माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छः प्रचण्ड

माओवादी केन्द्र पहिलो पार्टी बने भ्रष्टाचार जरैबाट उखेलिने छः प्रचण्ड
CM

झापा, १५ पुस। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो पार्टी बनाइ भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गर्नुभएको छ । झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो।

आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उहाँले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताउनुभयो। ‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन’— अध्यक्ष प्रचण्डले भन्नुभयो— ‘तपाइँहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ।’

देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै उहाँले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको बताउनुभयो। यो २०८४ को निर्वाचनको संकेत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको बताउनुभयो। ‘हिजो कांग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो’—उहाँले भन्नुभयो—‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं।’

अध्यक्ष प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो। झापाको कोच बाहुल्य क्षेत्रमा सम्बोधन गर्दै उहाँले भन्नुभयो— ‘हाम्रो संविधानले स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गरेको छ, म आज कोच समुदायलाई अब स्वायत्त, विशेष र संरक्षित क्षेत्रको अभ्यासमार्फत अघि बढ्न आह्वान गर्न चाहन्छु।’

आफ्नो पार्टीले सुशासनको अभियान सुरु गरिसकेको उल्लेख गर्दै उहाँले देशभरि चलिरहेको खबरदारी सभा यसकै सुरुवात भएको बताउनुभयो। ‘मैले प्रतिनिधिसभामा विश्वासको मत लिंदै गर्दा भनेको थिएँ— भ्रष्ट र बिचौलियाहरुले झालझेल र शक्तिको बल प्रयोग गरेका छन्, हामी जनताको बल प्रयोग गर्ने छौं’—उहाँले भन्नुभयो— ‘अब हामी निरन्तर जनताको बलबाट नै भ्रष्टाचारविरोधी अभियान सफल बनाएरै छाड्ने छौं।’

अध्यक्ष प्रचण्डले आफूले तीनपटक प्रधानमन्त्री हुँदा गरेका कामको विवरण सुनाउँदै आफू पूरै जनताको हितमा केन्द्रित भएको बताउनुभयो। ‘मैले पहिलोपटक भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्गको सुरुवात गरें, जो अब चाँडै सम्पन्न हुँदैछ’— उहाँले भन्नुभयो—‘सामाजिक न्यायको क्षेत्रमा गरीब किसानको कृषि ऋण मिनाह गर्ने अवसर मलाई प्राप्त भयो।’

आफूले पहिलो जस्तै छोटो अवधिमा बिताएको दोस्रो कार्यकालमा मुलुकबाट लोडसेडिङको अन्त्य गरेको स्मरण गराउँदै तेस्रो कार्यकालमा सुशासन, सामाजिक न्याय र समृद्धिको ऐतिहासिक अभियान सुरु गर्ने अवसर पाएको बताउनुभयो। ‘यसबाट जनतामा नयाँ आशाको दियो जलेको थियो, धेरै उच्च पदस्थ भनिने नेता र कर्मचारी र भूमाफियाहरु भ्रष्टाचारको अभियानमा समातिदै गए’— अध्यक्ष प्रचण्डले भन्नुभयो— ‘भ्रष्टाचारविरुद्धको अभियान चलाएकै कारण सरकार छाड्नुपरेको नेपाली जनताले छोटो अवधिमा प्रष्ट रूपमा बुझ्नु भएको छ भन्ने देशव्यापी लहरबाट पनि पुष्टि हुन्छ।’

अध्यक्ष प्रचण्डले सरकार छाड्ने बेलामा अहिलेको गठबन्धन सरकार जालझेलबाट आएको असंवैधानिक र अप्राकृतिक सरकार भएको स्पष्ट गरेको स्मरण गराउँदै उहाँले सरकारले अहिले दलाल र बिचौलियाको काम गरिरहेको पुष्टि हुँदै गएको बताउनुभयो। २०६४ को निर्वाचनमा झापा आएर सम्बोधन गर्दा झापाबाट क्रान्तिको झण्डा फराएको अनुभूति गरेको स्मरण गर्दै उहाँले आजको कार्यक्रमले त्यसमा नयाँ कडी जोडेको र अब झापा सुशासनका लागि हुने क्रान्तिको केन्द्र हुने बताउनुभयो। दुई दिनको बीचमा आफूले पश्चिमको कञ्चनपुरदेखि पूर्वको झापासम्म वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पाएको उल्लेख गर्दै उहाँले देशभर देखिएको ध्रुवीकरणको लहर अर्थपूर्ण रहेको बताउनुभयो।

शेरा दरबारको जग्गासँग जोडेकोमा आपत्ति

अध्यक्ष प्रचण्डले १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर नुवाकोटको शेरा दरबारको जग्गासँग पार्टी नेतृत्वलाई जोड्ने प्रयास गरेको भन्दै यसप्रति आपत्ति जनाउनुभयो। ‘हाम्रो सुशासनको आन्दोलन तुहाउने षड्यन्त्रस्वरूप १२–१५ वर्षअघि पार्टी छाडेका व्यक्तिसँग जोडेर शेरा दरबारको जग्गामा पार्टी नेतृत्वलाई जोड्न थालिएको छ, शेरा दरबारको जग्गा सार्वजनिक हो भने तत्काल सरकारको मातहतमा ल्याऊ, हाम्रो पूर्ण साथ रहने छ, अन्यथा यसरी प्रायोजित प्रचार गर्नुको कुनै अर्थ हुने छैन।’

