जनताको अधिकार रक्षाका लागि सडकमा जान तयार छौँ  : अध्यक्ष प्रचण्ड

जनताको अधिकार रक्षाका लागि सडकमा जान तयार छौँ  : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको बताएका छन्।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजिएको बताएका हुन् । 

संसद्को दुई ठूला दल मिलेर सरकार बनाउने विषय अस्वभाविक भएको भन्दै उनले अहिले दुईदलीय प्रणालीमा लैजाने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको उल्लेख गरे । 

प्रचण्डले संविधान संशोधनमा आफूहरूको विरोध नभएको तर संविधान संशोधनका नाममा प्रतिगमनतर्फ लैजाने प्रवृत्तिको विरोध भएको धारणा राखे । उनले जनताको अधिकार रक्षा गर्नका लागि आवश्यक परे सडकमा जान पनि तयार रहेको बताए । प्रचण्डले नेपालको समाजवादको आधारका लागि कम्युनिष्ट पार्टीको एकताको प्रयास निरन्तर गर्नुपर्ने धारणा राखे ।

एमालेभित्र पनि ठूलो देशभक्तहरूको पङ्क्ति अझै रहेको भन्दै उनले एमालेमा रहेका कम्युनिष्ट क्रान्तिकारीलाई एकतावद्ध गर्नका लागि चिन्तनमनन गर्नुपर्ने उल्लेख गरे । 

प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा संघर्ष आवश्यकः  प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिका हर्कतहरु भइरहेको उल्लेख गर्दै यसविरुद्ध फेरि एउटा संघर्ष आवश्यक भएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिदद्वय सुरेश वाग्ले ‘बासु’ र भीमसेन पोख्रेल ‘वैरागी’को २५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले जनताको बलिदान र अधिकारविरुद्ध भइरहेको प्रतिक्रान्तिका प्रयासका विरुद्ध संघर्ष गर्नुपर्ने स्थिति आएको बताउनुभयो । क्रान्तिका उपलब्धिलाई उल्ट्याउन निकै कसर भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले क्रान्तिकै बलमा स्थापित व्यवस्थाको उपभोग गरेकाहरुले नै बढी क्रान्ति र क्रान्तिकारी आन्दोलनको अपमान गर्ने प्रयास गरिरहेको बताउनुभयो । ‘हामीले गरेको परिवर्तनकारी र बलिदानीपूर्ण जनयुद्धलाई संविधानमा जनताको सशस्त्र संघर्ष र त्यसको ब्याख्यात्मक टिप्पणीमा माओवादी जनयुद्ध भनेर लेखेका छौं’– उहाँले भन्नुभयो– ‘तर, जसको मुख्य कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो, त्यही व्यवस्थामा बसेर जनयुद्धलाई नै अपमान गर्ने काम भइरहेको छ । त्यसका विरुद्ध संघर्षको संकल्प गर्नुको नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।’ आफूहरु शान्ति प्रक्रियामा सहभागी हुनुअघि नै क्रान्ति भिन्न रुपमा जारी रहने बताएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हामीले जनयुद्धमा हुँदा र १२ बुँदे समझदारी गर्दा नै भनेका थियौं– गणतन्त्र त अब आउँछ नै, तर यसलाई दलाल पूँजीपति र नोकरशाहीहरुले आफ्नो विशेषताको बुर्जुवा गणतन्त्र बनाउने प्रयास गर्नेछन् भने हामीले जनताको गणतन्त्र बनाउने कोशिस गर्नेछौं । त्यहाँनेर गएर फेरि अर्को संघर्ष हुन्छ भनेका थियौं, अब राजनीतिक त्यतै जाँदैछ । दलाल पूँजीपति र नोकरशाहीहरुसँग संघर्ष सुरु भएको छ । जनतालाई साथमा लिएर फेरि एउटा संघर्ष अघि बढाउनैपर्छ ।’ नेपाली मौलिकतामा पूजीवादी जनवादी क्रान्ति सफल भएपछि अब समाजवादी क्रान्तिमा अघि बढ्दा दलाल पूँजीपति, नोकरशाही वर्ग र सामन्ती अवशेषका विरुद्ध संघर्ष अपरिहार्य रहेको स्पष्ट गदर्दै उहाँले विचार, राजनीतिक एजेण्डा र क्रान्तिकारी विरासतमा आफूहरु बलियो भएकाले संघर्षमा विजय प्राप्त गरेरै छाड्ने बताउनुभयो । जनयुद्ध सुरु हुनअघि भएको रामवृक्ष यादवको बलिदानले देशभरिका युवालाई क्रान्तिमा लाग्न उत्प्रेरित गरेको र त्यसपछिका सबै सहादतहरुले क्रान्तिकारीहरुलाई प्रतिशोधको भावनासहित अघि बढाउन सहयोग गरेको पनि उहाँले बताउनुभयो । सुरेश वाग्ले पार्टी जिम्मेवारीको हिसाबले सबैभन्दा माथिल्लो तहमा भएको अत्यन्त सचेत, योग्य र लोकप्रिय शिक्षकको रुपमा पनि स्थापित व्यक्तित्व भएको उल्लेख गर्दै उहाँले वाग्लेको सहादतपछि पार्टीलाई ठूलो क्षति भए पनि सिंगो पार्टीपंक्तिमा बलिदानी भाव पनि त्यहीअनुसार उच्चस्तरबाट वृद्धि भएको बताउनुभयो । तत्कालीन सरकारले जनयुद्धलाई केही वर्षमा समाप्त पार्ने उद्देश्यसहित विभिन्न दमनका अभियानका चलाएको भए पनि सहिदहरुको बलिदानका कारण जनयुद्ध झनपछि झन् शक्तिशाली हुँदै गएको उहाँले स्पष्ट गर्नुभयो । यसप्रकारका उच्च बलिदानीले युवा क्रान्तिकारीहरुलाई क्रान्तिमा होमिन प्रेरित गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले त्यसपछि नै हजारौं युवाहरु जनमुक्ति सेनामा भर्ती भएर जनयुद्धलाई नयाँ उचाईँमा उठाउने अवस्था सिर्जना भएको बताउनुभयो । उहाँले सुरेश वाग्लेले पार्टीभित्रका अन्तरसंघर्षमा सन्तुलित र सही लाइनको पक्षमा आफूलाई उभ्याएको र नेतृत्व केन्द्रिकरणमा जोड दिने गरेको स्मरण गर्दै वाग्लेले आफ्नो चरित्र र विशेषताका कारण नैतिक बल र बौद्धिक क्षमताका आधारमा बहस गर्ने गरेकाले आजको पुस्ताले त्यसबाट पनि सिक्नुपर्ने बताउनुभयो ।

