शिक्षक महासंघको महाधिवेशन आज सुरु हुँदै

काठमाडौं। नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने घोषणा गरेको छ ।
महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो ।
महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए ।
महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।
नेपालमा विपद्को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया गर्दै माओवादी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज नेपालमा विपद्को अवस्था र पूर्वतयारी विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा विपद्को अवस्था र पूर्वतयारी सम्बन्धी धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ। विपद् व्यवस्थापन केन्द्रीय विभाग, नेकपा (माओवादी केन्द्र) को आयोजनामा हुने सो अन्तरक्रिया कार्यक्रम आज दिउँसो १:०० बजे ताज ब्यांक्वेट, तिनकुनेमा आयोजना गरिएको हो। कार्यक्रममा विपद्को हालको अवस्था, तयारीका उपायहरू, सरकार र राजनीतिक दलहरूको भूमिका लगायतका विषयमा विस्तृत छलफल हुने आयोजकले जनाएको छ। उक्त कार्यक्रममा विपद् व्यवस्थापनमा संलग्न विज्ञ, सरोकारवाला निकायका प्रतिनिधि, सुरक्षाकर्मी, जनप्रतिनिधि तथा माओवादी केन्द्रका नेताहरूको सहभागिता रहने जनाइएको छ।
विनयी खोलामा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सवारी आवागमन ठप्प
दुम्किवास — लगातार वर्षापछि विनयी खोलामा आएको बाढीले अस्थायी डाइभर्सन पुनः बगाउँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्किवास खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। गए रातिदेखि परेको वर्षाले खोलामा बाढी आएपछि बनाइएको डाइभर्सन बगाएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, बाढीका कारण एक यात्रुवाहक बस समेत बगेको छ। यद्यपि, सो बसमा रहेका सबै यात्रुहरू सकुशल उद्धार गरिएको जनाइएको छ। सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् भने सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेको जनाइएको छ।
काठमाडौंसहित देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षा हुने
काठमाडौं— देशभर मौसमी गतिविधि तीव्र बनेका कारण आज अधिकांश स्थानमा बदलीसहित वर्षा हुने सम्भावना छ। काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेको छ भने दिउँसो हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्हरुको अनुमान छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, दिउँसो १० बजेदेखि ११ बजेसम्म वर्षा सुरु हुने र दिनभर यदाकदा पानी पर्ने क्रम जारी रहनेछ। “वर्षा सुरु भइसकेको छैन, तर दिउँसो हल्कादेखि मध्यम वर्षा हुनसक्छ,” मौसमविद्हरूले जानकारी दिएका छन्। सातवटै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो सातवटै प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना देशका उच्च पहाडी र हिमाली भूभागमा पनि आज हल्का वर्षा र हिमपात हुनसक्ने विभागले जनाएको छ। रातिको समयमा देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मनसुनी र पश्चिमी वायुले असर पुर्याउँदै हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायु सक्रिय रहेको छ भने देशको पश्चिम भू-भागमा पश्चिमी र स्थानीय वायुले आंशिक असर पुर्याएको विभागले जनाएको छ। साथै, भारतको पश्चिम बंगाल नजिकै बनेको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव देखिएको छ।
स्थापित बाम नेता भरत साह एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह आज औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ। उहाँलाई आज चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गर्नुभएको हो। बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल ९पाँचौं० का बारा जिल्ला अध्यक्षको रूपमा गर्नुभएको थियो। त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाउनुभएको थियो। २०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हाल्नु भएका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बन्नु भएको थियो। शिक्षा क्षेत्रको संगठनात्मक नेतृत्वमा उहाँको उल्लेखनीय योगदान रहँदै आएको छ। राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिनु भएका साह हालसम्म नेकपा (एमाले)को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील हुनुहुन्थ्यो। पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उहाँले माओवादी केन्द्र रोज्नु भएको बताइएको छ। पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गर्नुभएको थियो। साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेसमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ।