आफ्नाबाटै यसरी बलात्कारको शिकार भइरहेका छन् हाम्रा छोरीचेली ?
काठमाडौंँ, चैत १० । अघिल्लो महिनाको दोस्रो साता सप्तरीमा एकजनाले बहिनीलाई बलात्कारपछि हत्या गरे । केही महिनाअघि धरानमा हजुरआमाको किरिया बार्न मामाघर पुगेका दुई दिदीबहिनी आफन्तबाटै बलात्कारमा परे ।
धरानमै एक व्यक्तिले भान्जीलाई बारम्बार बलात्कार गरेको घटना सार्वजनिक भयो ।
त्यस्तै भोजपुरका एक युवकले छिमेककै एक १३ वर्षीया बालिकालाई बलात्कार गरेपछि उनी गर्भवती भइन् । अधिकारकर्मी एवं कानून व्यवसायी मीरा ढुङ्गानासँग अहिले पनि साना बालिका बलात्कारका तीन वटा मुद्दा छन् । पछिल्लो समय यसैगरी छिमेकी, चिनजान र आफन्तले नै छोरीचेलीलाई बलात्कारका घटना बाहिर आउन थालेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताए ।
बलात्कारका घटना बढ्नुमा सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक, प्रविधिको सही प्रयोग गर्न नजान्नु, सामाजिक मूल्य मान्यताअनुरुपको नैतिक शिक्षाको कमी तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा. मीना उप्रेती बताउँछन् ।
व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था, काम तथा जिम्मेवारीको बोझ कम हुन र मानसिक रोग र प्रविधिको बेप्रवाह प्रयोगजस्ता मनोरोग कारक रहेको मनोचिकित्सक डा।सरोज ओझाको भनाइ छ ।
‘आफन्त र चिनजानका व्यक्तिबाटै बलात्कारमा पर्ने बालबालिका ७४ प्रतिशत छन्,’ प्रवक्ता सुवेदीले भने, ‘अधिकांश घर, स्कुल छेउछाउमै परिचितका सिकार भएका छन् ।’ उनका अनुसार गलत व्यक्तिले सजिलो सिकार खोज्ने प्रवृत्ति पछिल्लो समय देखिएको छ ।
‘घरमा कोही नभएका बेला बालिका, समान्य रूपमा फकाउँदा नै मान्ने साना बालिका वा स्कुल जाँदा आउँदा एक्लै हुने बालिकाको पछि त्यस्ता व्यक्ति लागिरहेका छन्,’ उनले थपे । सामाजिक विकृतिले यस्ता घटनालाई बढावा दिइरहेको उनको भनाइ छ । अधिकारकर्मी तथा अधिवक्ता ढुङ्गाना घरपरिवार मात्र हैन सशस्त्र द्वन्द्वपछि समाज स्वतन्त्र हुँदै स्वच्छन्दताको बाटोतिर गएकाले पनि यस्ता घटना वृद्धि भएको बताउँछन् ।
विभिन्न मुद्दा हेर्दाको अनुभव सुनाउँदै उनले हेप्न सकिने, भनेको मान्ने र मार्न सकिने बालिका नै भएकाले वयस्क युवतीभन्दा चिनेजानेका साना बालिका बलात्कारका लागि चुनिन थालेको अपराध विश्लेषण उनको छ । ‘घरपरिवार, समाज र पुरुष वर्गलाई यस्ता विषयमा नैतिक शिक्षा दिनेबेला आएको छ,’ उनले भो, ‘अझ छोरालाई सानैदेखि यस्ता कुरामा सचेत गराउनै पर्छ, ताकि भविष्यमा ऊ बलात्कारी नबनोस् ।’ छोरालाई अङ्कुश नलगाउने तर छोरीलाई अङ्कुश लगाइरहने चलनले छोरा स्वच्छन्द हुन थालेको उनी बताउँछन् ।
यसरी बलात्कारका घटना बढ्नुमा नेपालको सामाजिक, जातीय, वर्गीय पारिवारिक, आर्थिक तथा राज्यको नीतिगत पक्ष जिम्मेवार रहेको समाजशास्त्री डा.मीना उप्रेती बताउँँछन् । ‘मूल्य मान्यता, नैतिकता, इमानदारी हराउँदै समाज विचलनतिर गइरहेको छ,’ उनले थपे, ‘अर्कोतिर हातहातमा प्रविधि पुगेकापछि उत्सुकताबस विभिन्न साइट हेरेर अनावश्यक उत्सुक बढ्नाले बलात्कार घटना हुन थालेको देखिन्छ ।’
उनका अनुसार माथिल्लो जात वा वर्गले तल्लो जात वा वर्गमाथि गरिने हिंसामध्ये एक बलात्कार पनि हो । पछिल्लो समय सञ्चार क्षेत्रको सक्रियताले यस्ता घटना बाहिर आए पनि न्यूनीकरण हुन नसकेको उहाँको विश्लेषण छ ।
