मुगुको लिब्रुगाउँमा गाडी पुग्दा बाजागाजाले स्वागत
मुगु । मुगुको उत्तरी सोरु गाउँपालिकाका– ४ लिब्रुमा पहिलोपटक गाडी पुग्दा स्थानीय खुसी भएका छन् । सोरु गाउँपालिकाको केन्द्र सोरुकोट मसिनमेला हुँदै लिब्रु सडकको १३ किलोमिटर ट्र्याक खुलेसँगै बिहीबार पहिलोपटक लिब्रुमा गाडी पुगेको हो ।
यो सडक निर्माणमा सोरु गाउँपालिका, कर्णाली प्रदेश सरकार र स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत करिब दुई करोड लगानी भएको छ । बिहीबार सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लले संयुक्त रूपमा सडक उद्घाटन गरे । उद्घाटन कार्यक्रममा बोल्दै सोरु गाउँपालिकाका अध्यक्ष शाहीले चुनावका वेला कर्णाली करिडोर जोड्ने र गाउँ–गाउँमा विद्युत् र सडक पुर्याउने प्रतिबद्धता गरेको स्मरण गरे ।
सोरु गाउँपालिकामा ११ वडाका ५६ बस्तीमध्ये अधिकांश वडाका बस्तीमा सडक सञ्जाल जोडिएको छ । हरेक वडा–बस्तीमा सडक जोड्ने लक्ष्यअनुसार करिब ५० बस्तीमा सडक पुगेको र बाँकी बस्तीमा आगामी वर्षसम्म जसरी भए पनि सडक पुर्याउने अध्यक्ष शाहीले बताए । यो सडकको हुम्लामा बेलिब्रिजको व्यवस्थापन गरी कर्णाली करिडोरमा पनि जोडिने उनले बताए ।
सोरुकोट–मसिनामेला हुँदै लिब्रु जोड्ने सडकले पालिकाका नागरिकलाई मात्र नभई हुम्लाका नागरिकलाई पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । हुम्लाका सर्केगाडा, अदानचुली र चंखेली गाउँपालिकाका स्थानीयले पनि यो सडकबाट लाभ लिनेछन् ।
उनीहरूलाई बैंकिङ सेवा लिन हुम्ला सदरमुकाम सिमीकोट जानुभन्दा सोरुकोट आउन सहज हुने सोरु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताए । सोरुकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा छ । स्वास्थ्य उपचार तथा व्यापारमा पनि यो सडकले सहजता प्रदान गर्ने शाहीले बताए ।
गाउँपालिकाको लिब्रुमा सिमी, मास, केराको राम्रो उत्पादन हुने गर्दछ । यातायातको सुविधा नहुँदा यसले राम्रो बजार पाएको थिएन । गाउँमै गाडी पुगेपछि गाउँमा उत्पादित फलफूल र तरकारीको बजारीकरण सहज हुने स्थानीय अगसरा शाहीको विश्वास छ ।
माओवादी केन्द्र पुथाउत्तरगंगामा निर्वाचन, अध्यक्षमा संगम रोका विजयी
रुकुमपूर्व । नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगा गाउँपालिका रुकुम पूर्वको तेस्रो अधिवेशन सम्पन्न भएको छ । पालिकाको केन्द्र तकमा तीन दिनसम्म चलेको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । अध्यक्षमा संगम रोका निर्वाचित हुनुभएकाे छ । अध्यक्ष पदको लागि संगम रोका र गंगा पुन, सचिवमा राजकुमार सुनार र शुक्रराज विक तथा कोषाध्यक्षमा दलप्रसाद रोका र देविका सुनारको उम्मेदवारी परेकाे थियो । २३ मत प्राप्त गरेर संगम रोका अध्यक्षमा निर्वाचित हुनभएको हो । रोकाका प्रतिस्पर्धी गंगा पुनले २१ मत प्राप्त गर्नुभयाे । यस्तै सचिवमा राजकुमार सुनारले १७ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी शुक्रराज विकले १२, मैत्या घर्तीले १० तथा उज्वल सेनले ५ मत प्राप्त गरेको निर्वाचन अधिकृत कलिभान बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार कोषाध्यक्षमा दलप्रसाद रोकाले २७ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी देविका सुनारले १७ मत प्राप्त गर्नुभएको थियो । उपाध्यक्षमा थमन बुढा, रामकुमारी बुढा र रजग सुनार तथा सह सचिवमा लाेकेन्द्र पुन सर्वसम्मत निर्वाचित हुनुभएकाे छ । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदको लागि निर्वाचन भएको थियो भने अन्य पदमा सर्वसम्मत टुंगिएको हो । सर्वसम्मत रुपमा नेतृत्व चयन हुन नसक्दा निर्वाचन गरिएको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ । यो सँगै जिल्लाका तीन वटै पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन भएको छ । सिस्ने र भूमेमा सर्वसम्मत नेतृत्व चयन भएकाे थियाे ।
बझाङमा जीप दुर्घटना, चालकसहित पाँच जनाको मृत्यु
