अत्यधिक गर्मीका कारण विद्यालयमा बिदा दिन सुरु

अत्यधिक गर्मीका कारण विद्यालयमा बिदा दिन सुरु

रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन अत्यन्त प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन सुरु गरेका छन् ।

रौतहटमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो ।

उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि जिल्लाको गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।

गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको गौर नगरपालिका प्रमुख शम्भू साहले बताए । उनले ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको बताए ।

प्रदेश प्रमुखको कार्यालय पुगे जनमतका सतिश सिंह, मुख्यमन्त्रीमा दाबी पेश गर्दै

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न जनमतका सतिश कुमार सिंह प्रदेश प्रमुख कार्यालय पुगेका छन्।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा जनमतका सतिश कुमार सिंहले दाबी पेस गर्न लागेका हुन् । सिंह नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका भरत साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, नेकपा एसका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने समेत प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी छ। जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छिन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छिन् ।

कुकुरको झुण्डले आक्रमण गर्दा ६ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम । जनकपुरमा कुकुरको झुण्डले आक्रमण गर्दा एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिकाको यदुकोहा घर भई जनकपुर बस्दै आएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको कुकुरको आक्रमणमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार साँझ डेरा नजिकै आँप टिप्न गएको बेला उनलाई आधा दर्जनको संख्यामा रहेका कुकुरले एकसाथ आक्रमण गरेका थिए । कुकुरको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

क्षमता भन्दा बढि कैदीबन्दी भएपछि व्यवस्थापनको समस्या

बरहथवा । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर दुई सय ४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले  जानकारी दिए । जेलर मिश्रका अनुसार महिला सेलतर्फ २३ जना कैदीबन्दी छन् । पुरुषतर्फ दुई सय २० जना पुगेका छन् । पुरुषतर्फ कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उनले बताए । “महिला सेलतर्फ कम छन्”, जेलर मिश्रले भने, “तर, पुरुषतर्फ क्षमताभन्दा ६० जना धेरै भइसकेका छन् । हामीले बरण्डालगायतका ठाउँमा पङ्खा लगाएर सुत्ने व्यवस्था गरेका छौँ ।” कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताए । ठाउँ अभावका कारण कोचमकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ । जिल्ला कारागार मलङ्गवा सर्लाही ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए । जीर्ण भएका कारण बन्द गरेर ०६९ माघदेखि निर्माण सुरु गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो ।  यसैबीच कारागारलाई सुधारगृहका रुपमा सञ्चालन गर्ने सरकारको नीतिअनुसार कैदीबन्दीलाई क्षमता र इच्छाअनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताए । दुई पैसा आम्दानीसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उनको भनाइ छ ।   कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैँचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुने लगायतका काम गर्ने गरेका छन् । यसरी उनीहरुले परिवारमा आर्थिक सहयोग गरिरहेको जेलर मिश्रले बताए ।  

सुनको सिक्री नदिएको भन्दै विहे रद्द गरेको आरोपमा बेहुला सहित ८ जना पक्राउ

विरगंज । दाइजोमा सुनको सिक्री नभएको भन्दै विवाह अस्वीकार गरेको आरोपमा प्रहरीले पर्साको वीरगन्जबाट बेहुला सहित केही जन्तीलाई पक्राउ गरेको छ।  बेहुलीसँग मण्डपमा बसिसकेपछि दाइजोको विषयमा निहुँ खोज्दै विवाह गर्न अस्वीकार गरेको आरोपमा बेहुलासहित केही व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए।  बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चोक निवासी उमेश साहका छोरा बच्चालाल साहसहितका केही व्यक्तिलाई पक्राउ गरिएको उनले बताए। बच्चालाल बेहुला हुन्।  ‘पीडित (बेहुली) पक्ष जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका छन् । पक्राउ पर्ने बच्चालाल (बेहुला) वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटर पदमा कार्यरत कर्मचारी भएको बेहुली पक्षले बताएका छन्।  साह सोमबार साँझ बेहुली लिन वीरगन्ज महानगरपालिका–२४ रामगढवा निवासी सुखल साहको घर पुगेका थिए। केही दिनअघि मात्रै सुखलकी २४ वर्षीया छोरी रमिताको बच्चालालसँग विवाहको टुंगो लागेको थियो।  सोमबार राति मण्डपमा बसिसकेपछि उनले दाइजोमा सिक्री नपाएको भन्दै विवाह गर्न अस्वीकार गरेपछि दुई पक्षबीच विवाद भएको थियो।  त्यसक्रममा बेहुली पक्षले खबर गरेपछि पुगेको प्रहरीले बेहुला, उनका दाइ, भिनाजुसहितलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेको सबै विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।  जन्तीले खाना खाइसकेपछि मण्डपमा विवाहको विधिको तयारी भइरहँदा बेहुला सुनको सिक्री नभएको भन्दैमण्डपबाट उठेका थिए। उनी त्यसरी उठ्दा बेहुली पक्षका आफन्तले रोक्ने प्रयास गरेपछि उनले विवाह गर्न अस्वीकार गरेको आरोप छ।  बेहुलाले यसअघि केटी पक्षबाट दाइजोको रुपमा १२ लाख नगद, ३ लाख २५ हजारको मोटरसाइकल, ७५ हजारको ल्यापटप र एउटा सुनको औंठी लिइसकेका बेहुली पक्षको दाबी छ।  दुबै परिवारबीच पहिल्यै दाइजोको विषय टुंगो लागेपछि विवाहको लागि तयार भएको थिए। तर, मण्डपमा बसिसकेपछि बेहुलाले थप दाइजो खोजेपछि विवाद सुरु भएको बेहुली पक्षको आरोप छ। प्रहरीले घटनाको विषयमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाही अघि बढाइने जनाएको छ।  

लोकप्रिय