आजदेख अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन, यस्तो छ कार्यतालिका

आजदेख अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन, यस्तो छ कार्यतालिका

काठमाडौं । नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले २३औं राष्ट्रिय सम्मेलन आज असोज १० गतेदेखि सुरु हुँदैछ । यससँगै क्रान्तिकारीले सम्मेलनको कार्यतालिका समेत सार्वजनिक गरेको छ । उपाध्यक्ष केशव रावलले जानकारी दिए अनुसार असोज १० गते मध्यान्न १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनको उदेघाटन गर्नुहुनेछ।

 किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा हुने सम्मेलनको बन्द सत्र ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । ११ गतेनै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ ।१२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समुहका नेताले प्रस्तुत गर्नेछन् ।  

१२ गते नै सम्मेलन सम्पन्न गर्न गठित निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।  १३ असोजको विहानैदेखि चुनावी कार्यक्रम सुरु हुनेछ ।

 नयाँ नेतृत्व चयनका लागि हुने चुनावी कार्यक्रमलार्ई सौहार्द र मर्यादित बनाउन सवै प्रयास गरिएको क्रान्तिकारीले जनाएको छ ।  १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको रावलले बताउनुभयो ।

मतदान सकिएपछि तत्काल गणना थल्ने र मतपरिणाम घोषणा गर्ने क्रान्तिकारीको तयारी छ ।  क्रान्तिकारीको नयाँ नेतृत्वका लागि एक दर्जन नेताहरूले सामाजिक सञ्जालमार्फत आफ्नो दावेदावी पेश गरिरहेका छन् । 