बझाङ । बझाङमा भएका दुई वटा छुट्टाछुट्टै जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको से १ ज ८४३ नम्बरको जीप तलकोट गाउँपालिका–२ सुकगाडमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा जीप चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीको छोरी पाँच वर्षीया आकृती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए । दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । यस्तै, शुक्रबार राति नै करिब नौ बजे तिर मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ आउदै गरेको सु.प.प्र.०१००१ ज १३९८ नं.को जीप कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जीप चालक धर्म थापाको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चालक मात्रै सवार रहेको उक्त जीप सडकबाट एक सय मिटर तल खसेको प्रहरी सहायक निरिक्षक जय बहादुर डाँगाले बताए ।
माओवादी केन्द्र आठबीसकोटमा नेतृत्व चयन गर्न निर्वाचन, अध्यक्षमा बटाला
रुकुमपश्चिम । नेकपा (माओवादी केन्द्र) आठविसकोट नगरपालिकाको नयाँ नेतृत्व निर्वाचन मार्फत टुङगिएको छ । शनिबारबाट सुरु भएको तेस्रो नगर अधिवेशनमा सहमतिबाट नेतृत्व चयन हुन नसक्दा निर्वाचन प्रक्रिया मार्फत सोमबार नयाँ नेतृत्व टुङगिएको हो । अध्यक्ष, उपाध्यक्ष र सह-सचिवमा मतदान भएको थियो । अध्यक्ष पदमा मनिराज बटालाले २३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी धनबहादुर बस्नेतले १३ र टिकाराम सुनारले ११ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा ३२ मत प्राप्त गरी खुम्बे कुसारी, २८ मत प्राप्त गरी सिता शाह र २७ मत प्राप्त गरी टेकबहादुर थापा विजयी हनुभएको छ । उहाँका प्रतिस्पर्धी केशरमान विकले २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सह-सचिवमा खुमराज ओलीले २८ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी कविराम विकले १५ मत प्राप्त गर्नुभयो । जम्मा ४८ मत खसेको थियो । सचिवमा दलजित विक र कोषाध्यक्षमा रुपा विक निर्विरोध निर्वाचित हुनुभएको छ । ६ जना पछि थप्ने गरी ४९ सदस्यीय नगर समिति निर्माण गरिएको नव निर्वाचित अध्यक्ष मनिराज बटालाले जानकारी दिनुभयो ।
माओवादी केन्द्र सानीभेरीको अध्यक्षमा पुनः पुन
रुकुमपश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिम सानीभेरी गाउँपालिकाको अधिवेशन सकिएको छ । नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो । अधिवेशनबाट पुनः धर्मबहादुर पुनको अध्यक्षतामा ४५ सदस्यीय नयाँ गाउँपालिका समिति गठन भएको छ । जसको उपाध्यक्षमा इन्दिरा ओली, दीपक बाँठा र वीरसिंह विक, सचिवमा बालकृष्ण विक, सह सचिवमा बालकुमार नकाल र कोषाध्यक्षमा चक्र केसी निर्वाचित हुनुभएको छ । नेतृत्व सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र सानीभेरी गाउँपालिकाले जनाएको छ । अन्य पालिकाहरूमा अधिवेशन चलिरहेको छ । हिजोबाट सुरु भएको अधिवेशन अन्तगत पाँच पालिकामा बन्द सत्र सुरु जारी रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । नयाँ नेतृत्व चयन गर्दै पालिका अधिवेशन आज सकिने छन् । ३ नगरपालिका र ३ गाउँपालिका रहेको रुकुम पश्चिमका सबै पालिकाहरूमा अधिवेशन एकै दिन हिजोबाट सुरु भएको हो । पालिका अधिवेशनका लागि जिल्ला तहमै पहिलो पटक पालिका अधिवेशन कार्यविधि २०८१ बनेर जिल्ला समिति बैठकबाट पारित भई कार्यान्वयन आएको छ । जसले अधिवेशन सहज र विधिसम्मत नेतृत्व चयनमा सहयोग पुग्ने विश्वास लिइएको छ । अधिवेशनको लागि मुसिकोट नगरपालिकामा केन्द्रीय सदस्य गोपाल शर्मा, आठविसकोट नगरपालिकामा केन्द्रीय सदस्य वसन्त शर्मा, चौरजहारी नगरपालिकामा जिल्ला संयोजक गोविन्द रोका, सानीभेरी गाउँपालिकामा नरबहादुर पुन, त्रिवेणी गाउँपालिकामा विमला केसी र बाँफिकोट गाउँपालिकामा केन्द्रीय सदस्य महेन्द्र केसीलाई प्रतिनिधि तोकिएको छ ।