प्रहरी प्रशासनले बलात्कार भएको प्रमाण खोजिरहने र राज्यले बेवास्ता गर्ने प्रवृत्तिका कारण यस्तो भइरहेको तर्क उनको छ । ‘राज्यको उच्च पदमा अधिकांश पुरुष त्यो पनि उच्च वर्गका रहेका छन्,’ उनले थपे, “उनका छोरीचेली बलात्कार हुँदैनन् भन्ने धारणाले पनि कमजोर छोरी चेली बलात्कारमा परिरहेका छन् ।’
बलात्कारका घटना बढ्नुमा व्यक्तिको हुर्काइ, उसको सङ्गत र सामाजिक व्यवस्था कारक रहेको मनोचिकित्सक डा।सरोज ओझा बताउँछन् । कतिपय व्यक्तिमा पिलोफेलिया (वयस्क बच्चातर्फ बढी आकर्षित हुने मानसिक रोग) हुनसक्छ उनले प्रष्ट्याए तर अधिकांश त्यो नभई उसको सामाजिक परिवेशको असर हुन सक्छ । पिलोफेलिया मनोरोग भने पीडकको परीक्षणपछि मात्र पत्ता लाग्ने गर्छ ।
डा। ओझाका अनुसार शिक्षा तथा कामको चापको कमी भएकाले बलात्कार जन्य घटनामा संलग्नता बढाउन सक्ने बढी सम्भावना रहन्छ । ‘‘सामान्यतया १२ वर्षको उमेरपछि हरेक व्यक्तिमा यौन चाहनाको सुरुवात हुुने गर्छ । तर त्यसको सही व्यवस्थापन नगरी इन्टरनेट हेरेकै भरमा बलात्कार गर्नेतर्फ लक्षित हुने मानसिकता हालका किशोर वर्गमा विकास भइरहेको देखिएको छ’, उनको अनुमान छ।
सामाजिक सञ्जाल र भर्चुअल लाइफको बढोत्तरीका कारण परिवारकै सदस्यबीच कुराकानी कम हुँदा नयाँ पुस्ताको ध्यान यस्ता घटनातिर मोडिन थालेकामा प्रहरी अनुसन्धानकर्मी पनि सहमत छन् । “भात खान पनि च्याटबाट बोलाउँछन् आमा अनि बाबु अर्को कोेठामा टेलिभिजनमा मख्ख,” प्रहरी प्रवक्ता सुवदीले थपे, ‘छोराछोरी के गरिरहेका छन् भन्ने बुझ्न फुर्सद हुन्न ।’
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत छोरीको सुरक्षा, परिवार तथा शिक्षकको समाजमा भूमिकाजस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । नेपाल प्रहरी र विभिन्न सङ्घ संस्थाको तथ्याङ्क अनुसार आव २०५३–५४ देखि २०७२÷७३ को २० वर्षमा नेपालमा बलात्कारका घटनामा दश गुणा वृद्धि भएको छ ।
आर्थिक वर्ष २०५३–५४ मा देशभरिमा ११२ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकोमा २० वर्षपछि २०७२÷७३ मा एक हजार ८८ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएकाले पनि बढ्दै गएको देखिएको हो । यो बढोत्तरी नेपालको जनसङ्ख्या वृद्धिको तुलनामा बढिरहेको समाजशास्त्रीहरू बताउँछन् ।
आर्थिक वर्ष २०७४÷७५ को प्रहरी तथ्याङ्क अनुसार कुल दुई हजार ८७१ बलात्कारका घटना भएका थिए । जसमध्ये साथीभाइ र छिमेकीबाट सबैभन्दा धेरै ७३० बलात्कारमा परेका थिए ।
त्यसबाहेक १४१ बलात्कार एकैघरका आफन्तबाट भएको प्रहरीले जनाएको छ । त्यस्तै, नातेदारबाट ४८ जना, अन्य चिनेजानेकोबाट ६९२ जना बलात्कृत भए । स्कुलमा पढाउने शिक्षक र मालिकबाट २६ जना बलात्कृत भए । जम्मा ४०४ जनामात्र नचिनेका व्यक्तिबाट बलात्कारमा परेको प्रहरी तथ्याङ्कमा उल्लेख छ । प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मात्र करणीका एक हजार ४५३ मुद्दा दर्ता भए ।
