ओलीसँग वर्षमान पुनको प्रश्न- 'यो देश नेताले चलाउने कि बिचौलियाले ?'

ओलीसँग वर्षमान पुनको प्रश्न- 'यो देश नेताले चलाउने कि बिचौलियाले ?'

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव, सांसद वर्षमान पुनले कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार बिचौलियाले चलाउने शंका व्यक्त गरेका छन् । सरकार निर्माण गर्नुअघि गठबन्धन बनाउने बेलामा नै यसको पक्षमा सक्रिय भएका मानिसहरूको क्रियाकलापले देश कसले चलाउँदैछ भन्ने प्रश्न उठ्ने अवस्था देखिएको बताए । 

प्रधानमन्त्री केपी ओलीले मागेको विश्वासको मतसम्बन्धी प्रस्तावप्रति आइतबार प्रतिनिधिसभामा आफ्नो दलको धारणा राख्दै पुनले नेता र राजनीतिक दलले देश चलाउनुपर्ने बताएका हुन्।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलियाले चलखेल गरेको र त्यसमा ओलीले बिचौलियालाई साथ दिएको संकेत उनको थियो।आफूभन्दा अघि अर्थमन्त्री भएका काँग्रस नेता डा.प्रकाशशरण महत र आफूले बिचौलियाको चलखेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्न नसकेको भन्दै उनले नयाँ अर्थमन्त्री विष्णु पौडेलले के गर्छन् भन्ने हेर्ने बताए।

 ‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नलाई मभन्दा अगाडिको अर्थमन्त्रीले कोसिस गर्नुभयो।मैले पनि सकिन। अब अहिलेको अर्थमन्त्रीलाई त्यो जिम्मेवारी आएको छ।म यहाँ नढाँटीकन आमजनताका अगाडि भन्न चाहन्छु कि यो देश राजनीतिक दलले र नेताहरुले चलाउने हो कि बिचौलियाहरुले ?’, उनले भने, ‘यो जवाफ छिट्टै प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मेरो अपेक्षा नेताहरुले त्याग गर्नुभएको छ । बलिदान गर्नुभएको छ । जेल पर्नुभएको छ । युद्ध सबैबाट आउनुभएको छ । नेताहरुले देश चलाइदिनुस । पार्टीहरुले देश चलाइदिनुस् । बिचौलियाहरुले होइन ।’  पुनले आफ्ना अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले  सुशासन र भष्टाचारका मुद्धामा छानबिन र कारबाही अगाडि बढाएपछि काँग्रेस–एमाले मिलेको टिप्पणी गरे । 
उनले गिरिबन्धु ‘टी स्टेट’ र भुटानी शरणार्थी प्रकरणका विषयमा कारबाही अगाडि बढाएपछि सरकार ढलेको बताए । प्रतिपक्षमा रहँदा काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गिरीबन्धुको विषय उठाएको र परिवर्तित सन्दर्भमा पनि एजेण्डा छाड्दैनौं भनेको चर्चा गर्दै अब के हुन्छ भन्नेमा काँग्रेसलाई पनि प्रश्न उठाइने जनाए। ‘

कमरेड प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारको विभिन्न फाइलहरु खोज्ने, छानबिन गर्न गर्दा। त्यसै गरी नक्कली भुटानी शरणार्थीलगायत गिरिबन्धु टी स्टेटसम्मका कुराहरु उठ्दै गर्दा नेपाली काँग्रेसका महामन्त्रीज्यूहरुले हाम्रा एजेण्डाहरु छाड्दैनौं भन्नुभएको छ। त्यसमा निश्चिय पनि नेपाली काँग्रसलाई पनि प्रश्न हुन्छ’, उनले भने, ‘हिजो यही हाउसमा अपोजिशनमा हुँदा गिरिबन्दधु टी स्टेश गिरीबन्धु टी स्टेट भन्नुभएको थियो। 

