आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन उद्घाटन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित आँबुखैरेनी क्याम्पसको नवनिर्मित भवन बिहीबार उद्घाटन भएको छ । नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको ३० करोड १० लाख सहयोगमा भवन निर्माण भएको हो ।

भारतीय राजदूतावाका प्रथम सचिव अविनाशकुमार सिंह, जिल्ला समन्वय समिति तनहुँका संयोजक शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, सरकारी कर्मचारी, समाजसेवी, क्याम्पस व्यवस्थापनका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थी सहभागी थिए । 
क्याम्पस भवन आयोजना नेपाल र भारत सरकारबिच भएको सम्झौताअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । जिल्ला समन्वय समिति तनहुँमार्फत उक्त भवन निर्माण आयोजना कार्यान्वयन भएको थियो । 
आँबुखैरेनी क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त समुदायमा आधारित क्याम्पस हो । क्याम्पसले ब्याचलर अफ बिजनेस स्टडिज  र ब्याचलर अफ एजुकेसनमा स्नातक कक्षा सञ्चालन गर्दै आएको छ

हत्याको बिरोधमा प्रदर्शन, दोषीलाई एमालेले संरक्षण गरेको आरोप

विराटनगर  । झापाको दमक नगरपालिकाका–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्दै स्थानीयले प्रदर्शन गरेका छन् । हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरीले तत्परता नदेखाएको आरोप लगाएका परिवारले शव बुझ्न मानेका छैनन् । परिवारको अडानका कारण शवको शल्य परीक्षणसमेत हुन सकेको छैन । मंगलबार अपराह्न दमक–३ स्थित मावाखोला पुल नजिकै ३५ वर्षीय  निरौलाको हत्या भएको थियो । प्रहरीका अनुसार, हत्यामा चिनजानकै साथीहरूको संलग्नता रहेको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । कुटपिटपछि कन्चटमा ढुंगा प्रहार हुँदा उनको मृत्यु भएको प्रहरीको भनाइ छ । इलाका प्रहरी कार्यलय दमकले घटनामा संलग्न रहेको आशंकामा केही युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको र अन्यको खोजी भइरहेको जानकारी दिएको छ । मृतकका आफन्तले हत्यामा नाम जोडिएकामध्ये केही सत्तारूढ नेकपा एमालेका कार्यकर्ता र नेताहरूका नाताभित्रका परेकाले उनीहरूलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको आरोप लगाएका छन् । मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्यामा जोडिएका ६ जनाको नाममा किटानी जाहेरी दिन जाँदा प्रहरीले नमानेपछि विवाद चर्किएको हो । प्रहरीले शंकास्पद व्यक्तिहरूको नाम हटाएर मात्रै जाहेरी दर्ता गर्न सकिने प्रहरीले बताएपछि परिवारसहित स्थानीय थप आक्रोशित बनेका छन् । सीसी टीभी फुटेजबाट पहिचान भएको भनिएका राजु भनिने शेरबहादुर लिम्बू र गणेश दर्जी छन्  । यसैगरी, कोसी प्रदेश सांसद तथा एमाले नेता होमबहादुर थापाका सहोदर भाइ र एमाले केन्द्रीय सदस्य गोविन्द थापाका दाजु बुद्धिमान थापालगायतको नामसमेत जाहेरीमा उल्लेख छ । तर, उनीहरूलाई प्रहरीले पक्राउ नगरेको निरौलाकी पत्नी कृष्णमायाको दाबी छ ।

साम्पाङले कार्यवाहक मेयर दिएका वडाध्यक्ष जान छोडे उपमहानगर

विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले कार्यवाहकको जिम्मेवारी दिएका वडाध्यक्ष लोकेन्द्र फागो उपमहानगर कार्यालय जान छोडेका छन् । उनी मंगलवारबाट कार्यालय जान छोडेका हुन् । कार्यवाहक मेयरको जिम्मेवारी कार्यान्वयन नगर्न उच्च अदालत विराटनगरले आदेश दिए पनि वडाध्यक्ष फागो अटेर गरेरै कार्यालय गइरहेका थिए । उच्च अदालतले पत्र नै बुझाएपछि भने उनी उपमहानगर कार्यालय जान छाडेका हुन् । धरान उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईका अनुसार अदालतले पठाएको पत्र बुझेपछि उनी कार्यालय जान छाडेका छन् । आइतवार उच्च अदालतले वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिने मेयर साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । उच्च अदालतले छलफलका लागि मङ्गलवार दुवै पक्षलाई बोलाएको थियो । छलफलमा मेयर राईको तर्फबाट कोही पनि सहभागी भएका थिएनन् । अब यसको पेशी कात्तिक १३ गतेलाई तोकिएको छ । सो अवधिसम्मका लागि भने अन्तरिम आदेशलाई नै अदालतले निरन्तरता दिएको छ । यता वडाध्यक्ष फागोले भने अदालतको अन्तरिम आदेश आएपछि जनतालाई हँसाउनु हुँदैन भनेर उपमहानगर नगएको बताएका छन् । दुई साताका लागि बेलायत गएका मेयर साम्पाङले कार्यवाहकको जिम्मेवारी उपमेयर अइन्द्रविक्रम बेघालाई नदिएर वडाध्यक्षलाई दिएका थिए । उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएको भन्दै उपप्रमुख बेघाले उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गराएका थिए । कार्यवहाक दिएका फागो हर्कका नातामा मामा ससुरा समेत हुन् । उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहक दिएको भनेर मेयर साम्पाङको आलोचना भएको थियो । धरानका राजनीतिक दलहरूले पनि मेयरको विरोध गरेका थिए । अदालतको आदेशपछि पनि मेयर साम्पाङले भने अदालतले आफूलाई नचुनेको टिप्पणी गरेका थिए ।

