ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ’ भनेको सुन्दा मानिसहरू हाँस्छन्
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओली भ्रष्टाचार र राज्य दोहनमा मुछिएका मन्त्रीहरूलाई दायाँबायाँ राखेर ‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ’ भन्दै हिँडेको टिप्पणी गरेका छन्।
पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २३औँ सम्मेलनलाई सोमबार साँझ सम्बोधन गर्दै पुनले प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरूको बीचमा बसेर भ्रष्टाचारीको मुख हेर्दिनँ भनेको सुन्दा मानिसहरू हाँस्ने गरेको बताए। ‘केपी ओलीले ‘म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ, भ्रष्टचारीको मुख हेर्दिनँ भन्दै आउनुभएको छ’, पुनले भने, ‘दायाँबायाँ विभिन्न काण्डमा मुछिएका मन्त्रीहरूलाई राखेर यसो भनेको सुन्दा मानिसहरू हाँस्ने गर्छन्। मान्छेहरू भन्छन् कि ओलीजीले भ्रष्टाचारीको मुखमा पो नहर्ने भनेको त दायाँबायाँ नै राख्दिनँ भन्नुभएको छैन।’
उनले अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले सुशासनका लागि भ्रष्टाचारविरुद्ध चालेको कदमबाट डराएर रातारात कांग्रेस–एमालेबीच सहमति गरिएको आरोप उनले लगाए। उनले भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेट प्रकरण छानबिन हुने भएपछि र बालुवाटारमा हडपिएको सरकारी जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याउन थालेपछि अप्रत्याशित रूपमा कांग्रेस–एमालेबीच गठबन्धन भएको दाबी गरे।
माओवादी सशस्त्र जनयुद्ध, ०६२र०६३ को संयुक्त आन्दोलन, शान्तिप्रक्रिया, गणतन्त्र घोषणा र संविधानसभामार्फत संविधान निर्माणसम्म आउँदा कांग्रेस–एमालेलाई रुपान्तरण गरियो होला भन्ने आफूहरूको अनुमान पछिल्ला घटनाक्रमले गलत साबित भएको टिप्पणी पुनले गरे। ‘भ्रष्ट आचरणका कारण जनताबीच डुङडुङ गन्हाएका पुराना पार्टी कांग्रेस र एमालेलाई शान्ति प्रक्रिया, गणतन्त्र, संविधानसभा हुँदै हामीले यहाँसम्म ल्याएका हौँ।
हामीलाई लागेको थियो -'उनीहरू यहाँसम्म आउँदा केही सुध्रिए होलान्। तर उनीहरू भ्रष्टाचार, बेथिति र बिचौलिया वर्गको सेवा गरेर पुरानै ठाउँमा जान खोजेका छन्। हामी उनीहरूलाई पुरानै ठाउँमा फर्कन दिँदैनौँ। खबरदारी गर्छौं’, पुनले भने। पुनले भ्रष्टचारविरुद्ध र सुशासन कायम गर्न आफूहरूले सडक र सदनबाट सरकारलाई खबरदारी गर्ने चेतावनी समेत दिए।
फरक प्रसंगमा प्रचण्ड नेतृत्वको पूर्ववर्ती सरकारमा अर्थमन्त्री रहेका पुनले आफूहरू सरकारबाहिर आउनुपरेका कारण नआत्तिएको बताए। तर, कांग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन मात्र टिक्ने बताउन थालेको दाबी उनले गरे। ‘हामीलाई सरकारमा फर्कन हतार छैन’, पुनले भने, ‘कांग्रेसकै वरिष्ठ नेताहरू सरकार सय दिन जाला भन्न थाल्नुभएको छ।’ सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्न तत्व र बिचौलियाहरूको संरक्षण गरिरहे जनताले लखेट्ने चेतावनी उनले दिए।
पुनले बंगलादेशको राजनीतिक हावा काठमाडौँसहित देशका ठूला सहरमा चल्न थालेको भन्दै आफ्नो पार्टीको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानलाई निरन्तरता दिन सरकारलाई आग्रह गरे।
फरक प्रसंगमा पुनले शान्ति प्रक्रियापछि रोल्पाले विकासमा फड्को मारेको बताए। जिल्लाका सबै ७१ वटै वडा सडक सञ्जालमा जोडिएको, विद्युतीकरण भएको, दर्जनौँ आधुनिक विद्यालय भवनहरू निर्माण भएको तथा सिँचाइ र तटबन्धजस्ता धेरै आयोजनाका काम भएको उल्लेख गरे। उनले कृषि उत्पादनमार्फत जिल्लामै रोजगारीको अवसर सिर्जना गर्ने योजनासहित आफूहरूले काम गरिरहेको बताए।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।
कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)
काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा उल्लेख गरिएको छ । विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ । के छ त प्रतिवद्वतापत्रमा ?
प्रधानमन्त्री सडकमा
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओली सडकमा ओर्लिने भएका छन् ।सरकारले भ्रष्टाचारी संरक्षण गरेको, विपक्षीहरुलाई अनावश्यक प्रतिशोध साधेको लगायतका विषयमा प्रर्दशन हुन र सरकारको विरोध हुन थालेपछि प्रधानमन्त्री स्वंयम पार्टीको शक्ति परिचालन गर्दै सडकमा उत्रिन लागेका हुन् । प्रधानमन्त्रीको दल नेकपा (एमाले)ले शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गर्न लागेको छ भने सो प्रर्दशनको प्रमुख वक्ता प्रधानमन्त्री नै रहेका छन्। प्रदर्शन अपरान्ह साढे १२ बजे काठमाडौँको दरबारमार्गमा हुन लागेको छ । सभा अघि बिहान साढे ११ बजे काठमाडौँको शहीद गेटबाट जुलुस सुरु भएर जुलुस वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुग्ने बताइएको छ । दरबारमार्गमा हुने सभालाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने तालिका रहेको छ । शुक्रबार काठमाडौँको कोटेश्वरमा दुर्गा प्रसाईँ समर्थकको र माइतीघरमा सहकारी पीडितको पनि प्रदर्शन रहेकाले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त हुनसक्ने अनुमान गर्न सकिन्छ ।