मेयर कप फुटबल : नारायणी नमूना र अमर मावि विजयी, किरण अमरजंग र ग्रामोदयको बराबरी
भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज तीन खेल सम्पन्न भएको छ ।
शारदानगरमा भएको समूह डी को खेलमा नारायणी नमूना मावि विजयी भएको छ । नारायणी नमूनाले सनराईज ईंग्लिस बोर्डिङविरुद्ध ३(१ को सहज जित हात पारेको हो । नारायणी नमूनाको जितमा उमेश कुमार महतो र सन्जित न्यौपानेले गोल गरे । उसले एक उपहार गोल पाएको थियो । सनराईजका मन्जित क्षेत्रीले एक गोल गरे ।
खेलमा अग्रता भने सनराईजले लिएको थियो । सातौं मिनेटमा गोल गर्दै मन्जितले सनराईजलाई अग्रता दिलाएका थिए । तर ३३ औं मिनेटमा उमेशले नारायणी नमूनाका लागि बराबरी गोल फर्काए । ३७ औं मिनेटमा उपहार गोलमा नारायणी नमूनाले अग्रता लियो । ४९ औं मिनेटमा रन्जितले गोल गरेपछि नारायणी नमूना ३(१ ले विजयी भयो । नारायणी नमूनाका सुमन न्यौपाने म्यान अफ दि म्याच भए ।
यो जितपछि नारायणी नमूना समूह डि को शिर्ष स्थानमा यथावत छ । उसको दुई खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको सनराईज अंकबिहिन हुँदै तालिकाको पुछारमा झरेको छ ।
उता कृष्णपुरको मैदानमा भएको समूह ई को खेलमा अमर मावि विजयी भएको छ । अमर माविले वाल्मिकी शिक्षा सदनलाई ४(० ले पराजित गरेको हो । अमर माविको जितमा रितेश सुनारले दुई तथा राहुल सुनार र बसन्त कुमालले एक(एक गोल गरे ।
रितेशले खेलको १५ र २६औं मिनेटमा गोल गरे । यस्तै राहुलले २९ औं मिनेटमा गोल गरे । दोस्रो हाफको २३ औं मिनेटमा बसन्तले गोल गरेपछि अमर मावि ४-० को फराकिलो अन्तरले विजयी भयो । बसन्त नै म्यान अफ दि म्याच भए । यो जितपछि अमर मावि दुई खेलबाट ६ अंकसहित समूह ई को शिर्ष स्थानमा कायम छ । उता वाल्मिकी भने समान खेलमा एक अंकसहित तालिकाको तेस्रो स्थानमा झरेको छ
यस्तै पटिहानीमा भएको समूह एफ को खेलमा किरण अमरजंग मावि र ग्रामोदय ईंग्लिस बोर्डिङले अंक बाँडेका छन् । दुबै टिमले २(२ गोलको बराबरी गर्दै एक-एक अंक बाँदेका हुन् । प्रतिस्पर्धात्मक खेलमा किरण अमरजंगका लागि समिर परियार र निशान सुनारले गोल गरे । ग्रामोदयका लागि विमल गौतम र निशान्त थापा मगरले गोल गरे ।
खेलको दोस्रो मिनेटमा नै समिरको गोलमा किरण अमरजंगले अग्रता लिएको थियो । तर नवौं मिनेटमा विमलले ग्रामोदयका लागि बराबरी गोल फर्काए । ४६ औं मिनेटमा निशानको गोलमा किरण अमरजंगले फेरि अग्रता लियो । तर खेलको अतिरिक्त समयमा ग्रामोदयका निशान्तले गोल गरेपछि दुबै टोली बराबरीमा रोकिए ।
बराबरीपछि किरण अमरजंगको समूह एफ मा दुई खेलबाट चार अंक भएको छ । किरण अमरजंग तालिकाको शिर्ष स्थानमा छ । ग्रामोदय भने समान खेलबाट दुई अंक बटुल्दै दोस्रो स्थानमा उक्लिएको छ ।
लिगमा आइतबार पनि तीन खेल हुनेछ । शारदानगरमा समूह डी का होली भिजन र जनज्योति मावि भिड्नेछन् । यस्तै कृष्णपुरमा समूह ई का दुर्गा शेषकान्त मावि र ब्राइटस्टार ईंग्लिस बोर्डिङ तथा पटिहानीमा हिमालय दण्डपाणि मावि र अंकुरम एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश, आज र भोलि वर्षा र हिमपात
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेको हो । “हिजो साँझबाट पश्चिमी भूभागमा बादल प्रवेश गर्न सुरु गरिसकेको छ । त्यसको प्रभावस्वरुप आज र भोलि वर्षा र हिमपात हुने हो,” मौसमविद् प्रतिभा मानन्धर बाह्रखरीसँग भन्छिन्, “आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपात र वर्षा हुनेछ ।” हाल नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । मौसमविद् मानन्धरका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज वर्षाको सम्भावना नरहेको मौसमविद् मानन्धरको भनाइ छ । उनका अनुसार काठमाडौंमा आज बदली मात्र हुनेछ । काठमाडौंमा आज बिहान ५ : ४५ को न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस छ । दिउँसो १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमबाट पूर्वतर्फ सर्दै जाँदा भोलि भने काठमाडौंमा वर्षाको सम्भावना छ । “भोलि काठमाडौंमा वर्षाको सम्भावना छ । भोलि मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना रहेको छ,” मौसमविद् मानन्धर भन्छिन्, “हल्का वर्षा मात्रै हुने हो । ठूलो वर्षा कतै पनि हुने सम्भावना छैन ।” उनका अनुसार बुधबारबाट मौसम क्रमिक रूपमा सफा हुँदै जानेछ । पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि मौसम सफा हुने उनको भनाइ छ । बादल, वर्षा, हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
