प्रतितोला ६००  रुपैयाँ घट्यो सुनको मूल्य

प्रतितोला ६००  रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार २०० रुपैयाँ निर्धारण भएको छ । 

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार ८०० मा कारोबार भएको थियो । 

तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार १०० मा कारोबार भएकोमा आजका लागि एक लाख ४१ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार ८२० मा कारोबार भएको थियो ।

काठमाडौंको रामकोटमा कलभर्टमा कार खस्यो, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको रामकोटमा कलभर्टमा एउटा कार खसेको छ । कलभर्टमा कार खस्दा एकजनाको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार बिहान करिब २ बजेतिर कार कलभर्टमा खसेको थियो । बा.प ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खस्दा त्यसका चालक अन्दाजी ५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहानीपखमात्रै कारलाई कलभर्टबाट बाहिर निकालिएको थियो ।

कायरोमा नेपालसम्बन्धी तस्बिर प्रदर्शनी

काठमाडौं । कायरोस्थित नेपाली राजदूतावासको समन्वयमा सोही दूतावासमा इजिप्टका कलाकारद्वारा नेपाली मुहार चित्रण शीर्षकमा कला तथा तस्बिर प्रदर्शनी आयोजना भएको छ। नेपाल–इजिप्ट द्विपक्षीय सांस्कृतिक आदानप्रदान प्रवर्द्धन कार्यक्रमअन्तर्गत तार, काठ र ढुंगाबाट सिर्जना गर्ने इजिप्टका कलाकार गलाल गोमाको प्रमुख आतिथ्यमा भएको प्रदर्शनीमा फोटो पत्रकार तथा वृत्तचित्र निर्माता अशरफ तलात र फोटोग्राफर यासेर अला मुबारकले नेपालमा खिचेका तस्बिर र मुहार चित्र एवं फौजी मोर्सीलगायत १८ जना कलाकारका मुहारचित्र राखिएको उक्त दूतावासका तृतीय सचिव माधवराज काफ्ले जानकारी दिए। प्रदर्शनीमा अशरफ तलातले गत मार्च र मेमा मुस्ताङ र लुम्बिनीमा खिचेका तथा यासेर आलाले गत शिवरात्रिमा पशुपतिनाथ मन्दिरको वरिपरि खिचेका तस्बिर समावेश गरिएका थिए। इजिप्टका सांसद डा.माई अल–बत्रानले नवीन अवधारणाको प्रयोगसहितको कला प्रदर्शनीले दुई मुलुकबीचको जनस्तरको सम्बन्धलाई सुदृढ गर्न टेवा पुग्ने धारणा व्यक्त गरे।  इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्सालले नेपालको विविधतापूर्ण परिदृश्य र सांस्कृतिक सम्पदा तथा नेपाली मुहारलाई जीवन्त रूपमा चित्रण गरिएको बताए ।  कलाकारका सृजनाले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई प्रवर्द्धनमा योगदान पुग्ने बताए। 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौंलगायत केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।  बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका  केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ | 

भरतपुर महानगरपालिकाको १५औँ नगरसभा सम्पन्न

भरतपुर। नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । असार १० गतेदेखि वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सकिएको हो।महानगरपालिकाले आर्थिक वर्ष  २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पास गरेको छ। १५ औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पारित गरेको छ। नगर सभा समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले सबै नगरबासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताए। भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उनको भनाई थियो। नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वन हुनेमा विश्वस्त रहेको प्रमुख दाहालले बताए। महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट बिनियोजन गरेका थिए। प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७  हजार, जनसहभागिता श्रमदानबाट रु ५० करोड, बैंक मौज्दात रु १ अर्ब ६० करोड,  सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ। बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि रु १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ। सभामा १५ जना सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राखेका थिए। यसै बीच नगर सभाको अवसरमा आर्थिक वर्ष ०८०/०८१ का असल करदातालाई पुरस्कृत तथा सम्मान गरिएको छ। मनोरन्जन करतर्फ  चितवन सिने प्यालेक्स, शिक्षातर्फ  ओमशान्ति एकेडेमी, घरबहाल करतर्फ  भाटभटेनी सुपरमार्केट, व्यवसायकरतर्फ न्यू चितवन ड्राइभिङ सेन्टर, वित्तीय संस्था एभरेष्ट बैंक, निर्माण व्यवसायीतर्फ रोयल चितवन बिल्डर्स प्रालि र सफल कृषकतर्फ बहानी सामुहिक कृषि फर्मलाई सम्मान गरिएको हो। यस्तै महानगरमा उत्कृष्ट कार्य सम्पादन गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक हासिल गर्ने  १५ खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको थियो।

लोकप्रिय