कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ  हुँदै

कोशीका मुख्यमन्त्री कार्कीविरुद्धको रिटमा आज सुनुवाइ  हुँदै

काठमाडौँ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतबहादुर कार्की नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुने भएको छ ।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आजका लागि पेशी तोकिएको हो । उक्त रिटमाथि पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।


यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नदिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए ।

संविधानको धारा १६८ को उपधारा ५ अनुसार एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका थिए । तर, सत्ता गठबन्धनमा आएको परिवर्तनसँगै एमालेले उनलाई समर्थन नदिने निर्णय गरेको थियो ।

२७ असोज २०८० मा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए । प्रदेशसभाले विश्वासको मत लिनुपर्ने भन्दै सङ्कल्प प्रस्ताव पास गरेको थियो । तर, कार्कीले त्यसलाई अटेर गरेर मुख्यमन्त्रीको पदमा बसेको भन्दै प्रदेश प्रमुख खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए । हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

माओवादी केन्द्रको अगुवाईमा प्रकाश तामाङको घर निर्माण सुरु

 भोजपुर। ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । नेकपा माओवादी केन्द्रको अगुवाई घर निर्माण थालिएको हो ।  भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । घर निर्माण समितिका संयोजक रहनुभएका पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्त रूपमा नयाँ बन्ने घरको शिलान्यास गर्नुभयो । माओवादी केन्द्रीय सदस्यसमेत रहेका गेसोका अध्यक्ष राईले १५ लाख बराबरको आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण दिनुभएको छ। उपलब्ध गराइएको जग्गामा माओवादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाइमा पाँच कोठे घर निर्माण गरिने छ । घर निर्माण गर्न सांसद किरातीको संयोजकत्वमा पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाइने छ ।

गिद्ध संरक्षण सचेतना दिवसमा विद्यार्थीबीच बक्तृत्वकला प्रतियोगिता

दाङ । पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्र नेपालको आयोजनामा १६ औं अन्तराष्ट्रिय गिद्ध संरक्षण सचेतना दिवस मनाइएको छ। संस्थाका कार्यवाहक अध्यक्षजितलाल चौधरीको अध्यक्षता र तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १८ का अध्यक्ष  माधव ओलीको प्रमुख आथित्यता र सब डिभिजन वन कार्यालयका अधिकृत ईश्वरी बस्नेत तथा बिसिएनका भुपाल नेपालीको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो । सो क्रममा विद्यार्थीहरुबीच प्रतियोगिता गराइएको थियो । प्रतियोगितबाट लक्ष्मी मावि हेमन्तपुरका रक्षा खड्का प्रथम, सोही विद्यालयकी सान्त्वना शर्मा दोस्रो र जनकल्याण माविका धन्याल बस्नेत तेस्रो हुनुभएको थियो । प्रथम, द्धितीय र तृतीयलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा तुलसीपुर १७, १८ र १९ का ११ वटा माविका २१ छात्रछात्र सहभागी थिए। निर्णायक मण्डलमा बृद्धिजीव डिल्लीराज अधिकारी र बिसिएनका जीव बिज्ञ दिलिप चन्द हुनुहुन्थ्यो।  सदस्य बालिका तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम सहजीकरण अधिकृत साधना शर्माले गर्नुभएको थियो । 

