स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले वीर अस्पतालमा छड्के अनुगमन गरेका छन्। बुधबार दिउँसो १ बजे मन्त्रीसहित सचिव डा.रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी भएका थिए। 

मन्त्री यादवले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गरे। त्यसपछि उनी नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न गएका थिए। करिब ३ घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिएका थिए। 

अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताए। “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुनुपर्छ”, उनले भने, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ। मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो।” 

मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताए। शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो। 

अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए।अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधारणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोधेका थिए। औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाएका थिए। 

मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिए। त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गरेका थिए। 

डा.भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिए। “औषधीको अभाव छ, हामी स्वीकार गर्छौं”, उनले भने, “दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।” 

मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिएका थिए । 

वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्विरोध नेतृत्व चयन (नामावलीसहित)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व निर्विरोध रूपमा चयन गरेको छ। काठमाडौंस्थित प्रज्ञा भवनमा उद्घाटन गरीएको सम्मेलनमा देशभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनमा संगठनको भावी कार्यदिशा, रणनीति तथा सांगठनिक सुदृढीकरणका विविध विषयमा छलफल गरिएको थियो। निर्विरोध रूपमा चयन गरिएको नेतृत्वको नामावली यस्तो छ    

अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही

काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्।  यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।

यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको दिन र रातिको मौसम अवस्था बारे जानकारी दिँदै देशभर विभिन्न भू-भागमा आंशिकदेखि साधारण बदली रहने जनाएको छ। पछिल्लो विश्लेषण अनुसार देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायु सक्रिय भएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भागमा भने मुख्यतया सफा रहने सम्भावना छ। कोशी प्रदेशका केही स्थानहरूमा र देशका अन्य पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, उच्च-पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रहनेछ। बाँकी भू-भाग भने मुख्यतया सफा देखिनेछ। कोशी प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। मौसमविद्हरूले विशेष गरी कोशी प्रदेशमा वर्षा र चट्याङको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरेका छन्। कृषक, यात्री तथा पर्वतीय भू(भागमा आवागमन गर्नेहरूका लागि मौसमको यो अवस्थाले असर पार्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

लोकप्रिय