यसमा के हुन्छ ? हामीले र नेपाली जनताले सही जवाफको अपेक्षा गरेका छन्।’ उनले दमकमा भ्यू टावर निर्माण गरी उर्जा(उत्पादनमा लगानी गरेको हो वा रोजगारी सिर्जनाको क्षेत्रमा लगानी गरेको भन्दै प्रश्न गरेका छन्। ‘विकासको मोडल कस्तो छ सम्माननीय प्रधानमन्त्री ज्यूको एक पटक फर्केर हेर्नुस् साढे तीन वर्षमा। दमकको भ्यू टावर कति अर्बको हो, प्रधानमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा भ्यू टावर सुरू गरेपछि देशैभरिका ७५३ पालिकाहरूले गाउँगाउँमा भ्यूटावर बनाउन सुरू भएको होइन?,’ उनले प्रश्न गरे, ‘नेतृत्वले उर्जा उत्पादनमा लगानी गरेको हो कि रोजगारी सिर्जना गर्नेमा लगानी गरेको हो?’ त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भन्दै विदेशबाट लिइएको ऋणलाई त्यसमा प्रयोग गरेको पनि आरोप लगाए। त्यस्तै प्रकृतिको काम गर्न नहुने पनि उनले बताए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रममा ऋण लिएर लगाएको अभ्यास छ। 

जसमा जंगलको झारहरू उखेल्दै, क्याप लगाउने, केही ड्रेस लगाएर हिँड्ने अनि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम भनेर केही कार्यकर्तालाई रोजगारी दिने अनि विदेशी ऋणलाई खर्च गर्ने ढंगले हुँदैन,’ उनले भने।

अध्यक्ष ढकाल पश्चिमाञ्चल विकास मञ्चद्वारा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई पश्चिमाञ्चल विकास मञ्चले सम्मान गरेको छ ।  मुलुकको अर्थतन्त्रको विकासमा पुर्याउनुभएको उल्लेखनीय योगदानका साथै साविकको पश्चिमाञ्चल विकास क्षेत्रमा जन्मिएर नेपाली उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षजस्तो उच्च पदमा पुग्न सफल भएकामा अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो ।  साथै सो मञ्चका निवर्तमान अध्यक्ष समेत रहनुभएका ढकालले मञ्चको संस्थागत विकासका क्षेत्रमा निर्वाह गर्नुभएको विशिष्ठ भूमिकाको कदरस्वरुप उहाँलाई सो सम्मान प्रदान गरिएको मञ्चले जनाएको छ ।   मञ्चको वार्षिक साधारणसभाका अवसरमा आज राजधानीमा आयोजित एक समारोहमा पूर्वप्रधानन्यायाधीश कल्याणराज श्रेष्ठले उहाँलाई उक्त सम्मान प्रदान गर्नुभएको थियो । कार्यक्रममा मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतका विशिष्ठ व्यक्तित्वहरुलाई  पनि सम्मान गरिएको थियो ।  नेपाल हाल संघीय शासन प्रणालीमा रुपान्तरित भएको भए पनि साविकको पश्चिमाञ्चल विकास क्षेत्रको विकास र प्रवर्धन हेतु स्थापित सो मञ्चले मुलुकको पश्चिमाञ्चल क्षेत्रमा जन्म भई राष्ट्रिय जीवनका उच्च पदमा पुग्न सफल व्यक्तित्वहरुलाई सम्मान गर्ने गर्दछ ।

दसैँका खसी बोका बिक्री सुरु

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि दशैँका लागि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु  गरेको छ। कम्पनीले जिउँदो खसीबोकाको मूल्य प्रतिकेजी ६ सय ७० रुपैयाँ र च्याङ्ग्राको एकहजार २३० रुपैयाँ मूल्य निर्धारण गरेको छ । उपभोक्ताका लागि उक्त मूल्यमा प्रतिकेजी १० रुपैयाँ छुट गरी क्रमशः ६६० र एकहजार २२० रुपैयाँ तोकिएको छ । काठमाडौंको थापाथलीस्थित प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हालसम्म २०८ वटा खसीबोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको जनाएको छ । यस्तै अन्य खसीबोका र च्याङ्ग्रा ल्याउने क्रम जारी रहेको कार्यलयको भनाइ छ । दशैँको समयमा कम्पनीले प्रत्येक वर्ष खसीबोका र च्याङ्ग्रा खरिद गरेर सुपथ मूल्यमा बिक्री गर्दै आएको छ। 

