भरतपुर महानगरपालिकाको १५औँ नगरसभा सम्पन्न
भरतपुर। नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । असार १० गतेदेखि वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल सभाहलमा सुरु भएको नगर सभा बुधबार नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पास भएपछि सकिएको हो।महानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पास गरेको छ।
१५ औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पारित गरेको छ।
नगर सभा समापन कार्यक्रममा महानगर प्रमुख रेनु दाहालले सबै नगरबासीको एकताले समृद्ध नगर निर्माण गर्न सहयोग पुग्ने बताए। भरतपुरको विकासको लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक र रचानात्मक प्रतिस्पर्धा हुन आवश्यक रहेको उनको भनाई थियो। नीति तथा कार्यक्रमलाई पूर्ण रुपमा कार्यन्वन हुनेमा विश्वस्त रहेको प्रमुख दाहालले बताए।
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी महानगरको आर्थिक वर्षको बजेट बिनियोजन गरेका थिए। प्रस्तुत बजेटमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु २ अर्ब ४ करोड ६३ लाख ३१ हजार, संघ राजस्व बाँडफाँडबाट रु ३२ करोड ४७ लाख तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँडबाट रु २५ करोड ७५ लाख ६७ हजार गरी जम्मा रु ५८ करोड २२ लाख ६७ हजार, जनसहभागिता श्रमदानबाट रु ५० करोड, बैंक मौज्दात रु १ अर्ब ६० करोड, सडक बोर्ड नेपालबाट रु ३ करोड रहने प्रक्षेपण गरिएको छ।
बजेट प्रस्तुत गर्दै अधिकारीले सामाजिक सुरक्षालगायत अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित रु १ अर्ब ३० करोड रहने प्रक्षेपण गरिएको बताउनुभयो । चालु आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत एवं बहुवर्षीय ठेक्का भएका योजनाहरु समयमै सम्पन्न गर्नको लागि रु १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ।
सभामा १५ जना सदस्यहरुले महानगरपालिकाको विकास निर्माण जनताको माग र चाहनाका साथै कार्य सम्पादनमा भए गरेका समस्याका बारेमा आआफ्नो धारणा राख्नुका साथै प्रस्तावित नीति, कार्यक्रम र विधेयकमाथि आफ्नो सुझाव राखेका थिए।
यसै बीच नगर सभाको अवसरमा आर्थिक वर्ष ०८०/०८१ का असल करदातालाई पुरस्कृत तथा सम्मान गरिएको छ। मनोरन्जन करतर्फ चितवन सिने प्यालेक्स, शिक्षातर्फ ओमशान्ति एकेडेमी, घरबहाल करतर्फ भाटभटेनी सुपरमार्केट, व्यवसायकरतर्फ न्यू चितवन ड्राइभिङ सेन्टर, वित्तीय संस्था एभरेष्ट बैंक, निर्माण व्यवसायीतर्फ रोयल चितवन बिल्डर्स प्रालि र सफल कृषकतर्फ बहानी सामुहिक कृषि फर्मलाई सम्मान गरिएको हो।
यस्तै महानगरमा उत्कृष्ट कार्य सम्पादन गर्ने २३ जना कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक हासिल गर्ने १५ खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको थियो।
एनपिएलको पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ
काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि दुई करोड ११ लाख रुपैयाँ हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले जनकपुर बोल्ड्स र विराटनगर किङ्सबीचको उद्घाटन खेलअघि उक्त जानकारी दिएको हो। क्यानका अनुसार विजेता टोलीले एक करोड ११ लाख रुपैयाँ पाउने छ। यो कुनै पनि राष्ट्रिय प्रतियोगिताकै सर्वाधिक पुरस्कार राशि हो। यसअघि २०७१/०७२ को राष्ट्रिय लिग विजेता थ्री स्टार क्लबलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कीर्तिमानी पुरस्कार एक करोड दिएको थियो। उक्त कीर्तिमान एनपिएलले तोडेको हो। यस्तै, एनपिएलमा दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउने भएका छन्। तेस्रोलाई ३० लाख र चौथो हुनेलाई २० लाख रुपैयाँ दिने क्यानले जनाएको छ। यसरी क्यानले समग्रमा एनपिलको पुरस्कार राशिमा क्यानले दुई करोड ११ लाख रुपैयाँ खर्च गर्ने भएको हो।
आज बाला चतुर्दशी पर्व, देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो
काठमाडौं । आज बाला चतुर्दशी पशुपतिनाथसहित मुलुक भरका शिवालयमा शतबीज छर्नेको घुइँचो लागेको छ। विशेषगरी पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो। शतबीज छर्नुअघि हिजो साँझ उनीहरुले पितृको सम्झनामा दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका थिए। रातभर जाग्राम बस्ने र भोलिपल्ट ब्रम्हामुर्हतमा बागमतीमा बत्ती बगाउने परम्परा छ। यसपछि स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गरिन्छ। शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ।पशुपतिनाथमा आउन नसक्नेहरुले नजिकैका शिवालयमा बत्ती बालेर त्यहीँ शतबीज छर्ने गरेका छन्। पञ्चांगका अनुसार शनिबार बिहान १० बजेर १ मिनेटसम्म मात्र चतुर्दशी तिथि छ। त्यसपछि औँसी तिथि लाग्छ।
रुकुमपूर्वमा महिलाले बाटोमै जन्माइन् बच्चा
रुकुमपूर्व । रूकुम पूर्वकाे सिस्ने गाउँपालिका १ कि एक महिला बाटाेमै सुत्केरी भएकी छिन । सुत्केरी ब्यथाले च्यापेपछि पैदल हिडेर सिस्ने स्वास्थ्य चाैकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २४ वर्षिया माया बुढाले बिच बाटाेमै पाखापानी भन्ने ठाउँमा छाेरीलाई जन्म दिएकाे वडा सचिव चन्द्रदेव खड्काले जानकारी दिनुभयाे । उहाँकाे याे दाेस्राे सन्तान हाे । सिस्ने स्वास्थ्य चाैकीबाट गएका स्वास्थ्यकर्मीले बाटाेमै सुत्केरी बनाएका हुन । बाटाेमै सुत्केरी व्यथाले च्यापेकाे खबर पाएपछि सिस्ने स्वास्थ्य चाैकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर जानुभएकाे थियाे । बाटाेमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मी सहितकाे टाेलीले आमा र शिशुलाई बाेकेर स्वास्थ्य चाैकी पुर्याएकाे सचिव खड्काले बताउनुभयाे । उहाँका अनुसार आमा र शिशुकाे अवस्था सामान्य रहेकाे छ । २४ घण्टाकाे निगरानी पश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएकाे उहाँले बताउनुभयाे । सिस्ने गाउँपालिका वडा नम्बर १ सडक सञ्जालमा जाेडिन सकेकाे छैन । एउटा मात्र स्वास्थ्य संस्था रहेकाे यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टाैं पैदल हिड्नुपर्ने बाध्यता रहेकाे छ । जिल्ला अस्पताल रूकुमकाेट पुग्न १ देखि २ दिनसम्म पनि पैदल हिड्नुपर्ने बाध्यता छ ।
एमालेका पूर्वमन्त्रीलाई मुद्दा एमालेका पूर्वमन्त्रीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च रिट दायर
काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि १० मंसिरमा हिरासतमुक्त गरिएको थियो । मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।