विश्व बैंकको हालसम्मकै ठूलो बैठक नेपालमा

काठमाडौं । विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आइडिए २१ बैठक नेपालमा हुँदैछ। नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो। आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन्।
आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए। अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो। नेपालले ६ वर्षअघि आइडिए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो।
उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ। समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन्। अर्थ मन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन्।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोस्रो वरीयताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदै छन्।
यस्तै, विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए।
सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो।
आइडिएले न्यून र मध्यम आय भएका विश्वसका ७५ भन्दा बढी मुलुकहरुमा सहायता उपलब्ध गराउँदै आएको छ। आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ।
यसपटक बैठकको प्रमुख एजेण्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ। सहसचिव नेपालले यो स्तरको बैठकस्थलका लागि नेपाल छानिनु खुसीको कुरा भएको बताए। उनले साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरुका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने उल्लेख गरे।
कार्यक्रमबाट नेपाललाई कुटनीतिक लाभसमेत मिल्ने विश्वास सरकारले लिएको छ। बैठकमा आगामी तीन वर्ष आइडिएले गर्ने प्रमुख कार्यका साथै आर्थिक विकासमा उत्पन्न स्रोतको सीमा लगायत विषयमा छलफल हुनेछ।
बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ।
गत वैशामा सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँगको भेटमा अर्थमन्त्री पुनले बैठक तयारीबारे छलफल गरेका थिए। त्यसअघि मन्त्री पुनले विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन वैशाख पहिलो साता अमेरिका गएका बेला वासिङ्टन डीसीस्थित विश्व बैंक मुख्यायमा भएको भेटमा बैंकका उपाध्यक्षद्वय अकिहिको निसियो र ग्वाङ्जे चेनसँग भेटमा पनि आइडिए बैठकबारे कुराकानी गरेका थिए।
हरेक तीन वर्षमा हुने आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो। सो बैठकमार्फत विकास साझेदारहरूको विश्वव्यापी गठबन्धनले न्यून आय भएका देशहरूलाई कोभिड १९ महामारीको सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो।
विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ।
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
काठमाडौं । मुलुकका सातवटै प्रदेश सरकारले आज असार १ गते आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक गर्दैछन्। कोशीले ३५–४० अर्ब, मधेशले ४५ अर्ब, बाग्मतीले ६८ अर्ब, गण्डकीले ३२ अर्ब, लुम्बिनीले गत वर्षभन्दा थोरै कम, कर्णाली र सुदूरपश्चिमले करिब ३१ अर्बको बजेट ल्याउने तयारी गरेका छन्। संविधानअनुसार प्रदेश सरकारले हरेक वर्ष असार १ गते, संघले जेठ १५ र स्थानीय सरकारले असार १० गते बजेट ल्याउने प्रावधान छ।
सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा सोमबार (२०८२ जेठ २७ गते) छापावाल सुनको मूल्य १०० रुपैयाँले घटेर प्रतितोला रु.१,९०,६०० पुगेको छ। आइतबार यो मूल्य रु. १,९०,७०० थियो। चाँदीको मूल्य भने ५ रुपैयाँले बढेर प्रतितोला रु। २,१५० पुगेको छ।
पाँच महिनामा ६ अर्ब ३२ करोडको आइटी सेवा निर्यात
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पाँच महिनासम्म (साउनदेखि मंसिरसम्म) को तथ्यांक अनुसार ६ अर्ब ३२ करोड रूपैयाँ बराबरको सूचना प्रविधिमा आधारित सेवा (आइटी सेवा) निर्यात भएको छ। त्यस्तै, ७९ करोड रूपैयाँ बराबरको यस्तो सेवा आयात गरेको हो। राष्ट्र बैंकले चालु आर्थिक वर्षबाट यसरी खुल्ने तथ्यांक प्रकाशित गर्न थालेको हो। यही कारण अघिल्लो वर्षको यस्तो तथ्यांक भने राखिएको छैन। प्रोफेसनल र म्यानेजमेन्ट कन्सलटेन्सी सेवा निर्यातबाट नेपालले १४ अर्ब ५३ करोड रूपैयाँ आम्दानी गरेको छ। तर, सेवा क्षेत्रको घाटा बढ्न सुरू गरेको छ। कात्तिकमा यस्तो घाटा खुम्चिएको थियो। कात्तिकसम्ममा सेवा क्षेत्रको घाटा २७ अर्बबाट घटेर २२ अर्बमा सीमित भएको थियो। सेवाको निर्यातको तुलनामा आयात २२ अर्ब धेरै थियो। नेपालले ७३ अर्ब ३८ करोडको सेवा निर्यात गर्दा ९६ अर्बको सेवा आयात गरेको थियो। तर, मंसिरसम्म आइपुग्दा यस्तो घाटा फेरि बढ्न थालेको छ। मंसिरसम्ममा सेवा क्षेत्रको घाटा ४० अर्बमा पुगेको छ। सेवाको निर्यातको तुलनामा आयात ४० अर्ब धेरै भएको हो। नेपालले ९२ अर्ब ४७ करोडको सेवा निर्यात गर्दा एक खर्ब ३३ अर्बको सेवा आयात गरेको हो। अघिल्लो वर्षको यही अवधिसम्ममा भने नेपालले ९७ अर्ब ३९ करोडको सेवा निर्यात गर्दा एक खर्ब २३ अर्ब रूपैयाँको आयात गरेको थियो। विदेश भ्रमणमा जानेबाट हुने खर्च बढ्दा यस्तो घाटा केही बढेको देखिन्छ।
१३ अंकले घट्यो शेयर बजार, कारोबार रकम कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज(आइतबार) १३.०३ अंकको गिरावट आएको छ । साताको पहिलो शेयर बजार ०.४८ प्रतिशतले घटेर २६६७.४० विन्दुमा झरेको छ । बजार घट्दा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३२२ वटा कम्पनी कारोबारमा आउँदा ७६ हजार ४१८ पटक शेयर किनबेच भएको छ । आइतबार १३ समूहमध्ये २ समूह बढेको छ भने ११ समूह घटेको छ । आज लगानी समूह ०.०८ प्रतिशतले बढेर १०४.६४ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६८ प्रतिशतले बढेर ६ हजार ७८७ विन्दुमा पुगेको छ ।आज सबैभन्दा बढी विकास बैंक १.६३ प्रतिशतले घटेर ५ हजार ५२६.१९ विन्दुमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.५४ प्रतिशतले, फाइनान्स ०.३७ प्रतिशतले, होटल तथा पर्यटन ०.४९ प्रतिशतले, हाइड्रोपावर ०.४१ प्रतिशतले, जीवन बीमा ०.५५ प्रतिशतले, लघुवित्त ०.९४ प्रतिशतले, म्युचुअल फण्ड ०.१२ प्रतिशतले, निजीवन बीमा ०.१७ प्रतिशते, अन्य समूह ०.७१ प्रतिशतले र ट्रेडिङ समूह ०.०७ प्रतिशतले घटेको छ ।