आइपीएलको पहिलो खेलबाटै सन्दीपलाई वाहवाही, आइपीएलले भन्यो ‘ऐतिहासिक’

आइपीएलको पहिलो खेलबाटै सन्दीपलाई वाहवाही, आइपीएलले भन्यो ‘ऐतिहासिक’

काठमाडाैं । विश्व क्रिकेटमा ठूलो व्यावसायिक प्रतियोगिता मानिने इण्डियन प्रिमियर लिग आइपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको पहिलो खेलको प्रदर्शनको सर्वत्र प्रशंसा भइरहेको छ।

१७ वर्षीया सन्दीपले गएराति आफ्नो टोली दिल्ली डेयरडेभिल्सका तर्फबाट पहिलो म्याच खेल्ने क्रममा ‘उत्कृष्ट बलिङ’ गरेको टिप्पणी भएको छ।

भारतीय टिमका कप्तान विराट कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स ब्यांग्लोरविरूद्ध मैदानमा उत्रिएका सन्दीपले कोहली र अर्का विश्व चर्चित ब्याट्सम्यान दक्षिण अफ्रिकाका एबीडी भीलीयर्सलाई बलिङ गरेका थिए।

एक विकेट लिएका सन्दीपले ‘किफायती’ बलिङ गरे पनि उनको टोली ६ बल बाँकी छँदै ५ विकेटले पराजित भएको छ।

प्रतियोगिताको ११ औँ संस्करणमा दिल्लीले लिलामीमा २० लाख भारू तिरेर लिएका लामिछानेले आफ्नो टोलीले १२ औँ खेल खेल्दा मौका पाएका हुन्।

नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन्दीप आइपिएलमा छनोट भएको विषय राजधानीमा भएको अभिनन्दनका क्रममा चर्चा गरेकै दिन दिल्लीले उनलाई आफ्नो ‘ओपनिङ बलर’का रूपमा प्रस्तुत गरेको थियो।

खेलमा उनले चार ओभर २५ रन खर्चेर एक विकेट लिएका थिए।

सन्दीपको बलिङ एशोशियट राष्ट्रबाट छनोट भएर कुनै पनि क्रिकेट खेलाडीले आइपीएलको आफ्नो पहिलो खेलमा गरेको ‘उत्कृष्ट प्रदर्शन’ भएको इएसपीएन क्रिकइन्फोका खेल पत्रकार पिटर डेला पेना बताउँछन्।

सन्दीपले आफ्नो पहिलो ६ बलमा ६ रन दिएका थिए भने दोस्रो ओभरमा पार्थिव पटेलको विकेट लिएका थिए।

दिल्ली डेयरडेभिल्सका पाँच बलर मध्ये उक्त खेलमा उनले सबैभन्दा कम रन दिएका थिए।

शनिवारको खेलमा ‘नट आउट’ ७२ रन प्रहार गरेर ‘म्यान अफ द म्याच’ बनेका ब्याट्सम्यान एबीडी भीलीयर्सले खेलपछि सन्दीपको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

उनले भनेका छन्, “लामिछाने भर्खरै १७ वर्षका छन् र उनले प्रशंसनीय खेल देखाएका छन्। यी केटाहरूले कसरी यस्तो खेल्छन् म आश्चर्यमा पर्छु। यो भारतीय क्रिकेट र समग्र क्रिकेटका लागि ठूलो उपलब्धि हो।”

आफ्नो पहिलो खेलपछिको एउटा अन्तर्वार्तामा सन्दीपले दिल्ली डेयरडेभिल्सको टोलीमा स्थान पाएकोमा खुशी व्यक्त गर्दै विश्वका दुई अग्रणी ब्याट्समेनविरूद्ध बलिङ गर्न पाउनु आफैँमा उपलब्धि भएको बताएका छन्।

“मैले मेरा प्रशिक्षकहरूबाट धैर्य गर्न सिकिरहेको छु, अझै लामो यात्रा गर्नुपर्नेछ, टोलीका प्रशिक्षक र सबै सदस्यबाट राम्रो सहयोग पाइरहेको छु।”

सन्दीपको पहिलो खेलको प्रदर्शनलाई आइपीएलको आधिकारिक ट्विटर खातामा ‘ऐतिहासिक’ भनिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पनि उनलाई आइपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेकोमा बधाई दिएको छ।

खुशी व्यक्त गर्नेमा सन्दीपलाई अष्ट्रेलियामा लगेर अभ्यासको मौका दिने अष्ट्रेलियाको टोलीका पूर्वकप्तान माइकल क्लार्क पनि छन्।

उनले ट्विटरमा लेखेका छन्, “मेरा साथीले आइपीएलमा पहिलो पटक खेल्ने मौका पाएका छन्, उनको कथा कति रोमाञ्चक छ!”

