सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८, सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। 

सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए। 

यसैगरी, विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न, पर्यटन उद्यान निर्माण, राष्ट्रिय विभूति तथा सहिद उद्यानको स्तरोन्नति र पूर्वाधार थपलगायत माग पेस गरिएको उनले जानकारी दिए। 

“प्रधानमन्त्रीसमक्ष हामीले हाम्रो वडाका समस्या अवगत गराउँदै विविध माग प्रस्तुत गरेका थियौँ ।सरकारले स्थानीय जनताका आवश्यकता पूरा गर्ने  उहाँले बताउनुभएको छ । हामी उत्साहित भएका छौँ,” तिमिल्सिनाले भने। आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य हो सराङकोट। यहाँबाट सूर्योदय र सूर्यास्तसहित सुन्दर हिमशृङ्खला र पोखरा बजार हेर्न देखिन्छ। 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड पार्टीको गण्डकी प्रदेश समितिले बुधबार पोखरा सभागृहमा आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन  मङ्गलबार साँझ पोखरा आएका हुन्। 

बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ ।   जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताए ।  वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उनले जानकारी दिए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा क्षति पुर्याएको छ ।  गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको छ । यद्यपि, पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । रासस

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १९ गते बुधबार सन् २०२४ जुलाई ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।बुधबार यूरो र बेलायती पाउण्डको मूल्य घट्दा अमेरिकी डलर र कतारी रियालको विनिमयदर सामान्य अंकमा बढेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३२ पैसा र बिक्री दर १३३ रुपैयाँ ९२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा र बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

यी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा बिहानैदेखि वर्षा सुरु भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ । वाग्मती र मधेस प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । वाग्मती र  गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ ।

प्रतिनिधिसभाको सचिवमा अधिकारी नियुक्त

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा रिक्त सचिव पदमा सुरेश अधिकारी नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिइन्।  अधिकारीलाई सभामुख देवराज घिमिरेले संविधानको धारा १०६ को उपधारा १ बमोजिम नियुक्त गर्न सिफारिस गरेका हुन्।प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय संघीय संसद्को महासचिव नियुक्त भएपछि २०८०माघ २३ देखि सो पद रिक्त थियो ।

लोकप्रिय