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ ।’ उहाँले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताउनुभयो । ‘मैले गणतान्त्रिक नेपालको प्रथम प्रधानमन्त्रीको रुपमा नेतृत्व गरेको बेलामा मध्यपहाडी मध्यपहाडी लोकमार्गको अवधारणा अघि सारें, जो निर्माण सम्पन्न हुने चरण छ’– पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘चुरेको काखबाट पूर्वपश्चिम मदन भण्डारी लोकमार्ग पनि हाम्रै अवधारणामा अघि सुरु गरिएको हो, जो निर्माण कार्य भइरहेको छ ।’ त्यस्तै आफूले अघि बढाएको उत्तरदक्षिण कोरिडोर र डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला अघि बढाइएको काठमाडौंको करिडोर अवधारणा पनि माओवादी सरकारकै विकास नीतिको परिणाम भएको बताउनुभयो । आफूले पहिलोपटक सरकारको नेतृत्व गर्दा हजारौं किसानको ऋण मिनाह गरेको स्मरण गर्दै उहाँले शंखधर खाख्वाले ऋणमुक्त गरेको घटनापछि आधुनिक नेपालको इतिहासमा ठूलो संख्यामा किसानलाई ऋणमुक्त गरिएको यो नै पहिलो घटना भएको बताउनुभयो । अध्यक्ष प्रचण्डले आफूले दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई उर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको कालरात्रीबाट मुक्त गरेको बताउनुभयो । त्यति नै बेला संविधान कार्यान्वयन हुने हो कि होइन भन्ने अन्योलको बीचमा मधेशी दलहरुलाई समेत सहमतिमा ल्याएर संविधान कार्यान्वयन र मुलुकलाई चुनावमा लैजाने काम पनि गरिएको उहाँले स्पष्ट गर्नुभयो । आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताउनुभयो । ‘हामीले भ्रष्टाचारका विरुद्ध महाअभियान छेडेकै हो, नेपालको इतिहासमा राजनीतिक र प्रशासनिक हाइप्रोफाइल व्यक्तिहरु कारवाहीमा परेको पहिलोपटक हो’– उहाँले भन्नुभयो– ‘सामाजिक न्यायको क्षेत्रमा मिटर ब्याजपीडितको समस्या समाधान, लाखौं श्रमिकको सामाजिक सुरक्षा कोषमा आबद्धता र हजारौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने कानुन निर्माण ऐतिहासिक कार्य थिए ।’ उहाँले आर्थिक समृद्धिको सवालमा लिएका महत्वपूर्ण नीतिका कारण अहिले नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आइरहेको र आर्थिक वृद्धिदर बढ्ने क्रम सुरु भएको बताउनुभयो। उहाँले तेस्रोपटक सरकारको नेतृत्व गर्दा इटलीमा भएको खाद्य सम्मेलन, संयुक्त राष्ट्रसंघको महासभाहुँदै कोप २८ सम्म जाँदा आफूले लिएको ऐतिहासिक पहलकदमीका कारण पार्टीको अन्तर्राष्ट्रिय प्रतिष्ठा फरकरुपमा स्थापित भएको र यसले राजनीतिक नेतृत्वलाई अन्तर्राष्ट्रियस्तरमा अब्बल रुपमा स्थापित गरेको बताउनुभयो । आफूले अल्पविकसित राष्ट्रहरुको पक्षमा लिएको अडान मात्र होइन, कार्यकालमा भारत र चीनसँगको सन्तुलित सम्बन्धले पनि नेपालको कूटनीतिलाई नयाँ उचाईमा उठाएको बताउनुभयो । उहाँले पछिल्लो सरकारको नेतृत्व गदौ शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताउनुभयो । त्रिविमा मेरिटोक्रेसी लागु गर्ने, वर्षौदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीय शिक्षा ऐन सदनमा पुर्याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गर्नुभयो । ‘अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान छेड्छौं’ अध्यक्ष प्रचण्डले अब सडक र सदनबाट भ्रष्टाचारविरुद्ध महाअभियान चलाउने बताउनुभयो । ‘सरबाट थालेको सुशासनको अभियान अब सदन र सडकबाट पनि अघि बढाउँछौं’– उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरुद्ध सदन र सडकबाट महाअभियान चलाउँछौं, यसले समाजवादी क्रान्तिको थालनी गर्न समेत पनि सहयोग गर्ने छ । यसले नेपालमा मात्र होइन, विश्व समाजवादी आन्दोलनमा समेत सहयोग गर्ने छ ।’ भर्खरै श्रीलंकामा भ्रष्टाचारविरोधी एजेण्डा स्थापित गरेर बामपंथी राष्ट्रपति निर्वाचिन भएको घटना विद्यार्थीहरुलाई सुनाउँदै उहाँले यो अभियान नेपालमा पनि शसक्तरुपमा अघि बढ्ने बताउनुभयो । सरकारमा रहँदा दलाल पूँजीपतिहरुको राइदाईमाथि जेहाद छेडेको उल्लेख गर्दै उहाँले सदन र सडकबाट केही महिनाभित्र नै परिस्थिति उल्ट्याइदिन सकिने बताउनुभयो । ‘हामी अहिले सरकार बनाउने हतारोमा छैनौं । तिमीहरु मिलेर बस भनेका छौं तर हामीले चाहँदैमा उनीहरु मिल्दैनन् । अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो । बिरोधीहरुले सँधै षड्यन्त्र गर्ने र त्यसको प्रतिवाद गर्नु क्रान्तिकारीहरुको दायित्व हुने अध्यक्ष प्रचण्डको भनाई थियो । ‘हिजो जनयुद्धभरि एकपछि अर्को घेरा र दमन चलाइएको थियो, घेरा तोड्ने र प्रतिरोध गर्ने हाम्रो नीति थियो । अहिले पनि हामी त्यसरी अघि बढिरहेका छौं । संविधान बन्न नदिने, संविधान कार्यान्वयन हुन नदिएर चुनावमा जान नदिने जस्ता षड्यन्त्र थिए, हामी सबै घेरा तोडेर आएका हौं । अहिले फेरि प्रतिनिधिसभाका पहिलो र दोस्रो दल मिलेर संविधानले स्थापित गरेका उपलब्धि खोस्ने खोस्ने षड्यन्त्र गरे भने सदन र सडकबाट एकैसाथ प्रतिरोध गर्न बाध्य हुनेछौं, त्यसका लागि तपाइँ विद्यार्थीहरु तयार हुनुहोला ।’ ‘राष्ट्रिय स्वाधीनताको मुद्दा पेचिलो’ अध्यक्ष प्रचण्डले अहिले ठूलाठूला शक्ति राष्ट्रहरुको अस्वस्थ प्रतिष्पर्धा देखिएको र त्यसको असर दक्षिण एसियामा पनि देखापर्न थालेको उल्लेख गर्दै नेपालमा राष्ट्रिय स्वाधीनतको मुद्दा पेचिलो बन्न थालेको बताउनुभयो । भूराजनीतिक अवस्थितिका कारण अहिले विश्वब्यापीरुपमा देखिएको अस्वस्थ प्रतिष्पर्धाको केन्द्र नेपाल हुने हो कि भन्ने चिन्ता व्यक्त गर्दै उहाँले विद्यार्थीहरुलाई नेपालको राष्ट्रिय स्वाधीनताप्रति गम्भीर हुन आग्रह गर्नुभयो । बिदेशी चलखेल रोक्ने र देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्न राष्ट्रिय शक्ति निर्माण गर्ने बामपंथीले मात्रै हो र त्यसको नेतृत्व माओवादी केन्द्रले गर्न सक्ने उल्लेख गर्दै उहाँले विद्यार्थी सम्मेलनले राष्ट्रिय स्वाधीनताको लडाइँलाई सहयोग गर्ने गरी नीति कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । ‘पार्टीभित्र विचार संश्लेषण र समाजवादी क्रान्तिको तयारीलाई प्राथमिकता’ अध्यक्ष प्रचण्डले एक्काइसौं शताब्दीमा समाजवादी क्रान्तिको नयाँ बाटो भनेर आठौं राष्ट्रिय महाधिवेशनबाट पारित लाइन नै आधिकारिक र औपचारिक कार्यदिशा भएको उल्लेख गर्दै सोही कार्यदिशाअनुसार कार्ययोजना बनाएर जनतामा जानुपर्नेमा केही कमजोरी भएको बताउनुभयो । अब धेरै विषय केन्द्रीय समिति बैठकले टुंग्याउने र विशेष महाधिवेशन गरेर विचारको नयाँ संश्लेषणसहित नयाँ गतिमा समाजवादी क्रान्तिको तयारी थाल्ने अबको बाटो हुने उहाँले स्पष्ट गर्नुभयो ।  माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको उल्लेख गर्दै उहाँले यो बेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताउनुभयो । गुटबन्दीमा नलाग्ने निर्देशन अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठूलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि उर्जा हुने बताउनुभयो । उहाँले इकाइदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीहरुले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई पनि उर्जाको अवसरको रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विधिमा जाने भएपछि जो जितेर आउँछ उही संगठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी गर्न विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।    

अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सुरु

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गर्नुभएको हो । सम्मेलन उद्घाटनमा पार्टीका अधिकांश केन्द्रीय पदाधिकारीहरुको उपस्थिति रहेको छ । अध्यक्ष पञ्चा सिंहको अध्यक्षतामा सुरु भएको उद्घाटन कार्यक्रममा नेताहरुले शुभकामना दिने क्रम सुरु भएको छ । सम्मेलनको बन्दसत्र भोलि ११ गते विहान ८ बजेबाट सुरु हुनेछ । भोलि नै विधान र प्रतिवेदनको मस्यौदा पेश गर्ने तथा त्यसमाथि छलफल गर्न समूह विभाजन गर्ने तालिका तय भएको छ । असोज १२ गते विहानदेखि समूहगत छलफलमा आएका निचोडहरु समूहका नेताले प्रस्तुत गर्नेछन् ।   १२ गते निर्वाचन समितिले सम्मेलनका प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गर्ने छ ।  असोज १३ गते उम्मेदवारी दर्ता दाबी बिरोध आदि सकेर असोज  १४ गते विहान ८ बजेदेखि मतदानको कार्यक्रम राखिएको सो संगठनले जनाएको छ । 

गंगादेवको नाम र केन्द्र पुरानै कायम गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र पुरानै कायम गर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले यस्तो अदोश दिएको हो । ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४(५)मा गाउँपालिकाको पहिलो निर्वाचन भएको मितिले छ महिनाभित्र नाम वा केन्द्र परिवर्तनका लागि एकपटकका लागि गाउँसाभाको बहुमतबाट नेपाल सरकारमा सिफारिस गर्नसक्ने र सो बमोजिम नेपाल सरकारले नाम वा केन्द्र परिवर्तन गर्नसक्ने व्यवस्था गरेको, गाउँपालिकाको पहिलो निर्वाचनपछि मिति २०७४ फागुन १४ गते सुकिदह गाउँपालिकाको नाम गंगादेव गाउँपालिका र केन्द्र जिनावाङबाट सानाडाँडामा सार्ने निर्णय भइसकेको अवस्थामा पुनः सो गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरेकोमा अवस्था देखिदा प्रस्तुत निवेदनमा अन्तिम निर्णय नभएसम्म गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने गरी गंगादेव गाउँपालिकाको सभाको मिति २०७९ असार ३१ गतेको निर्णय तथा नेपाल सरकारको २०८१ भदौ २० को निर्णय तत्काल कार्यान्वयन नगर्नु, नगराउनु साविककै गंगादेव गाउँपालिकाको नाम तथा सानाडाँडा केन्द्रबाट पूर्ववत् गाउँपालिका सञ्चालन गर्नु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम प्रत्यार्थीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ ।’ यो गाउँपालिकामो पहिलो निर्वाचनबाट नेकपा माओवादी केन्द्र बिजयी भएको थियो । तत्कालीन गाउँपालिकाको गाउँसभाबाट सहिदको नामाम गंगादेव गाउँपालिका बनाइएको थियो । २०७९ को स्थानीय तह निर्वाचनबाट नेपाली कांग्रेस विजयी भएपछि उसले पुरानो निर्णय उल्ट्याउने निर्णय गरेको थियो भने पछिल्लोपटक संघीय सरकारमा एमाले–कांग्रेसको सरकार बनेपछि पालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णय गरिएको थियो ।

आजदेखि लगातार चारदिन वर्षा हुने, यी हुन् उच्च जोखिमका क्षेत्र

काठमाडौं ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेश, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भन्दै सतर्क रहन आग्रह गरेको छ । आज दिउँसोदेखि आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलोदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ। यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन,नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । महाशाखाले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि धेरै ठूलो वर्षासम्म हुनसक्ने भएकाले ५६ जिल्ला यसको असर पर्नसक्ने भन्दै सचेत गराएको छ ।

लोकप्रिय