ट्विटरमा नेपाली किक्रेट टोलीका कप्तान पारस खड्काले सन्दीपलाई शुभकामना दिँदै आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन भनेका थिए।

सन्दीपले बलिङ गरिरहँदा ट्वीट गर्दै नेपाली ब्याट्सम्यान शरद भेषावकरले सन्दीपले एकदमै राम्रो शुरूवात गरेको र आफ्नो खुशी एक तहमाथि पुगेको टिप्पणी गरेका थिए।

भारतीय क्रिकेट विश्लेषक हर्ष भोग्लेले सन्दीपले विकेट लिनुलाई एउटा ठूलो क्षण भन्दै ट्वीट गरेका थिए।

उनको बलिङ गर्ने शैलीलाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ।

सन्दीपलाई उनको पहिलो खेलका लागि शुभकामना दिनेमा सनराइजर्स हैदराबादबाट खेलिरहेका अफगान बलर राशिद खान सहितका खेलाडी छन्।

नेपाली क्रिकेट प्रशंसकहरूले पहिलो खेलमा सन्दीपले गरेको कसिलो बलिङको प्रंशसा सामाजिक सञ्जालमा गरिरहेका छन्।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा पहिलो विकेटका लागि सन्दीपलाई बधाई दिँदै उनको सफलतामा गर्व लागेको उल्लेख गरेका छन्।

कतिपयले चाहिँ दिल्ली डेयरडेभिल्सले सन्दीपलाई पहिला नै मौका दिनुपर्ने धारणा ट्विटरमा राखिरहेका छन्।

निकै ठूलो लगानी रहेको र विश्व क्रिकेटमा सबैभन्दा बढी दर्शकले हेर्ने भनिएको आइपीएलमा खेल्न गएको जनवरीमा सन्दीप छानिएका थिए।

यो प्रतियोगितापछि उनले वेस्ट इण्डिजका खेलाडी क्रिश गेलको क्लबबाट क्यारीबीयन लिग क्रिकेट खेल्नेछन्।

सन्दीप नेपाली राष्ट्रिय टोलीको पछिल्लो पुस्ताका सर्वाधिक चर्चित खेलाडी हुन्।

उनको बलिङ गर्ने शैलीलाई अष्ट्रेलियाका चर्चित खेलाडी शेन वार्नसँग दाँज्ने गरिन्छ।

१५ वर्षको उमेरमा राष्ट्रिय टोलीमा समावेश भएका सन्दीपले हालै सम्पन्न विश्व क्रिकेट डिभिजन दुईमा १७ विकेट लिएका थिए।

त्यसपछि जिम्बाब्वेमा भएको डिभिजन १ क्रिकेटमा उनले गरेको प्रदर्शनले नेपाललाई एक दिवसीय क्रिकेट मान्यता दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।

एउटा वैवाहिक कार्यक्रममा सहभागी हुन जाने क्रममा चितवनको एउटा क्रिकेट एकेडेमीमा अभ्यास गरिरहेका सन्दीप राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दसानायकेको नजरमा परेका थिए। बीबीसी

भारतसँग ८२ रनले पराजित भएसँगै नेपालको एसिया कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ । मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो । नेपालबाट ओपनर सीता रानामगरले १८ रन बनाइन् । विन्दु रावलले १७, रुविना क्षेत्रीले १५ र कप्तान इन्दु वर्माले १४ रन थपे । यसबाहेक, नेपालका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा यादव र अरुनधती रेड्डीले समान दुई विकेट लिए । रेनुका सिंहले एक विकेट हात पारिन् । त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७८ रनको योगफल खडा गरेको थियो ।  भारतकी ओपनर सिफालीले १ रन बनाइन् । आक्रामकरूपमा प्रस्तुत भएकी सिफालीले ४ बलमा १२ चौका र एक छक्का प्रहार गरिन् । सिफालीले पहिलो विकेटका लागि हेमालथालेसँग १२२ रनको साझेदारी गर्दै भारतलाई उत्कृष्ट सुरुआत दिलाएकी थिइन् । हेमालथले ४२ बलमा पाँच चौका र एक छक्कासहित ४७  रन प्रहार गरिन् ।  जेमिमाह रोड्रिगेजले २८ र सजिवन सजनाले १० रन जोडिन् । रिचा घोस ६ रनमा अविजित रहिन् ।नेपालकी सीता रानामगरले दुई विकेट लिइन् । कविता जोशीको नाममा एक विकेट रह्यो । महिला क्रिकेटको बलियो राष्ट्र भारतले हालसम्म सातपटक एसिया कपको उपाधि जितिसकेको छ ।समूह ‘ए’बाट भारत यसअघि नै दुई खेलमा लगातार जितसहित सेमिफाइनलमा प्रवेश गरिसकेको थियो । नेपाललाई भने सेमिफाइनल प्रवेशका लागि आज फराकिलो जितको आवश्यकता थियो । समूह एको तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्याएको नेपालले तीन खेल खेल्दा दुई अंक जोड्यो । नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपाल पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो । समूहबाट भारत भने विजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ । भारतले यसअघि पाकिस्तानलाई सात विकेटले हराएको थियो । भारतले युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ७८ रनको जित निकालेको थियो 

