प्रतीक थापाविरुद्ध आजबाट थुनछेक बहस
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध आजबाट थुनछेक बहस हुने भएको छ। गत शुक्रबार पक्राउ परेको प्रतीकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।
थापाविरुद्ध यसअघि नै नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको मुद्दा दर्ता भइसकेकाले उनलाई थुनछेक बहसका लागि जिल्ला अदालत पेश गरिएको हो। आइतबार समय अभाव भएका कारण हुन नसकेको थुनछेक बहस आज हुन लागेको हो।
प्रतीकलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा २४ वर्ष कैद माग दाबी गरिएको छ। त्यसअघि उनलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको थियो।
रामबहादुर थापा गृहमन्त्री हुँदा प्रतीक स्वकीय सचिव थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा अन्य आरोपीहरु पक्राउ परेपछि उनी फरार रहँदै आएका थिए। भुटानी शरणार्थी प्रकरणमै पक्राउ परेका अर्का आरोपी बेचन झालाई भने जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको छ।
गत वर्ष शरणार्थी प्रकरण सतहमा आएदेखि फरार रहँदै आएका झालाई भारतबाट पक्राउ गरी गत शुक्रबार काठमाडौं ल्याइएको बुझिएको छ। झाले सोही गिरोहका रामशरण केसीबाट दुई करोडको चेक लिएको प्रमाण प्रहरीले फेला पारेको थियो।
अखिल क्रान्तिकारीमा नीति र नेतृत्व छान्न देशैभरि चुनाव हुने
काठमाडौँ । अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मंगलबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका शीर्ष नेता, निवर्तमान अध्यक्ष, फ्याक्सन इन्चार्ज, निर्वाचन आयोगका पदाधिकारीसहितको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पहिलो चरणमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने विषयमा मतदान हुनेछ । त्यसका लागि पुस १३ गते निर्वाचन हुने इन्चार्ज हिमाल शर्माले जानकारी दिए । शर्माका अनुसार दोस्रो चरणमा नयाँ नेतृत्वको लागि निर्वाचन पुस १७ गते हुने छ । शर्माका अनुसार उमेर हदसम्बन्धी निर्वाचन ७७ जिल्लामा हुनेछ । नेतृत्व छनोटको निर्वाचन सात प्रदेशमा हुनेछ । यसअघि असोज १० देखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा भएको सम्मेलनमा उमेरहदको विवाद हुँदा स्थगित भएको थियो । दोस्रोपटक मङ्सिर २३ र २४ गते भनिएको सम्मेलन पनि विवादकै कारण स्थगित भएको थियो । नयाँ नेतृत्व छनोटका लागि देशभरबाट दुई हजार ३२३ प्रतिनिधि सहभागी हुनेछन् ।
हुम्लामा हिमपात, जनजीवन प्रभावित
हुम्ला । हुम्लामा गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिए । यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ । उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको उनले बताए । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ । जिल्लाको दक्षिण भेगमा भने वर्षा भइरहेको छ । हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयले आग्रह गरेका छन् । रासस
संसदका तीन वटा समितिको बैठक बस्दै, यस्ता छन् छलफलका विषय
काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ११ बजे कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।
सातवटै प्रदेशमा वर्षाको सम्भावना, चिसो बढ्ने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणालीका कारण हिमाली तथा पहाडी भूभागमा हलुकादेखि मध्यम हिमपातसमेत हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको न्यूनचापीय प्रणाली मंगलवार रातिसम्म रहने छ । सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली शुरु भएको र यो बिस्तारै पूर्वतिर फैलिँदै गरेको महाशाखाले जनाएको छ । यो प्रणाली आज राति कर्णाली प्रदेश हुँदै गण्डकी र लुम्बिनी प्रदेशसम्म आउनेछ । पूर्वतर्फ फैलिँदै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने देखिनेछ । आज दिउँसोसम्म बदली कायम रहने र बुधबारदेखि केही कमजोर हुँदै जाने महाशाखाले जनाएको छ । हाल वर्षा भइसकेको छैन तर आज राति र भोलि बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने तथा अन्य केही क्षेत्रमा हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ । अहिले देशको सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती प्रदेश र मधेश प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । गत मंसिरको अन्तिम साता चिसो अत्यधिक बढेर विस्तारै घट्दै गएपनि सोमबारदेखि पुनः चिसो बढ्न थालेको हो । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ । यसैगरि अन्य क्षेत्रमा पनि न्युनतम तापक्रम घट्दै गएको महाशाखाले जनाएको छ।