भोलिदेखि वर्षा र हिमपात हुने
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पूर्वी भू–भागमा साधरणतया बदली रहनुका साथै कोशी र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज दिउँसो देशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि साधरणतया मौसम बदलीदेखि सामान्यतया वर्षा रहने छ । आज राति कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनेछ । 'तुलनात्मक रूपमा आजभन्दा भोलि सोमबार बढी बदली रहने र वर्षाको पनि सम्भावना रहेको छ,' उनले भने, 'बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिमका पहाडी र उच्च हिमाली क्षेत्र र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।' पश्चिमी न्यूनचापीय प्रणालीको बढी प्रभाव सोमबार र मङ्गलबार रहने भएकाले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
धान उत्पादन चार प्रतिशतले बढ्यो
काठमाडौं । यस वर्ष मुुलुकभर धानको उत्पादन चार प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार चालुु आर्थिक वर्ष २०८१/८२ मा धानको उत्पादन ४.०४ प्रतिशतले बढेर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन उत्पादन भएको छ । गत आव २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो । धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कुल उत्पादन बढेको मन्त्रालयले जनाएको छ । यस वर्ष बर्खे र चैते गरी १४ लाख २० हजार ६३६ हेक्टरमा धान रोपाइँ भएको थियो, जुन गत वर्षभन्दा १.२८ प्रतिशतले कमी हो । गत वर्ष १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएको थियो । यस वर्ष धानको औसत उत्पादकत्व प्रतिहेक्टर ४.१९ मेट्रिक टन पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. मतिना जोशी वैद्यले रासायनिक मल, उन्नत जातको बिउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जानकारी दिनुभयो । धानको औसत मूल्य प्रतिकिलो ३२ रुपियाँका दरले हिसाब गर्दा यस वर्ष एक खर्ब ९० अर्ब ५७ करोड ५२ लाख ३२ हजार रुपियाँ बराबरको धान उत्पादन भएको छ । चालु आवका लागि सरकारले मोटा धान प्रतिक्टिन्टल तीन हजार ४१० रुपियाँ ५१ पैसा र मध्यम धानको तीन हजार ५८० रुपियाँ ६२ पैसा निर्धारण गरेको छ । यस वर्ष बाढीपहिरोका कारण केही प्रदेशमा धानको उत्पादन घटे पनि केही प्रदेशमा उत्पादन बढ्दा धानको राष्ट्रिय उत्पादन बढेको गोरखापत्र दैनिकमा समाचार छ ।
लेखा समिति सभापतिका स्वकीय सचिव ठगी धन्दामा, पक्राउको तयारीपछि निष्काशन
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगीमा संलग्नको आरोप लागेका स्वकीय सचिव अनिलकुमार पोखरेललाई हटाएका छन् । संघीय संसद् सचिवालयलाई पत्र लेखेर सभापति पोखरेलले स्वकीय सचिवलाई हटाएका हुन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभापति पोखरेलले स्वकीय सचिवलाई हटाउनका लागि भन्दै शुक्रबार पत्र पठाएका छन् । उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेललाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई परमादेश दिएको थियो । परमादेश पुस ११ मा प्रमाणीकरण भएकोमा शुक्रबारसम्म सभापति पोखरेलको स्वकीय सचिवमा अनिल पोखरेलले नै काम गरिरहेका थिए । सभापति पोखरेलले संसद् सचिवालयलाई लेखेको पत्रमा भनिएको छ, 'मेरो स्वकीय सचिवको रुपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैको मितिदेखि लागू हुनेगरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु ।' ‘माथिसम्म पहुँच रहेको’ भन्दै लेखा समिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पोखरेलले छोरीको नाम एमबीबीएस इन्ट्रान्समा निकालिदिने आश्वासन दिई बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । छोरीको नाम एमबीबीएसमा ननिस्किएपछि पैसा फिर्ता माग्दा उल्टै धम्की दिएर ५० लाख ऋण लिएको लिखत बनाइ चौधरीलाई हस्ताक्षर गराएका थिए । अनिलकुमार पोखरेल एमालेको मोरङ जिल्ला कमिटी सदस्य हुन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवारमा जिल्ला कमिटीबाट सिफारिस भएका थिए । ऋषिकेश पोखरेले सांसद भएर सार्वजनिक लेखा समितिको सभापति बनेदेखि नै अनिलकुमार पोखरेल स्वकीय सचिव थिए ।