महिला एसिया कप : दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

काठमाडौँ। एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।  श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो ।  पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गरिन् । उनले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७ रन जोडिन् । उसका लागि मुनिबा अलीले नटआउट ४६ रन जोडिन । नेपाली बलरसामू हाबी भएको पाकिस्तानले ११.५ ओभरमै एक विकेट गुमाएर ११० रन बनाएको हो । नेपालका लागि एक विकेट कविता जोशीले लिइन् । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कविता जोशीले नटआउट २३ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ३१ रन जोडिन। सीता रानामगर २६ र पूजा महतोले २५ रन जोडिन। कविता कुँवरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०८ रन बनाएको थियो ।  नेपालविरुद्ध कसिलो बलिङ गरेको पाकिस्तानका लागि सादिया इकबालले दुई विकेट लिदा फातिमा सानाले एक विकेट लिन सफल भइन् ।  समूह ‘ए’को नेपाल पहिलो खेलमा युएईमाथि ६ विकेटले विजयी भएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको पाकिस्तानले दोस्रो खेलमा नेपालमाथि जित निकाल्दै दुई अंक जोडेको छ । एसिया कपको समूह ‘ए’को भारतले चार अंक जोडेको छ भने नेपाल र पाकिस्तानले समान दुईदुई अंक जोडेका छन् । समूह चरणको अन्तिम खेलमा अब नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ भने पाकिस्तानले यूएईको सामना गर्नेछ । समूह ‘ए’मा दुई खेल खेलेको यूएई अंकबिहीन छ ।  समूह ‘बी’मा रहेका श्रीलंका र थाइल्याण्डले समान दुईदुई अंक जोड्दा मलेसिया र बंगलादेश अंकबिहीन छन् ।

महिला एसिया कपमा नेपालको ऐतिहासिक जित

काठमाडौं । ओपनर सम्झना खड्काको उत्कृष्ट ब्याटिङसँगै नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात पारेको छ । नेपालले महिला एसिया कप इतिहासमा पहिलो जित हात पारेको हो । ११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् । सीता रानामगर ७, कविता कुँवर २, इन्दु बर्मा ६ र रुविना क्षेत्री १० रनमा आउट भइन् । यूएईकी कविसा कुमारीले ४ ओभरमा १ मेडनसहित १२ रन खर्चेर ३ विकेट लिइन् । त्यसअघि श्रीलंकाको डाम्बुलामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २० ओभरमा ८ विकेट गुमाउँदै ११५ रन बनाएको थियो । यूएईकी युवा ब्याटर खुसी शर्माले ३९ बलमा २ चौकासहित सर्वाधिक ३६ रन बनाइन् । कप्तान ईशा ओझा १०, रिनिथा रजिथा ६ थीर्थ सतिश ९ रनमा र समिरा धर्निधर्क १३ रनमा आउट भइन् । यूएई ७.२ ओभरमा ४६–४ को अवस्थामा पुगेको यूएईलाई पाँचौं विकेटका लागि खुसी शर्मा र काविशा कुमारीले ४१ बलमा ३२ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । काविशा २६ बलमा २ चौकासहित २२ रनमा आउट भइन् । नेपालकी कप्तान इन्दु बर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । स्पिनर कृतिका मरासिनीले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । सबनम राइले ३ ओभरमा २७ रन खर्चेर १ विकेट लिइन् । कविता जोशीको नाममा १ विकेट रह्यो । अब नेपालले दोस्रो खेल ६ साउनमा पाकिस्तान र ८ साउनमा भारतसँग खेल्नेछ ।

नेपालले जित्यो  ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो। क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो। आईसीसीले नेपाली क्रिकेटको फेसबुकमा ४०० प्रतिशतले रिच वृद्धि भएको उल्लेख गरेको छ।

लोकप्रिय