नेपालबाट बिहारमा पहिलोपटक ४० मेगावाट बिजुली निर्यात सुरु

काठमाडौं ।  नेपालले पहिलो पटक भारतको बिहार राज्यलाई पनि बिजुली बेच्न सुरु गरेको छ । बिहारमा बिजुली निर्यात सुरु गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । बिहारमा ४० मेगावाट बिजुली निर्यात सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । कटैया–कुशहवा प्रसारण लाइनबाट ४० मेगावाट निर्यात गर्न सुरु गरेको जानकारी दिंदै उहाँले बिहारमा १२५ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति पाइसकेको र बिस्तारै परिमाण बढाउँदै लैजाने बताउनुभयो । प्राधिकरणले आन्तरिक खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् हरेक वर्ष जुनदेखि अक्टोबरसम्म बिहार र हरियाणालाई बिक्री गर्नेछ ।  प्राधिकरणले सुक्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा गत आर्थिक वर्षमा भारतबाट १ अर्ब ८९ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् आयात गरेको थियो । तर यही अवधिमा १ अर्ब ९५ करोड युनिट विद्युत् भारतर्फ निर्यात गरी १७ अर्ब ६ करोड रुपैयाँ आम्दानी गरेको थियो । गत आर्थिक वर्षमा आयातभन्दा १३ करोड रुपैयाँको बढीको विद्युत् निर्यात भएको थियो ।

ओलीले समाजवादको भाष्य बिगारेः भुसाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाउनुभएको छ । हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पछिल्लो दुई वर्षयता पपुलिजम हावी भएको बताउनुभयो ।  आजै रेल आउँछ, टावर बनाएर समाजवाद आउँछ भन्नेजस्ता ओलीको अभिव्यक्तिले समाजवादको भाष्य बिगारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्लो दुई वर्षमा पपुलिजमले हाम्रो समाजवाद बिगार्‍यो । व्यक्तिगत दोषारोपण पनि सुनिनसक्छ । हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो। चुच्चे रेल आउँछ, दुई वर्षमा काठमाडौंमा आउँछ, अर्को वर्ष बेनी जान्छ, उहाँले चुच्चे रेल र टावरहरुसँग जोडेर भाष्य बिर्गादिनुभयो ।’ उहाँले हाम्रो जस्तो समाजमा सबै मान्छे प्युअर हुँदैन, तर मूलभूत रुपले दलाल पुँजीवादबाट मुक्त भएको नेता होस्, त्यस्तो पार्टी होस् । घुस खाने मान्छे उत्पादन नगर्ने पार्टी निर्माण नगरेसम्म कुनै कुरामा आत्मनिर्भर हुन नसक्ने बताउनुभयो । उहाँले भ्रष्टहरु पालितपोषित भएर नेताहरु बनिरहेको बताउनुभयो ।  