नेपालले कार्बन ब्यापारबाट प्राप्त गर्दै छ एक अर्ब ६० करोड

काठमाडौं । विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड प्राप्त गर्दै छ । सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ । नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा ६ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ । वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैंकसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउने गरी सम्झौता भएको थियो । अर्थ मन्त्रालयले मुलुकको कानुनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैंकले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए । कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवासी/जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ । 'यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ', प्रवक्ता ढुङ्गानाले भने । कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको  राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो । उक्त कार्यक्रम १३ जिल्लाका एक दशमलव सात मिलियन हेक्टरमा लागू भएको केन्द्रका प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिए । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर एक सय ६७ टन कार्बन सञ्चिति भएको छ । सहसचिव पुडासैनीले भने, 'नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब तीन करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ ।' ‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल पहिलो चरणको कार्बन व्यापारपछि नेपालका तर्फबाट ‘उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम’ (लिफ कोलिजन) सम्बन्धी प्रस्ताव पेस भई सन् २०२१ नोभेम्बर ३ मा हस्ताक्षर भएको थियो । लिफ कोलिजन बजारमुखी तथा नतिजामा आधारित संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, नर्वे र दक्षिण कोरियासहित २६ निजी कम्पनीको साझेदारी संयन्त्र हो ।

नेपालमा अवसर खोज्दै कतारका लगानीकर्ता

काठमाडौं । श्रमिक गन्तव्यको रुपमा मात्रै नभइ कतारका लगानीकर्ताले नेपालमा लगानीको अवसर पनि खोजिरहेको बताएका छन् । नेपालको सूचना प्रविधि, औषधि उद्योग, बैंक वित्तीय संस्था सम्बद्ध सेवाहरु, जलविद्युत, पर्यटन लगायतका क्षेत्रमा कतारका लगानीकर्ताहरुको रुची देखिएको छ । 'यहाँका लगानीकर्ता नेपालमा लगानीको अवसर खोजिरहेका छन,’ कतार चेम्बर अफ कमर्शका अध्यक्ष खालिफा बिन जसिम बिन मोहमद अल थानीले भन्नुभयो, हामी थप लगानीकर्ताहरुलाई पनि प्रोत्साहित गर्नेछौ ।’  नेपाल कतार बिजनेस काउन्सिलको पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष थानी र महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकाल एवं प्रतिनिधिमण्डलबीच बुधबार कतारको राजधानी दोहामा सम्पन्न वैठकमा आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल भएको हो ।  कतारका अमीर सेख तमीम बिन हमाद अल थानीको गत अप्रिल २३ र २४ मा सम्पन्न नेपाल भ्रमणका क्रममा महासंघ र कतार चेम्बरबीच बिजनेस काउन्सिल स्थापना गर्ने सहमतिमा हस्ताक्षर भएको थियो ।  काउन्सिलको यस पहिलो अध्यक्षस्तरिय वैठकमा अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष थानीले आआफ्नो नेतृत्वमा सदस्य नियुक्त गरी काउन्सिललाई छिट्टै पूर्णता दिने सहमति पनि भएको छ । त्यस लगत्तै नेपालमा कतार नेपाल बिजनेस सम्मेलन आयोजना गर्ने प्रस्ताव अध्यक्ष ढकालले राख्नुभयो । आगामी वर्ष उक्त कार्यक्रम आयोजना गर्ने सहमति पनि वैठकमा भयो ।  वैठकमा अध्यक्ष ढकालले नेपालमा वाह्य क्षेत्र स्थायित्व रहेको र कानुनहरुमा गरिएको सुधारले लगानीको अवसर जुट्दै गएको वताउनुभयो । साथै उहाँले कतारका लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, सीप बिकास लगायतका क्षेत्रमा पर्याप्त सम्भावना रहेकोले लगानीका लागि आव्हान गर्नुभयो । यसैगरि, कतार सरकारले आयोजना गरेको एसियन कोअपरेसन डायलगमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले सहभागिता पनि जनाउनुभयो ।

लोकप्रिय