बालिका बलात्कारका दोषीलाई कारबाही माग गर्दै भालुवाङ बजार बन्द, राजमार्ग अवरुद्ध

दाङ । बालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको छ । २४ असोजमा सशस्त्र प्रहरी बलको क्याम्प नजिक पिङ खेल्न पुगेकी ८ बर्षीया बालिका बलात्कार भएको सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले घटनाको अनुसन्धान अघि बढाएको थियो । पीडित बालिकालाई प्रहरीले संरक्षण गरेर राखेको छ भने ती बालिकासंगै रहेकी अर्की १५ बर्षीया बालिकालाई पनि प्रहरीले अनुसन्धानको लागि कार्यालयमा राखेको छ । दुवै बालिकासंग घटनाको बारेमा जानकारी लिने र संकास्पद व्यक्तिहरुसंग सोधपुछ जारी राखिएको प्रहरीले बताएको छ । प्रहरीले घटनाको अनुसन्धान अघि बढाए पनि अझैसम्म संलग्न व्यक्तिको पहिचान गर्न नसकेपछि जनआक्रोश बढ्दै गएको छ ।  

कर्णालीमा पहिलोपटक विषादी प्रयोगशाला स्थापना

सुर्खेत । कर्णालीमा पहिलोपटक तरकारी तथा फलफूलमा प्रयोग गरिने विषादी जाँच गर्ने प्रयोगशाला स्थापना भएको छ । सुर्खेतको वीरेन्द्रनगर–६, स्थित बुलबुले तरकारी बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो । संघीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालाको सहयोगमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशालाको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उद्घाटन गरेका छन् । प्रयोगशाला उद्घाटन गर्दै मन्त्री शाहले विषादीरहित तरकारी उत्पादन तथा बिक्री वितरणमा कृषक, व्यवसायी र उपभोक्तामा जनचेतनाको आवश्यक रहेको बताए । कर्णाली प्रदेश आफैँमा अर्ग्यानिक रहेको उल्लेख गर्दै पछिल्लो समय तरकारी तथा फलफूलमा बढ्दै गएको विषादीको प्रयोगले मानवस्वास्थ्यमा गम्भीर असर पर्दै गएकोमा सचेत रहनुपर्ने शाहले बताए ।  प्रयोगशाला स्थापना भएसँगै प्रदेश सरकारको अर्ग्यानिक प्रदेशको अवधारणालाई सघाउ पुग्ने मन्त्री शाहको भनाइ थियो । सुर्खेतको हर्रे र सल्यानको कपुरकोटमा रहेका प्रयोगशाला यसै वर्ष सञ्चालनमा आउने मन्त्री शाहको दावी छ, जसका लागि बजेटको व्यवस्थापन भइसकेको उनले बताए । यस्तै, प्रदेश सरकारले विषादी व्यवस्थापनसम्बन्धी कानुन बनाउने तयारी भइरहेको मन्त्री शाहले बताए । जीवनाशक विषादी भन्नाले बोट बिरुवा, कृषिजन्य पदार्थ, वन तथा वन पैदावर, जीव, पशुपक्षी, मानव स्वास्थ्य, भण्डारण, प्याकेजिङ, निर्माण कार्यमा हानि पुर्‍याउने, रोग, कीरा, सुलसुले, नेमाटोड, झारपात, मुसा लगायतबाट बचाउन प्रयोग गरिने प्रङ्गारिक, वनस्पति, जैविक तथा रासायनिक वस्तु हुन् । यस्ता विषादीको प्रयोग गर्दा मानव स्वास्थ्यमा क्यान्सरजस्ता घातक रोगको जोखिम हुने केन्द्रीय कृषि प्रयोगशालाको प्रमुख महेशचन्द्र आचार्यले बताए । नेपालमा सरदर विषादीको खपत ३ सय ९६ ग्राम खास बिष प्रतिहेक्टर बालीअनुसार खपत हुने गरेको छ, जसमा तरकारीमा एक दशमलव ६० केजी खास विष प्रतिहेक्टरमा प्रयोग हुने आचार्यले बताए ।

लोकप्रिय