माओवादीले नेतृत्व गरेका हरेक तहका सरकारले नमूना काम गरेका छन्ः शर्मा

दाङ । पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्माले आफ्नो पार्टीले नेतृत्व लिएका कुनै पनि तहका सरकारमा नमूना काम गर्दै आएको बताउनुभएको छ । दाङको घोराही उपमहानगरपालिका जबरपुरमा आयोजित पार्टी कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उहाँले वडादेखि केन्द्रसम्म माओवादीले नेतृत्व गरेका सरकारहरुले नमूना काम गर्दै आएको बताउनुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले यसअघि लोडसेडिङमुक्त नेपाल बनाएको स्मरण गराउँदै उहाँले पछिल्लो कार्यकालमा गम्भीर भ्रष्टाचारका फाइलहरु खोलेर सुशासनको नयाँ अभियान सुरु गरेको बताउनुभयो । ‘माओवादीले अहिलेसम्म धेरै सम्हालेका उर्जा र सञ्जार मन्त्रालय हुन्, यी मन्त्रालयले नै अहिले देशलाई परिवर्तनको अनुभूति दिलाइरहेका छन्’– शर्माले भन्नुभयो– ‘दिनमा १८ घण्टा लोडसेडिङ हुने अवस्थाबाट मुक्त गरेर दश वर्षमा दश हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्नेसम्मको तहलाई देशमा पुर्याउने माओवादी नै हो । घरघरमा इन्टरनेट, हातहातमा मोबाइल सेटको नारासहित सञ्चार क्षेत्रको विकास गर्दै अहिले नेपाललाई सूचना प्रविधि दशकको घोषणासम्मको अवस्थामा पुर्याएको पनि माओवादीले नै हो ।’  माओवादीको पहिलो सरकारले मध्यपहाडी लोकमार्गजस्तो राष्ट्रिय महत्वको आयोजना अघि बढाएको स्मरण गर्दै उहाँले माओवादीले नेतृत्व गरेका केन्द्रदेखि स्थानीय तहका हरेक सरकारले नमूना काम गर्दै आएको बताउनुभयो । माओवादीले धेरै काम गरे पनि जनतासँगको सम्बन्ध र व्यवहारलाई ध्यान दिन नसक्दा कमजोर भएको स्वीकार गर्दै नेता शर्माले अब जनतासँगै एकाकार भएर आगामी निर्वाचन एक्लै लड्ने तयारीका साथ अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । दाङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका शर्माले सबै टोलटोलमा एकैचोटी विकास पुर्याउन नसके पनि क्रमशः विकास योजनाहरु योजनाबद्ध रुपमा अघि बढाउँदै लगेको बताउनुभयो । जनताबाट निर्वाचित हुँदा आफूले सके जति राम्रो गर्नेछु र नराम्रो गर्ने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै उहाँले सके जति राम्रो गरिरहेको तर नराम्रो नगरेको र कहिल्यै नगर्ने वाचा दोहोर्याउनुभयो । ‘मैले निर्वाचन जितेको पाँच वर्ष पुगेपछि निर्वाचन क्षेत्रमा के कति काम गरियो, के कति गर्न सकिएन र के कारणले गर्न सकिएन भनेर स्वेतपत्र जारी गर्नेछु’– उहाँले भन्नुभयो– ‘हामी जो जहाँ छौं, इमान्दारितापूर्वक लागौं, गर्न सकेका कामको स्वामित्व लिऔं, नसकेका कामका लागि निरन्तर पहल गरौं, हामी अवश्यक सफल हुनेछौं ।’  

भरतपुर महानगरले दियो २ सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । प्रमुख दाहालले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रुपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पु¥याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो । “शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ ।” वितरणलाई अझै प्रभावकारी र वैज्ञानिक बनाउँदै लगिने उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालय सरह बनाउने गरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई आईतबार सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई समेत छात्रवृत्ति वितरण गरिएको छ । ‘जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ’, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । ३० संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना रहेका छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका ८, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ जना रहेका छन् । जसमध्ये अरोमा कलेज ४५ जना, अर्किड कलेज ३० जना, बालमीकि शिक्षा सदन २५ जना, नारायणी पब्लिक कलेज २४ जान, गुरुकुल एकेडमी १८ जना, एपेक्स एकेडमी १३ जना, सप्तगण्डकी कलेज ९ जना, अंकुरम एकेडमी ९ जना, अरबिट यूनिक स्कुल ९ जना र अन्य स्कुल गरी २६६ जनाले छात्रवृत्ति पाएका छन् । महानगरले वार्षिक रुपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले २ सय ७४ जनालाई छात्रवृति दिएको थियो ।

लोकप्रिय