नेवारी सभ्यता समाजवादसँग मिल्दोजुल्दोः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवारी सभ्यताभित्र रहेको साझापन र आत्मनिर्भर अर्थतन्त्रको अभ्यास समाजवादी व्यवस्थासँग मिल्दोजुल्दो भएकाले यसलाई अझै प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको बाह्र वर्षे मेलाको समापन गर्दै उहाँले नेवाः सभ्यताको मौलिकतालाई कायम राख्दै नेवारी संस्कृतिलाई पर्यटन र आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताउनुभयो । गणराज्यकै झल्को दिने गरी नेवार समुदायमा रहेको आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्दता अनि सांस्कृतिक मौलिकपनलाई समाजवादी व्यवस्थाको भ्रुणको रुपमा औल्याउँदै उहाँले यसले नेवा सभ्यताको संरक्षणमा मात्र नभई समग्र मुलुककै संस्कृति संरक्षण र समाज व्यवस्थाका लागि महत्वपूर्ण योगदान दिइरहेको स्पष्ट गर्नुभयो । मुलुकको आर्थिक विकास, सामाजिक सौहार्दता र संस्कृति संरक्षणको क्षेत्रमा मात्र नभई नेवाः समुदायले मुलुकको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, खासगरी दश वर्षे महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा नेवाः समुदायले गरेको योगदान अवस्मरणीय र अद्धितीय छ । यही योगदानकै फलस्वरुप हामीले नेपालको संविधानमार्फत सबै जाति, क्षेत्र, लिंग, भाषा, समुदायका अधिकार सुनिश्चित गरेका छौं र अहिले अहिले कार्यान्वयनको चरणमा छौं । अब पनि सुशासन, सामाजिक न्याय र समृद्धिहुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न यो समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । नेवारी सभ्यता विविधतापूर्ण भएको र त्यसमा पनि अझ नेपालमण्डलकै एक मौलिक प्राचीन वस्ती खोकना पृथक सांस्कृतिक पहिचानसहित स्थापित रहेको औल्याउँदै अध्यक्ष प्रचण्डले देशभरमै फरक पहिचानका साथ लाग्ने १२ वर्षे मेला मुलुककै महत्वपूर्ण संस्कृतिको रुपमा रहेको बताउनुभयो । भुटेको तोरीको तेलका लागि प्रशिद्ध खोकनाले नेपालमै पहिलोपटक बिजुली बत्ती बलेको ठाउँको रुपमा पनि पनि आफ्नो पहिचान स्थापित गरेको उल्लेख गर्दै उहाँले आफ्नै उत्पादन, आफ्नै ब्यापार, आफ्नै भेषभुषासहित खोकनाबासीले सबै क्षेत्रमा मौलिकता स्थापित गर्न सफल हुनु मुलुकमै नमुनायोग्य भएको बताउनुभयो ।  सामाजिक एकता, भाषा संस्कृतिको संरक्षण, मूर्त र अमूर्त संस्कृतिको प्रवर्धन गर्न नेवाः समुदायले निर्वाह गरेको भूमिकालाई राज्यले यथेष्ट सम्मान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । खोकनालाई नेपालमा मात्रै होइन, अन्तर्राष्टियस्तरमै स्थापित गर्न आवश्यक छ रहेको औल्याउँदै पुरातत्वविद्, इतिहासकार र अन्वेषकहरुको सहयोगमा विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने उद्देश्यसहित स्थानीय सरकारले पहल लिनुपर्ने अध्यक्ष प्रचण्डले बताउनुभयो ।  आफूहरुले नेवाः सभ्यतालाई स्थापित गर्न आफूले महत्वपूर्ण काम थालेका स्मरण गराउँदै उहाँले आफू पहिलोपटक प्रधानमन्त्री भएको बेला २०६५ सालमा नेपाल संवतलाई राष्टिय संवतको मान्यता प्रदान गर्ने घोषणा गरेको र पछिल्लोपटक सरकारको नेतृत्व गरेको बेला २०८० कार्तिक २७ गतेको मन्त्रिपपरिषद् बैठकबाट नेपाल संवतलाई हरेक सरकारी कागजातमा उल्लेख गर्ने व्यवस्था मिलाएको जानकारी दिनुभयो । अहिले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा हुनु थप ऐतिहासिक काम भएको अध्यक्ष प्रचण्डको भनाइ थियो ।

लोकप्रिय