् । शनिबार काठमाडौँमा नेकपा (माओवादी केन्द्र) अछाम(काठमाडौँ सम्पर्क समन्वय समितिको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बजेटमा कृषि, पर्यटन, जलविद्युत, आइटी क्षेत्रलाई नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्रका रूपमा अघि सारिएको बताए। ‘‘अहिले हामीले बजेटमा पनि उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने मूल नाराका आधारमा बजेट प्रस्तुत भएको छ।अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा निर्देशन भएर। कृषि, पर्यटन, जलविद्युत, आइटी र उत्पादनमूलक क्षेत्रहरू नेपालको अर्थतन्त्रमा रूपान्तरण ल्याउने क्षेत्र हुनसक्छन् । सात प्रदेशका सात वटा विशेषता छुट्याएका छौँ।,’’मन्त्री पुनले भने, ‘‘सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नुपर्छ भनेर लगानी कर्तालाई आह्वान गरेका छौँ । एउटा प्रदेशले एउटा विशेषतामा लैजाने भन्ने किसिमबाट बजेट प्रस्तुत गरेका छौँ। अरू हाम्रो पार्टी, कार्यकर्तालाई पनि उत्पादनसँग जोड्ने आयोजनाहरू, रोजगारी सम्बन्धी कार्यक्रमहरू अघि सारेका छौँ। उत्पादनसँग जोडिनुपर्छ।’’ उनले सात प्रदेशका सात वटा विशेषता छुट्याएको बताए। उनले सुदूरपश्चिमलाई पर्यटकीय हबको रूपमा विकास गर्नेगरी बजेटमा विनियोजन गरिएको बताए। उनले सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने गरी काम गरिरहेको जिकिर गरे। उनले मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादन केन्द्रित बजेट ल्याएको औँल्याए। उनले भने, ‘‘उत्पादनसँग जोडिने, श्रम गर्ने, ट्याक्स तिर्ने, र आफ्नो उत्पादनलाई आफैँले प्रयोग गर्ने काम गरौँ भनेका छौँ। सरकारले अहिले सुशासन, सामाजिक न्याय, समृद्धिलाई जोडेर लैजाने र सोह्रौँ आवधिक योजनालाई बोक्ने मुख्य नारा बनाएको छ। हामी केही मानिस धनी हुने मात्रै नभई समानतातिर लैजाने किसिमले उत्पादनमा केन्द्रित छौँ। भ्रष्टाचार लगायत विभिन्न खालका विकृति नियन्त्रण गरेर मात्रै सुशासन स्थापित गर्नसक्छौँ।’’ उनले समाजको नैतिक धरातललाई नबिर्सीकन काम गर्दा समाज र देश समृद्ध बन्ने बताए ।

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार ८ गते शनिबार सन् २०२४ जुन २२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। शुक्रबारको तुलनामा शनिबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर सामान्य अंकमा घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५१ पैसा र बिक्री दर १६९ रुपैयाँ २७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

नेप्से १०.४४ अंकले घट्यो, तीन अर्ब ८७ करोडको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १०.४४ अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से ०.५० प्रतिशतले घटेर २०६८.३१ विन्दुमा बन्द भएको छ। यस दिन नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने बढेको छ। आज तीन अर्ब ८७ करोड सात लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार भने तीन अर्ब ४० करोड रुपैयाँको सेयर कारोबार भएको थियो । ५२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । आठ कम्पनीको सेयर मूल्य भने स्थिर छ। कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.७१ प्रतिशतले वृद्धि भएको छ भने कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.२८ प्रतिशतले घटेको छ। कुथेली बुखरीको सेयर मूल्य यसअघिका दिनमा १० प्रतिशतले बढेको थियो। कारोबारमा आएका १३ समूहमध्ये फाइनान्स र म्युचुअल फन्ड समूहको परिसूचक बढेको छ। बाँकी सबै समूहको परिसूचक घटेको छ ।

निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल मध्यपहाडी लोकमार्गको केही खण्डमा रेखाङ्कन विवादले निर्माण कार्य अगाडि बढ्न नसकेको भए पनि भुक्तानीका कारण नभएको स्पष्ट पारे। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारूकताकासाथ कार्य भइरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अन्य मुलुकका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नका लागि विभिन्न छूटहरू तथा सहुलियतहरू माग गरेको हुँदा सो विषयमा समन्वय भइरहेको जानकारी दिए।  “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रूपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेश गर्न कार्य समिति गठन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “समितिको प्रतिवेदन तथा सिफारिश प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक निजी साझेदारी वा अन्य उपयुक्त सञ्चालनको विधि तयगरी कार्यान्वयनमा ल्याइने छ ।”

लोकप्रिय