पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ : अध्यक्ष प्रचण्ड

पार्टीलाई सुदृढ र एकतावद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं। पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताएका छन्।

विसं २०५१ सालमा शहीद हुनुभएका तत्कालीन एकता(केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादवको स्मृतिमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्। उनले जनयुद्धको आधार तयार पार्न मधेशमा रामवृक्ष यादवको गुणात्मक योगदान रहेको बताए।

उनले भने, ‘रामवृक्ष यादव मधेशी जनताको आन्दोलनको बीचबाट जन्मिएको एक जना लोकप्रिय नेता हुनुहुन्थ्यो। उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि अति लोकप्रिय हुनुहुन्थ्यो। रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो। मधेशमा जनयुद्धको आधार तयार पार्न उहाँले असाध्यै महत्त्वपूर्ण भूमिका खेल्नुभयो।’

अध्यक्ष प्रचण्डले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले संघर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताए। उनले भने, ‘जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशंका जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन्। जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन। मैले सदन र सडकबाट संघर्षको विकल्प देखेको छैन। हामीले राम्रो काम गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन गरिएको छ। यो अपवित्र छ, यसको उद्देश्य गलत छ। पार्टीलाई सुदृढ गर्ने, अझ बलियो बनाउनेतिर हामी अगाडि बढेका छौं।’

अध्यक्ष प्रचण्डले अगाडि थपे, ‘स्थायी समिति बैठकमा खुला र गम्भीर छलफल गरिरहेका छौं। पार्टी थप सुदृढ गर्ने प्रक्रिया अगाडि बढेको छ। केन्द्रीय समितिको बैठकबाट व्यवस्थित कार्यक्रम र कार्ययोजना बनाएर अगाडि बढ्छौं।’ कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल लगायतका नेताहरू थिए।

राष्ट्रिय शिक्षा दिवसः देशभरिका कुन कुन विद्यालय भए उत्कृष्ट ?

 काठमाडौं । राष्ट्रिय शिक्षा दिवसका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालिकास्थित श्री मावि तुलसीपुर सेन्टरले ३ लाख नगदसहित प्रथम पुरस्कार पाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाको आधारमा उक्त विद्यालय देशभरमा प्रथम भएको शिक्षा मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिका त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविले दुई लाखसहित दोस्रो पुरस्कार प्राप्त गरेको छ । दाङकै जनकल्याण मावि शान्तिनगर तृतीय भएको छ । उक्त विद्यालयलाई १ लाख नगद पुरस्कार प्रदान गरिएको छ । निजी विद्यालयतर्फ काठमाडौं टोखाको फलोसेन्ट मावि प्रथम, विजेश्वरी ज्ञान मन्दिर सैनिक विद्यालय काठमाडौं १५ दोस्रो र बुढानीलकण्ठ स्कुल तेस्रो भएको शिक्षा मन्त्रालयले जनाएको छ । उनीहरूले पनि क्रमःश ३, २ र १ लाख नगद पुरस्कार पाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार काठमाडौंमा शिक्षा दिवस मनाइँदैछ । उत्कृष्ट विद्यालयलाई प्रधानमन्त्री ओलीले पुरस्कार प्रदान गर्ने मन्त्रालयका प्रवक्ता कमल पोखरलेलले जनाए । विश्वविद्यालय अनुदान आयोगले गरेको मूल्याङ्कनको आधारमा पोखरा विश्वविद्यालयअन्तर्गतको श्री स्कुल अफ बिजनेस कास्की आंगिक क्याम्पस मध्ये उत्कृष्ट ठहरिएको छ । क्याम्पसले साढे दुई लाख नगद पुरस्कार प्राप्त गरेको शिक्षा मन्त्रालयले जनाएको छ । सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस मध्ये ललितपुरस्थित चापागाँउको जनभावना क्याम्पस उत्कृष्ट भएको छ । त्रिभुवन विश्वविद्यालय अर्न्तगतको उक्त क्याम्पसले पनि साढे २ लाख नै पुरस्कार पाएको छ । निजीतर्फ त्रिविकै मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्स सोल्टीबोट राष्ट्रिय स्तरमा उत्कृष्ट भई पुरस्कार पाएको छ । प्राविधिक शिक्षालयतर्फ नेपाल बनेपा बहुप्राविधिक शिक्षालय काभ्रे, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट दाङ, जनता माध्यमिक विद्यालय कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स काठमाडौं उत्कृष्ट भएका छन् । उनीहरूले जनही १/१ लाख पुरस्कार पाएका छन् । दुई लाखको समाज कल्याण पुरस्कार श्री युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनोहरा काठमाडौं र श्री सि. आशा फाउन्डेसन ललितपुरलाई प्रदान गरिएको मन्त्रालयले जनाएको छ । सडक बालबालिका, एचआईभी एड्सका संक्रमित, विपन्न, अनाथ, अशक्त असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गर्दै आएकोमा ती संस्थालाई नगद २/२ लाखसहित पुरस्कृत गरिएको हो । शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पूर्‍याएका त्रिभुवन विश्वविद्यालय, संस्कृत, काठमाडौं, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालयका २५ जना अध्यापक तथा कर्मचारीलाई पुरस्कृत गरिएको छ । प्राविधिक शिक्षालयका ५ जना प्रशिक्षक कर्मचारी पनि पुरस्कृत भएको शिक्षा मन्त्रालयले जनाएको छ । सामुदायिक र निजी विद्यालयका शिक्षकहरु पनि पुरस्कृत भएका छन् । विद्यालय कर्मचारी व्यवस्थापन समितिका पदाधिकारी, बालबिकासका सहजकर्ता शिक्षकलाई पनि पुरस्कृत गरिएको छ । यस वर्ष दिवसका अवसरमा नेपाल विद्याभूषण पदक क बाट २६४ जना, विद्याभूषण पदक ख बाट ३५ र ग बाट २१ ज्ना विभूषित भएका मन्त्रालयले जनाएको छ । उनीहरूलाई पदक र प्रमाणपत्र भने पछि वितरण गरिने बताइएको छ । नेपाल छात्रापदकबाट १५ जना विभूति भएको शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले जनाए । विभिन्न तह र विषयका परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्राहरुलाई छात्रा पदक वितरण हुँदै आएको छ ।

