एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको आज सचिवालय बैठक बस्दैछ । दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठानिक दस्तावेजको टुंगो लगाइने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए ।

उनका अनुसार आजको बैठकमा पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्ताबेज अनुमोदन तथा प्रतिनिधिको नामावली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा हुनेछ ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले पार्टीको नीति तथा कार्यक्रमका आधारमा नयाँ नेतृत्व चयन गर्नेछ ।

एकीकृत समाजवादीले आसन्न राष्ट्रिय महाधिवेशनमा करिब दुई सय स्वयंसेवक परिचालन गर्ने भएको छ । पार्टी निकट राष्ट्रिय खेलकुद महासङ्घ, मजदुर सङ्गठन र भूतपूर्व सुरक्षाकर्मीलाई समावेश गरी स्वयंसेवक परिचालन कमिटी गठन गरिएको हो ।

महाधिवेशन स्थलको व्यवस्थापन, सबै प्रतिनिधि तथा विशिष्ट नेताको सुरक्षा, प्रतिनिधिलाई आवाससम्म लैजाने र ल्याउने, भीड व्यवस्थापन, शुभकामना दिन आउने विभिन्न पार्टीका नेतागण, पर्यवेक्षकलगायतको सुरक्षा व्यवस्थापनलगायत कामको जिम्मा दिइएको कमिटी संयोजक केशव विष्टले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले मातहतका अन्य १३ कमिटीले गरेका सम्पूर्ण कामहरू महाधिवेशन केन्द्रित गर्न भनिएको छ । उक्त समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । पार्टीले देशभरबाट एक हजार ८४९ प्रतिनिधि छनोट गरेको छ ।

छनोट गरिएका प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना प्रतिनिधि मनोनयन गर्ने व्यवस्था छ। केही दिनमा ती प्रतिनिधि मनोनयन गरिने जनाइएको छ ।

देशको आर्थिक समृद्धिमा सबै दल एकठाउमा आउनुपर्छ : रवि लामिछाने

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा आम जनता र नेताहरूको प्राथमिकता एउटै विषयमा नभएको बताएका छन् । नेकपा एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै लामिछानेले आम जनता र राजनीतिक दलका नेताहरूको प्राथमिकता एकै नभएको बताएका हुन् ।उनले देशमा राजनीतिक परिवर्तन भएर, संविधान बनेर, सबै किसिमका अधिकार प्राप्त भएपछि पनि आम जनताको चाहना अनुसार काम हुन नसकेको बताए। उनले शीर्ष नेताहरुबीच जनताको चाहना अनुसारको काम गर्न नसकेको बताए ।उनले राजनीतिक समस्या समाधान गर्न सबै दल एक ठाउँमा आए जस्तै देशको आर्थिक विकास गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।उनले देशको विकास गर्न सबै नेताहरू एक ठाउँमा आउन आव्हान समेत गरेका छन् ।

समाजवादी शब्द जति प्रिय लाग्छ उतिकै डर पनि लाग्छ : सीके राउत

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेकपा एकीकृत समाजवादी पार्टीको नाम प्रिय र पवित्र लाग्ने बताएका छन्। साथै उनले यो शब्दप्रति उत्तिकै डर पनि लाग्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशनमा शुभकामना व्यक्त गर्दै उनले नेकपा एकीकृत समाजवादी नामअनुसार शब्द थेग्न सक्छ या सक्दैन भनेर डर लाग्ने गरेको बताएका हुन् ।  उनले समाजवादी पार्टीहरूले भन्ने एउटा र गर्ने अर्कै भएको भन्दै त्यस्तो अवस्थामा ती शब्दहरूको अर्थ के हुने भनेर आफैलाई समेत प्रश्न गरे।    ‘तपाईहरुलाई अनौठो लाग्ला तर मलाई तपाईहरुको पार्टीको मन पर्छ। नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी। कम्युनिस्ट शब्द पनि धेरै प्रिय र पवित्र लाग्छ । समाजवादी शब्द पनि उतिकै प्रिय लाग्छ’, उनले भने, ‘जति पवित्र र ठुलो लाग्छ त्यति नै डर पनि लाग्छ।’ उनले पुँजीवादी क्रान्तिविना समाजवादी चरणमा प्रवेश गर्न सकिन्छ भनेर प्रश्न समेत गरे ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक आज दिउँसो ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

नयाँ वाम विकल्प दिनेगरी नेतृत्व चयन गर्छौं : घनश्याम भुसाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुने बताएका छन्। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले समस्या समाधान गर्नुपर्ने तथ्यलाई ध्यानमा राखेर कार्यक्रमहरू ल्याउने बताए।  उनले समाजवादी कार्यक्रम ल्याउने, स्थापित गर्ने, मुलुकमा वाम विकल्प दिने गरी नेतृत्व निर्माण गर्ने प्रतिवद्धता जनाए। विगतमा असाधारण वाम विकल्प रहे पनि अहिले भत्किएको भन्दै उनले त्यसलाई समेत जोड्ने गरी नेतृत्व चयन हुने बताए।  महासचिव भुसालले पार्टीको महाधिवेशनबाट पारित दस्तावेजले दशकौंसम्म कम्युनिष्ट आन्दोलनलाई दिशा निर्देश गर्ने दाबी गरे। 

लोकप्रिय