माओवादी र समाजवादी धारलाई एकताबद्ध गर्दै भ्रष्टाचारविरुद्ध आन्दोलन छेड्ने होः प्रचण्ड
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सम्पूर्ण माओवादी र समाजवादी धारलाई एकताबद्ध गरेर भ्रष्टाचार र व्यथितिविरुद्ध अभियान छेड्ने बताएका छन् ।
माओवादीको कोशी प्रदेश समितिको विराटनगरमा मङ्गलवार सम्पन्न सातौँ पूर्ण बैठकमा मन्तव्य दिँदै उनले माओवादी र समाजवादी धारलाई एकताबद्ध गर्ने बताए ।
‘विप्लवसँग पनि एकता गर्ने हो, किरणजीसँग पनि एकता गर्ने हो । कुरा भएको छ । अब फेरि सम्पूर्ण माओवादीधारहरु केन्द्रीकृत हुनुको विकल्प छैन । अब पार्टी एकता तिर जानु पर्छ । केही पार्टीहरूले त सैद्धान्तिक हिसाबले मिल्ने भनेर निर्णय नै गरिसकेका छन् । सकिन्छ भने समाजवादी मोर्चालाई नै पार्टी एकता संयोजन समिति बनाउने कोसिस हुन्छ । नभए समाजवादी मोर्चा बनाएर एमालेभित्र भूकम्प ल्याउनु पर्छ,’ प्रचण्डले भने, ‘एमालेलाई ठुलो धक्का दिन जरुरी छ ।’ उनले माओवादीलाई सहयोग गर्नेहरू विस्मृति तिर र विरोधीहरू स्मृतिमा आउन थालेका कारण पार्टी प्रदूषित भएको बताए ।
‘हामी चिन्तित र पीडित हुने । तर, नेतृत्वमा रूपान्तरण नआउने स्थिति बन्यो । त्यसकारण आफूले नै विद्रोहको सुरुवात गर्नुपर्छ भन्ने निष्कर्ष म पुगेको हो,’ प्रचण्डले भने ।
प्रचण्डले भ्रष्टाचारको विरुद्धमा अभियान चलाउँदा देशमा उभार आएको बताउँदै माओवादी र समाजवादी धारको एकता गरेर भ्रष्टाचारको विरुद्ध आन्दोलन छेड्ने बताए । प्रधानमन्त्री हुँदा चलाएको नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास र बाँसबारीको जग्गा काण्डमा प्रहार गर्दा दलालहरू आत्तिएको र सरकार ढालेको उनको भनाई थियो ।सरकार ढल्नुमा दुई जना बिचौलिया पक्राउ पर्नु र धितो पत्र बोर्डको अध्यक्ष चयन पनि कारण भएको उनले बताए । ‘अन्तिम समयमा दुई जना पक्राउ परेका थिए नि ?,’ बेचन झा र प्रतीक थापातिर लक्षित गर्दै प्रचण्डले भने, ‘त्यसपछि कनेक्सन बालकोट र बुढानीलकण्ठ तिर सोझियो । त्यसपछि त सरकार ढल्यो।’
अर्को कारण बताउँदै उनले थपे, ‘धितो पत्र बोर्डमा अर्बौँको चलखेल हुने रहेछ । त्यहाँ सेटिङ डरलाग्दो हुँदो रहेछ । शेरबहादुरसँग गठबन्धन हुँदा उनले पनि नामै तोकेर फलानो नियुक्ति गरे भन्थे । पछि केपीसँगको गठबन्धनपछि उनले पनि यही भन्ने । केपीले त यो नियुक्ति नगरे समीकरण नरहने भनेर खुल्ला चुनौती दिएका थिए । त्यो नाम शेरबहादुर र केपी दुवै जनाले लिएको एउटै नाम थियो । तर, ती मान्छे अनियमितता र लुटपाट मच्चाउने खालका थिए । त्यसकारण मैले नियुक्ति प्रक्रिया नै रद्द गरिदिएँ ।’ त्यसपछि जुन जुन घरमा मिटिङ भयो र सरकार ढाल्ने विषयमा कसको घरमा हस्ताक्षर भयो भनेर सबै सार्वजनिक भएको उनले बताए ।
आफू प्रधानमन्त्री र जनार्दन शर्मा उर्जामन्त्री भएको बेला नियुक्त गरेका कुलमान घिसिङले देशमा लोडसेडिङको अन्त्य गरेको भए पनि अहिले उनैलाई हटाउन सरकारले तयारी गरिरहेको प्रचण्डले दाबी गरे । ‘अब कुलमानलाई जसरी पनि हटाउने गरी सरकार लागेको छ । दलालसँग बसेर माइरेको कुराले पनि प्रस्ट कुरा भयो,’ उनले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई लक्षित गर्दै भने ।
उनले अब सदनमार्फत पार्टीले पाउने हकको विषयमा जमेर लड्ने बताए । ‘हामीले पाउने हक पनि दिएनन् भने हामी जमेर सङ्घर्ष गर्छौँ । भ्रष्टाचारविरुद्ध लागेका प्रहरी अधिकृतहरूलाई जथाभाबी सरुवा गरिएको छ । त्यसका विरुद्ध पनि हामी सङ्घर्ष गर्छौँ,’ पार्टी बैठकमा उनले भने, ‘हाम्रा पार्टीले जितेका १२२ वटा स्थानीय सरकारले नमुना काम गरेर जनतालाई देखाउँछौँ।’
जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेले हिजो दरबारमार्गमा गरेको जागरण सभा मेयर बालेन जस्तै स्टण्टवाजी गर्नेहरूलाई सचेत बनाउन गरिएको बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको आरोप लागाउँदै महासचिव पोखरेलले सो कुरा बताउनुभएको हो । शुक्रबारको एमाले सभापछि महानगरले जरिवाना पत्र काटेपछि मेयर शाह एमालेविरुद्ध परिचालित भएको पोखरेलले आरोप लगाउनुभयो । महासचिव पोखरेलले कार्यक्रम समापन पछि सङ्कलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको बताउनुभयो । ‘महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गर्दा स्वयंसेवकहरू कार्यक्रम स्थलमै फोहोर सङ्कलन गरेर गाडीमा राख्दै थिए । मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो तर पनि मेयरको ध्यान सरसफाइमा होइन जरिवानाको स्टन्डबाजीमा थियो, जुन समय अगावै सार्वजनिक गरियो’ महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ । उहाँले एमालेले कार्यक्रमपछि कार्यक्रमस्थल सफा गर्दछ भन्ने कुराको हेक्का मेयर बालेनलाई नभएको समेत बताउनुभयो । जागरणसभा यस प्रकारका स्टन्टवाजी गर्नेहरूलाई सचेत बनाउनका लागि पनि आयोजना गरिएको महासचिव पोखरेलले बताउनुभयो ।
दरबारमार्गमा जथाभावी फोहोर गरेको भन्दै एमालेलाई महानगरको जरिवाना पत्र
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर दरबारमार्गको वरिपरि जथाभावी छरिदिएको भन्दै काठमाडौं महानगरले एमाले पार्टी कार्यालय च्यासललाई रु १ लाख जरिवाना सहितको पत्र काटेको छ ।
एमालेले छरिदियो दरबारमार्गमा यत्रतत्र फोहोर (तस्बिरहरू)
काठमाडौं । नेकपा (एमाले)ले शुक्रबार आयोजना गरेको जागरणसभामा कार्यकर्ताहरूले गरेको फोहोर साँझ साढे ७ बज्दा पनि उठाएको छैन । फोहोर यत्रतत्र दरबारमार्गको वरिपरि छरिएर रहेको छ ।
कीर्तिपुर नगर चुनावमा माओवादीले सार्वजनिक गर्याे प्रतिवद्वता पत्र (पूर्णपाठ सहित)
काठमाडौँ ।मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा (माओवादी केन्द्र)ले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। चुनावी प्रतिबद्धतापत्र सार्बजनिक गर्ने कार्यक्रममा पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज तथा प्रबक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रिय नेताको सहभागिता रहेको छ । ‘कीर्तिपुरको समग्र विकास तथा समग्र सामाजिक जीवनलाई समुन्नत गर्न, अस्तव्यस्त कीर्तिपुरको अवस्थालाई व्यवस्थित गरी प्रगति र समृद्धितर्फ माथि उठाउन, सुशासन, सुव्यवस्था र सबैलाई समान न्याय प्रदान गर्न, भ्रष्टाचारको हिंजोदेखि जमेर बसेको बलियो जग भत्काएर भ्रष्टाचार पूर्ण नियन्त्रण गरी सबै जनतालाई सुन्दर सुशासनको प्रत्याभूति दिन जिम्मेवारीपूर्ण दायित्व वहन गर्ने शपथ लिनु भएका प्रा।डा।शिवशरण महर्जनलाई नगर प्रमुख पदका लागि यस उपनिर्वाचनमा विजयी गराउन हामी हार्दिक अपिल गर्न चाहान्छौं’, प्रतिबद्धतापत्रसहितको अपिलमा उल्लेख गरिएको छ । विकसित र समृद्ध कीर्तिपुर नगरपालिका बनाउन भ्रष्टाचार विरोधी स्वच्छ र पवित्र छविका उम्मेदवारलाई जिताए मात्र सम्भव हुने अपिलमा उल्लेख छ । के छ त प्रतिवद्वतापत्रमा ?