थाइल्यान्ड र म्यान्मार सीमानजिकबाट १३ नेपालीको उद्धार
काठमाडौं । विगत लामो समयदेखि थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीको उद्धार गरिएको छ ।
थाइ परराष्ट्र मन्त्रालय, थाइ इमिग्रेसन ब्युरो र नेपाली राजदूतावास यांगोन समेतको समन्वयमा थाइल्यान्ड र म्यान्मार सीमानजिक म्यान्मारको म्यावड्डीमा समस्यामा परेका नेपालीलाई उद्धार गरिएको हो ।
नेपाली राजदूतावास बैंककले लामो प्रयासपश्चात म्यान्मारको उक्त क्षेत्रबाट उद्धार गरी नेपाल फिर्ता पठाउने कार्य गरिएको जनाइएको छ ।
"उल्लेखित १३ नेपाली नागरिकहरुलाई मिति २०८०।१२।९ का दिन राजदूतावासले थाइल्यान्डको मेइसोटसम्म कर्मचारी खटाई थाइ–म्यान्मार सीमा पार गराई थाइल्यान्डको मेइसोटतर्फ ल्याई त्यहाँबाट हवाइ यात्रामार्फत बैंकक हुंदै आजै नेपाल एयरलाइन्सको उडान नं RA 402 बाट काठमाडौं पठाइएको छ," नेपाली राजदूतावास बैंककले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
त्रिविका उपकुलपतिलाई एमालेनिकट विद्यार्थीहरुको अवरोध
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् । ३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि बराल कार्यालय जान छाडेका हुन् । बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर काम गर्ने गरेका छन् भने कहिलेकाहीँ घरबाटै पनि काम गर्दै आइरहेका छन् । गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा पनि उपकुलपति बराल रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए । उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् । उनीसहित केही विद्यार्थीले उनीमाथि मात्रै दोष थुपार्दै अवरोध गरेपछि उपकुलपतिको काममा बाधा पुगेको छ । उनीहरूले उपकुलपति कार्यालयअगाडि मागसहित कालो ब्यानर टाँसेका छन् । उपकुलपति बरालले अवरोधका कारण आफू कार्यालय जान नसकेको बताए ।
पश्चिम नेपालको बदलीले काठमाडौँसम्म असर
काठमाडौं । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताइन् । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उनले बताइन् । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।
मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द
काठमाडौं । मुग्लिङ-नौबिसे सडकखण्ड आज (आइतबार)देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँचदिनसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको नागढुङगा-मुग्लिन सडक आयोजनाले जनाएको छ। नागढुङगा-मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेको हो। सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ। दरइका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ। यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ। यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ। त्यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए। सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सबैमा अनुरोध गरेको छ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।