एसईईको तयारी पूरा, एउटा परीक्षा केन्द्र जापानमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यस वर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
चैत १५ देखि २७ गतेसम्म हुने परीक्षाका लागि बोर्डले उक्त संख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यस वर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन्। यस वर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उनले जानकारी दिए।
परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको संख्या घट्न सक्ने उनले बताए।
पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिए।
‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ’, उनले भने।
परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको जानकारी दिए। उनका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ।
नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन्। बोर्डले यस वर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ। जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।
प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक/एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उनको भनाइ छ।
परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ।
विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यस वर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईईको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिए।
परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अंक ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अंक र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अंक ल्याउनुपर्ने उनले बताए।
परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अंक ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनु पर्नेछ। ३५ अंक ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए।
उनका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन्। रासस
आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।
सुनको मूल्य बढ्यो, प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार
काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो। महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँ पुगेको छ। बुधबार उक्त मूल्य १ लाख ९२ हजार रुपैयाँ थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र मागको वृद्धिका कारण सुनको मूल्य उकालो लागेको बताइएको छ। यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै २ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदीको मूल्यमा आएको लगातार उतारचढावले आम उपभोक्ता र व्यापारी दुवै प्रभावित भएका छन्। विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, विदेशी मुद्राको भाउ र आपूर्तिमा देखिएको असन्तुलनका कारण सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।
श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन नआएसम्म हाम्रो अभियान रोकिँदैन : अध्यक्ष प्रचण्ड
ललितपुर , नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिक र उत्पीडित वर्गको जीवन व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म जनताको पक्षमा पार्टीले सञ्चालन गरेको अभियान नरोकिने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘बेतलबी र घरेलु हेरचाह कार्यसम्बन्धी संवाद कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधानले सुनिश्चित गरेका श्रमिकका हक–अधिकार व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नु आजको आवश्यकता भएको स्पष्ट पार्नुभयो। पूर्वप्रधानमन्त्री प्रचण्डले आफू सरकारमा रहँदा औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गर्ने अभियानको थालनी गरिएको स्मरण गराउँदै, त्यो कदम श्रमिकको जीवनलाई मर्यादित र सम्मानित बनाउने दिशामा महत्वपूर्ण भएको उल्लेख गर्नुभयो। “घरेलु श्रमिकसहित औपचारिक तथा अनौपचारिक क्षेत्रका सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश नगरी उनीहरूको मर्यादित र सम्मानित जीवन सुनिश्चित हुन सक्दैन,” उहाँले स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीको पछिल्लो केन्द्रीय समिति बैठकमा उत्पीडित वर्ग र समुदायसँगको सम्बन्ध केही कमजोर भएको स्वीकार गरिएको जानकारी दिँदै भन्नुभयो, “हामीले कमीकमजोरीहरू स्वीकार गरेका छौं। अब ती सम्बन्ध सुधार गर्दै, ती वर्गका समस्याको समाधानमा केन्द्रित भएर अघि बढिरहेका छौं।” जनताको जीवनमा परिवर्तन नआएसम्म पार्टीको अभियान जारी रहने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दृढतापूर्वक भन्नुभयो, “जबसम्म आम श्रमिक र उत्पीडित वर्गको जीवन–व्यवहारमा ठोस परिवर्तन आउँदैन, तबसम्म हाम्रो अभियान पूर्ण हुनेछैन।” कार्यक्रममा उहाँले घरेलु श्रम तथा हेरचाह कार्यलाई पेशागत, सम्मानित र मर्यादित बनाउने अभियानमा पूर्ण साथ रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
पैदलयात्री अभियान्ताले भेट अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड समक्ष सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी काठमाडौं आइपुग्नुभएका नवराज बोहोराले वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन स्थापनाको अभियानमा लाग्नुभएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको स्पष्ट पार्नुभयो। उहाँले बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्नुका साथै अभियान निरन्तर जारी राख्न शुभकामना पनि दिनुभयो।