भ्रष्टाचारविरोधी अभियान आफ्नो अभिष्ट रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो—‘प्रधानमन्त्री हुँदा मैले अनुसन्धान अकारीहरुलाई भनेको थिएँ, भ्रष्टाचारीलाई खोज्दै जाँदा कतै प्रचण्ड आयो भने पनि नछाड्नू अहिले पनि भन्न चाहन्छु, यदि भ्रष्टाचारका मुद्दामा हाम्रा पार्टीका नेताहरु जोडिन्छन् भने छाडिने छैन।’

झण्डै छ सय जना माओवादी केन्द्रमा प्रवेश

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब छ सय जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश राजवंशी समुदायका रहेका छन् । कार्यक्रमअघि अध्यक्ष प्रचण्डले गौरिगञ्ज–१ मा तिलक राजवंशीको घर पुगेर कोच संस्कृतिअनुसार खाना खानुभएको थियो । अध्यक्ष प्रचण्डलाई कोच संस्कृतिको भोजन उसिना चामलको भात, कोचहरूको भाषामा भनिने पेलका साग, आलु कोपीको भाजी, अग्र्यानिक माछा, लोकल हाँस, टमाटरको अचार, धनियाको चटनी र पापडलाई कोलाको पातमा दिइएको थियो ।

ओलीले लेखकलाई पनि रविजस्तै फसाउँदैछन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले भिजिट भिसा प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको षड्यन्त्रले गृहमन्त्री रमेश लेखक फसेको आरोप लगाएका छन्। नेपालगञ्जमा आयोजित कार्यक्रममा बोल्दै साहले ओलीले रवि लामिछानेलाई जस्तै लेखकलाई पनि फसाउने खेल रचेको दाबी गरे। उनले ओली नेतृत्वको सरकारले काँखमा राखेर छुरा हान्ने शैलीमा काम गरिरहेको आरोप लगाउँदै, नेपाली कांग्रेस–एमाले गठबन्धनलाई अपवित्र र मुलुकलाई अस्थिर बनाउने गठजोड भने। साहले वर्तमान सरकारले तराई–मधेसमाथि बजेटमार्फत विभेद गर्दै नेपालगञ्जसहित पश्चिम तराईको विकासप्रति बेवास्ता गरेको आरोपसमेत लगाए। उनले ओलीको राजीनामा र अन्तरिम सरकार गठनको माग गरे।

दलित समुदायप्रति गठबन्धन सरकार असंवेदनशील : अध्यक्ष प्रचण्ड

काठमाडौं ।नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको १९औं वर्ष पुगेको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले एक सन्देश जारी गर्दै दलित समुदायप्रति हालको सरकार असंवेदनशील रहेको पुष्टि भएको बताएका छन् । उनले संविधानमा समावेश दलित अधिकारहरू कार्यान्वयनमा ढिलाइ भएकोप्रति गहिरो चिन्ता व्यक्त गर्दै वर्तमान सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम र बजेटमा दलित मुद्दा उपेक्षित भएको स्पष्ट संकेत दिएको बताए। "संविधानले कल्पना गरेअनुसार दलित समुदायको समग्र अधिकार सुनिश्चित गर्न हाम्रो पार्टी नेतृत्वको सरकारले ‘अधिकारसम्पन्न दलित विकास प्राधिकरण’ को अवधारणा अघि सारेको थियो," सन्देशमा उल्लेख छ, "तर, यस ऐतिहासिक प्रयासलाई वर्तमान सरकारले निरन्तरता नदिनु दलित समुदायप्रति गम्भीर बेइमानी हो।" प्रचण्डले वंशीय विभाजनमा आधारित सामन्ती राज्य व्यवस्थाले छुवाछूत, विभेद र उत्पीडनलाई संस्थागत रूपमा संरक्षण गर्दै आएको यथार्थलाई स्मरण गराउँदै, यो विभेद अन्त्य गर्न सशस्त्र जनयुद्ध र जनआन्दोलन आवश्यक परेको उल्लेख गरे। उनले संविधानमा दलित समुदायका अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकेको बताए। "जबसम्म दलित समुदायले समान अवसर प्राप्त गर्दैनन्, तबसम्म समतामूलक समाजवादोन्मुख राष्ट्र निर्माण असम्भव रहन्छ," प्रचण्डले भने। सन्देशको अन्त्यमा उनले राज्यसत्ताबाट ऐतिहासिक रूपमा पछाडि पारिएका दलित समुदायलाई विशेषाधिकारसहित क्षतिपूर्ति दिनुपर्ने माग पुनः दोहोर्याउँदै, आफ्नो पार्टीको प्रतिबद्धता र संघर्ष निरन्तर रहने प्रतिवद्धता जनाएका छन्। सन्देशमार्फत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुक्तिकामी समुदायप्रति उनले छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९औं वर्षको अवसरमा ऐक्यबद्धता र शुभकामना व्यक्त गरेका छन्।

माओवादीको काठमाडौं उपत्यका केन्द्रीत अभियान आजदेखि

  काठमाडौं । नेकपा माओवादी केन्द्रको काठमाडौं उपत्यका केन्द्रीत अभियानको आज उद्घाटन हुने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यान्न १ बजे चन्द्रगिरी थानकोटमा अभियानको उद्घाटन गर्ने कार्यक्रम छ ।  पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताएको थियो ।  काठमाडौं केन्द्रीत अभियानमा नेवा र तामाङ समूदायमा केन्द्रीत हुने वागमती प्रदेश समितिले जनाएको छ ।   

स्वदेश फर्किइन पूर्वराष्ट्रपति भण्डारी भनिन् -'चीन भ्रमण राम्रो भयो'

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छन् । उनी जेठ १० गते नेकपा (एमाले)का नेताहरूलाई लिएर चीन भ्रमणमा गएकी थिइन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भ्रमण राम्रो भएको बताइन् । 

लोकप्रिय