दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएन : सांसद राणा

काठमाडौं । प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले दिगो विकासले लिएको लक्ष्यअनुरुपको प्रगति नभएको भन्दै लक्ष्य पूरा गर्नका लागि सबैको सहकार्य आवश्यक रहेको बताएकी छन् ।

बुधबारदेखि सुरु ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिनको ‘जलवायु न्याय, समानता र स्थानीय आवाजः लिङ्ग र युवा’ विषयक सत्रमा उनले दिगो विकासको सम्बन्धमा संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदन हेर्दा दिगो विकासको लक्ष्य सन्तोषजनक नरहेको बताएकी हुन् । 

जलवायुले ल्याएको चुनौती पहिल्याएर उनीहरूको क्षमता बढाउनुपर्नेमा उनको भनाइ छ । जलवायु परिवर्तनसम्बन्धी नीति कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा उनले जोड दिइन् । “स्थानीयस्तरका ज्ञानलाई प्रयोग गरेर जलवायुसम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्छ, राजनीतिक सहमति जुटाउनुपर्छ”, उनले भनिन्, “जलवायु परिवर्तनसम्बन्धी सम्झौता कानुनीरूपमा नै बाध्यकारी प्रावधान ल्याउनुपर्नेछ ।”

पछिल्लो समय पृथ्वीको तापक्रम पनि दिनानुदिन बढिरहेको र यसले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी परिरहेको उनको भनाइ छ । “जलवायु परिवर्तनको प्रभावका कारण प्रकोप बढेर हिमताल फुट्ने जोखिम बढेको छ”, राणाले भनिन्, “जलवायु न्यायका कुरा गर्दा हिमाली क्षेत्रका महिलाले वातावरण जोगाउन खेलेको भूमिका महत्त्वपूर्ण छ, उहाँहरूले हिमालका हरेक कुनाकाप्चामा जोखिमका बाबजुद अघि बढेर जैविक विविधता संरक्षणमा भूमिका निर्वाह गरिरहनुभएको छ ।”

उनले जलवायुका कारण हिमाली क्षेत्रका महिलाले भोगेको समस्या सम्बोधन हुनेगरी काम गर्नुपर्ने बताइन्  । रासस

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान जाँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाँदै छन्। एसिया सहयोग संवाद (एसिया कोअपरेसन डायलग)को परराष्ट्र मन्त्रीस्तरीय १९औँ  बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्री श्रेष्ठले असार १० गते इरानको राजधानी तेहरानमा हुने बैठकमा भाग लिने छन्। यस्तै, परराष्ट्रमन्त्री श्रेष्ठले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । मन्त्रीस्तरीय बैठक अघि आइतबार तेहरानमा हुने एसिया सहयोग संवादको वरिष्ठ अधिकारीहरूको बैठकमा मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका सहसचिव ज्ञानबहादुर मगर सहभागी हुनेछन्। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते काठमाडौं फर्कने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ।

पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी नै सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार यो सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका(२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी  अवरुद्ध भएको थियो।  पहिरो पञ्छाएसँगै अवरुद्ध सडक आज बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो। सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन्। 

फेवातालमा पौडी खेल्ने गएका युवाको डुबेर मृत्यु

काठमाडौं । कास्कीस्थित फेवातालमा पौडि खेल्न गएका युवाको डुबेर मृत्यु भएको छ। पोखरा महानगरपालिका२२, चिसापानीस्थित फेवातालमा डुब्दा शुक्रबार अन्नपूर्ण गाउँपालिका २ नौडाँडाका २५ वर्षीय सञ्जय भण्डारीको ज्यान गएको हो। प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेतिर तालमा डुबेका उनलाई सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको थियो। कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा चिकित्सकले उनलाई साँझ साढे ७ बजे मृत घोषणा गरेका हुन्। पोखरा–६, लेकसाइडको क्विन पार्कमा काम गर्ने भण्डारी चार साथीसहित पौडी खेल्न फेवाताल गएका थिए। उनीसँगै पौडी खेल्न गएका अन्य सकुशल रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।

काठमाडौंका यी स्थानमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं । काठमाडौंका केही स्थानमा आज र भोलि विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार मातातीर्थ सबस्टेसनबाट आपूर्ति भइरहेका फिडरहरूमा विद्युत् सेवा आपूर्ति नहुने भएको हो ।   मर्स्याङ्दी काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाबाट निर्माण भएको मातातीर्थ २२० केभीको नयाँ कन्ट्रोल रुममा काम गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको हो ।  मच्छेगाउँ, सतुंगल, मातातीर्थ, फर्पिङ फिडर अन्तरगत शनिबार बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।  आइतबार मातातीर्थ फिडरमा १० देखि १२, सतुंगल फिडर १२ देखि २, मच्छेगाउँ फिडर २ देखि ४ बजेसम्म र फर्पिङ फिडर ४ देखि ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख छ ।

लोकप्रिय