देशभरि माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको छः प्रचण्ड

काठमाडौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ। बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताउनुभयो। आफूहरु परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिंदै उहाँले पार्टीप्रति जनआकर्षण बढ्दै गएको बताउनुभयो। ‘अरुबेला सरकार छाडेपछि कार्यकर्ता र समर्थकमा निराशाजस्ता देखिन्थ्यो तर अहिले भने सबैतिर उत्साह देखिएको छ’– उहाँले भन्नुभयो– ‘हामीलाई राम्रो काम गर्दागर्दै भ्रष्ट, माफिया र दलालहरुले हटाएको जनताले बुझ्दै गएका छन्, सरकारका पछिल्ला एकपछि अर्को विवादित कामले अझ बढी जनताले देशका लागि केही गर्ने त माओवादी नै रहेछ भन्ने बुझ्न थालेका छन्। यसलाई अवसरमा बदलेर अघि बढ्नुपर्छ।’ त्यसका लागि पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम बनाएर जाने बताउनुभयो। अब केही दिन र महिनाका लागि भन्दा पनि निरन्तर चल्ने अभियान बनाउनुपर्ने आवश्यक देखिएको उल्लेख गर्दै उहाँले सल्लाहकार र अग्रजहरुलाई आफूले देखेका र भोगेका अनुभवसहित परापमर्श दिन आग्रह गर्नुभयो। बैठकमा सहभागीहरुका धारणा सुनेपछि केन्द्रीय पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम छ। केन्द्रीय समिति बैठकको तयारी स्वरुप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक आयोजना गर्दै आएको छ। माओवादी केन्द्रले अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश, प्रदेश नम्बर १, मधेश प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र प्रवास प्रदेशअन्तर्गत एसिया संगठन समितिको परामर्श बैठक सम्पन्न गरिसकेको छ। अब प्रवास प्रदेशअन्तर्गतको अमेरिका र यूरोप संगठन समितिको बैठक बाँकी रहेको छ। परामर्श बैठकपछि प्रतिवेदन तयार गरेर केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने माओवादी केन्द्रले जनाएको छ। केन्द्रीय समितिको बैठकबाट सङ्गठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम ल्याउने माओवादी केन्द्रको तयारी छ।

पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पश्चगामी सोचका साथ आउने संविधान संशोधनका तर्क स्वीकार्य हुन नसक्ने बताउनु भएको छ। संविधान दिवसको सन्दर्भमा आयोजित संविधान कार्यान्वयनको वर्तमान अवस्था विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधानको कार्यान्वयन गर्दै अघि बढ्ने बेला पछि फर्किने सोच र तर्कलाई संविधान निर्माणकर्ता र संविधानले नै स्वीकार नगर्ने बताउनु भएको हो। "संविधानप्रतिको स्वामित्व र अपनत्व वृद्धि गर्दै समयानुकूल सुधार, परिमार्जन स्वभाविक प्रकृया हो। तर ती प्रक्रियाहरु प्राप्त उपलब्धिलाई रक्षा गर्दै थप उपलब्धिका लागि मार्ग प्रशस्त गर्ने दिशातिर हुनु जरुरी छ", अध्यक्ष दाहालले भन्नुभयो, "पछि फर्कने वा पश्चागामी सोचका साथ आउने तर्कहरु अग्रगामी संविधान निर्माण गर्नेहरु र यो संविधान स्वयंका लागि मान्य हुनै सक्दैनन्।" संविधान कार्यान्वयनका लागि बनाउनु पर्ने थुप्रै कानुनहरू अझैं बन्न नसकेको उल्लेख गर्दै अध्यक्ष दाहालले समयमा कानुन नबन्दा आएका समस्याले संविधान र संघीयता कार्यान्वयनका चुनौती थपिएको बताउनु भयो। संघीयताका कारणले जनताले पाउनु पर्ने सेवा सुविधा नपाउँदा देखिने असन्तुष्टिको सम्बोधन गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार, संसद र सबै तहका जनप्रतिनिधिहरू संविधान कार्यान्वयनका काममा गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो। संविधान कार्यान्वयनका आठ वर्षमा दुई/दुई पटक संघ, प्रदेश र स्थानीय तहको निर्वाचनमार्फत् जनादेश लिएर राज्य सञ्चालन भइरहेको बताउँदै अध्यक्ष दाहालले देशलाई संघीयकरण गर्ने, सामाजिक संरचनाहरुलाई गणतान्त्रिकरण गर्ने कामले संविधान कार्यान्वयनलाई सफल बनाउँदै लगेको बताउनु भयो। पछि पारिएका वर्ग, लिङ्ग, जाति र समुदायले राज्यका हरेक संरचनामा सहभागी हुन पाउने अधिकार स्थापित गर्नु संविधानको मुख्य उपलब्धि भएको अध्यक्ष दाहालले बताउनु भयो।   "स्थानीय तहमा ४० प्रतिशत र प्रदेश एवं संघमा एक तिहाई महिलाको प्रतिनिधित्वसहित दलित आदिवासी जनजाति, मधेश, पिछडिएको क्षेत्र, मुश्लिम लगायतका अल्पसंख्यक समुदायको समुचित प्रतिनिधित्व र राज्यका हरेक संरचनामा सहभागी हुने हक प्राप्त हुनु हाम्रो संविधानको मुख्य उपलब्धि हो", अध्यक्ष दाहालले भन्नुभयो, "विगतमा प्रतिनिधित्व नभएका वर्ग, क्षेत्र, समुदायको सकारात्मक विभेदसहितको विशेषाधिकारलाई संस्थागत गर्ने काम पनि यही संविधानले गरेको हो। विगतको राज्य संरचनाका कारणले हेपिएका, चेपिएका र पिछडिएका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको शासन सञ्चालनमा सकारात्मक हस्तक्षेप हाम्रो संविधानको महत्त्वपूर्ण उपलब्धि हो।" संविधान सभाबाट संघीयता र गणतन्त्रसहितको संविधान, समावेशी र धर्मनिरपेक्षता राष्ट्र निर्माण नेपाली जनताको चाहनाको प्रतिफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान दिवस मनाइरहँदा संविधानको सफल कार्यान्वयनका लागि गर्ने कार्यले विगतको आन्दोलनको सार्थकता र बलिदानप्रति सम्मान हुने बताउनु भयो। कार्यक्रम संघीय संसद सचिवालयसँगको सहकार्यमा नेपाल लेजिस्लेटिभ एकेडेमीले आयोजना गरेको थियो।

अखिल क्रान्तिकारी सुदूरपश्चिमको अध्यक्षमा थापा निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको सुदुरपश्चिम प्रदेश अध्यक्षमा वीरबहादुर थापा निर्वाचित हुनुभएको छ ।  उहाँ १३१ मतसहित विजयी हुनुभएको हो भने प्रतिष्पर्धी विरेन्द्रराज बिष्टले ११५ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा तिलक माल (१८५), कैलाशचन्द्र गिरी (१५७) र जीवन बिसी (१३८) बिजयी हुनुभएको छ भने समावेशी उपाध्यक्षमा राजेन्द्र कोली १०४ मतका साथ विजयी हुनुभएको छ । छात्रा उपाध्यक्षमा लक्ष्मी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ । प्रमुख सचिवमा देबीजङबहादुर सिंह १२८ मतसहित विजयी हुनुभएको छ भने शिवराज सञ्ज्यालले १०७ मत प्राप्त गर्नुभएको छ । सचिवमा प्रकाश आचार्य (१३१), मनोज पुन (१२३), रोहित जोशी (९८) र कमलबहादुर थापा (९१) निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा सुन्दर गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।  

लोकप्रिय