राजनीतिक स्थायित्व र सुशासनका लागि नयाँ आन्दोलनको विकल्प छैनः प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको बेलामा आफूहरुले फरक मतको रुपमा छाडेका शासकीय स्वरुप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण उद्घाटन गर्दै उहाँले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनः आवश्यक भएको बताउनुभएको हो । ‘हामीले संविधान जारी हुँदा जे नोट अफ डिसेन्ट लेखेका थियौं, ती पूरा नहुँदासम्म देशमा राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिले गति नलिने विगत दशको अनुभवले देखाइसकेको छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘त्यसैले मैले नयाँ प्रतिबद्धताका साथ योपल्ट नयाँ आन्दोलनको सृष्टि गर्ने संकल्प लिएको छु । त्यो आन्दोलन नयाँ समाजवादी आन्दोलनको आधार पनि हुने छ ।’ उहाँले अब आफ्नो पार्टीको नेतृत्वमा हुने आत्मनिर्भर अर्थतन्त्रसहितको नयाँ समाजवादी आन्दोलनमा साथ दिन सबैमा अपिल पनि गर्नुभयो । पुराना संसदवादी दलहरुसँगको संसर्गबाट माओवादी नेता कार्यकर्ताहरु पनि केही न केही रुपमा बिग्रिएको उल्लेख गर्दै उहाँले अब हुने आन्दोलनबाट नेता कार्यकर्तामा देखिएको फोहरमैला पनि सफा हुने विश्वास व्यक्त गर्नुभयो । कांग्रेस एमालेसँग मिलेर प्रधानमन्त्री भएको बेला भन्दा जनतासँग मिलेर जाँदा प्रधानमन्त्रीभन्दा पनि माथिल्लो जिम्मेवारीमा रहेजस्तो अनुभव आफूलाई भएको उहाँले स्पष्ट गर्नुभयो । पार्टीलाई नयाँ वैचारिक मान्यता र नयाँ कार्यनीतिका साथ एकताबद्ध गर्ने जमर्को गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो बीचमा पार्टीभित्र विभिन्न खालका गुटबन्दी र अराजकता देखा परेकै हुन्, मैले नेतृत्वको हिसाबले त्यसलाई समाधान गर्न विगत डेढ महिनादेखि लगातार छलफल गर्दै आएको छु । अब पार्टीलाई एकताबद्ध गर्ने मात्रै होइन, हाम्रोबाट विभाजन भएका अन्य माओवादी धारा र समाजवादी आन्दोलनलाई एकताबद्ध गर्न सकारात्मक पहल भएको छ । म तपाईसँग विश्वासका साथ भन्न चाहन्छु– छिटै माओवादी धाराहरु एकताबद्ध हुनेछन् र शक्तिशाली माओवादी आन्दोलन फेरि सृष्टि हुने छ।’ ‘हामी अहिले नयाँ चुनौती र अवसरको दोसाँधमा छौं । मैले सरकारबाट बाहिरिदै गर्दा केही समीक्षाहरु गरेको छु’– उहाँले भन्नुभयो– ‘हामीले हाम्रो वर्ग, समुदाय र हिजोका एजेण्डालाई जुनरुपमा दह्रोसँग समात्नुपर्ने थियो, त्यहाँ कही न कही कमजोरी भएको छ, हामीले आत्मसमीक्षा गर्नैपर्दछ ।’ सरकार छाडेसँगै प्रतिनिधिसभामा गरेको सम्बोधनका क्रममा आफूले कमजोरी स्वीकार गर्दै आफ्नो वर्ग, समुदाय, एजेण्डा र जनताप्रति फर्कने संकल्प गरेको गरेको र त्यसपछि देशब्यापी नयाँ आकर्षण पैदा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्तालाई कहाँ कमजोरी भयो भनेर समीक्षासहित जनतासँग जोडिन आग्रह गर्नुभयो । ‘हामी पार्टीलाई समाजवादी आन्दोलनमा लैजान र वैज्ञानिक समाजवादको आधार तयार पार्न अहिले देशभरि परामर्श बैठक गरेर आन्दोलनको तयारीमा केन्द्रित हुँदैछौं’– उहाँले भन्नुभयो– ‘हामीले संसद र सडकबाट मात्र होइन, सरकारलाई ध्यानाकर्षण गराउन ज्ञापनपत्र पनि दिएका छौं । सरकारले हाम्रो खबरदारीलाई सुन्नेतिर होइन, झन पछि झन नकारात्मक दिशातिर अघि बढ्ने दुस्साहस गर्दैछ ।’ आफूले नेतृत्वले गरेको पहिलो सरकारले भौतिक पूर्वाधारको रुपमा मध्यपहाडी लोकमार्ग र अन्य कैयन उत्तरदक्षिण कोरिडोर निर्माणको थालनी गरेको, गरिब किसानको ३० हजारसम्मको ऋणमुक्त गरेको, दोस्रो कार्यकालमा मुलुकलाई लोडसेडिङको डरलाग्दो आतङ्कबाट मुक्त गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तेस्रो कार्यकालमा थालनी गरेको सुशासनको अभियान अब निरन्तर अघि बढ्ने बताउनुभयो । उहाँले अहिले सरकार भ्रष्टाचारीको रक्षा गर्ने र त्यसको विरोध गर्नेमाथि कुनै न कुनै रुपमा दमन गर्नेतिर केन्द्रित रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा थालेको अभियानकै कारण भ्रष्टाचारी जोगाउनकै लागि माओवादी नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाइएको बताउनुभयो । उहाँले जनयुद्ध, जनआन्दोलन र संविधानको रक्षाका लागि भएका आन्दोलनमा काभ्रेले अतुलनीय योगदान गरेको उल्लेख गर्दै उत्पादनसहितको नयाँ समाजवादी आन्दोलनमा पनि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य यशोदा सुवेदी, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङलगायतले पनि बोल्नुभएको थियो ।
भारतले भन्यो -'भारत हुँदै नेपाल-बंगलादेश विद्युत् व्यापार प्रचण्ड सरकारसँगको सहमतिमा ऐतिहासिक सफलता'
काठमाडौं । भारत सरकारले नेपालको बिजुली भारतीय ग्रीड हुँदै बंगलादेश पठाएको जश नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।नेपालको बिजुली औपचारिक रुपमा बंगलादेश निर्यात भएपछि भारतले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्ड सरकारसँगको सहमति कार्यान्वयन भएको भन्दै विज्ञप्ति जारी गरेको हो । पूर्व प्रधानमन्त्री प्रचण्डले ३१ मे देखि ३ जून, २०२३ मा भ्रमणका क्रममा बंगलादेशमा बिजुली निर्यातसम्बन्धी भारत सरकार र बंगलादेशबीच त्रिपक्षीय निर्णय गरेको भारतले स्मरण गराएको छ । ‘पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आफ्नो भारत यात्राका क्रमम नेपालबाट बंंगलादेशसम्मको पहिलो त्रिपषीय विद्युत् कारोबारलाई भारतीय ग्रीडमार्फत ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न सहज बनाउने निर्णय गरेको थियो,’ विज्ञप्तिमा छ । विज्ञप्तिअनुसार भ्रमणका क्रममा दुबै पक्षले सबै सरोकारवालाको पारस्परिक हितका लागि अर्थतन्त्रबीचको अन्तर्सम्बन्धलाई अभिवृद्धि गर्ने ऊर्जा क्षेत्र लगायत थप उपक्षेत्रीय सहयोगप्रति प्रतिबद्धता व्यक्त गरेका थिए । विज्ञप्तिमा अगाडि भनिएको छ, ‘ त्यसपछि, एनटीपीसी विद्युत व्यापार निगम, नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर विकास बोर्ड बीच त्रिपक्षीय विद्युत बिक्री सम्झौता ३ अक्टोबर २०२४ मा काठमाडौंमा हस्ताक्षर गरियो ।’ भारत सरकारले नेपालबाट भारत हुँदै बंगलादेशसम्मको यो विद्युत् प्रवाह सुरु भएसँगै विद्युत् क्षेत्रमा उपक्षेत्रीय कनेक्टिभिटी बढाउने अपेक्षा गरिएको जनाएको छ ।
समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब पढेर पनि आउँदैन । समाजवाद अरु कुनै देशको नक्कल गरेर बन्ने कुरा पनि होइन र समाजवाद कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर जनतालाई अर्ती उपदेश दिएर आउने पनि होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘समाजवाद थोपर्ने होइन, यो त जगैबाट उमार्ने कुरा हो । समाजवाद निर्माण गर्ने कुरा हो ।’ हाम्रो उत्पादन प्रणाली, इतिहास, संस्कृति र अर्थतन्त्रका ऐतिहासिक विरासतका आधारमा समाजवाद निर्माणको आधार खोज्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘कुनै बेलामा हामी विदेशमा खाद्यान्न र प्रविधि निर्यात गर्ने अवस्थामा थियौं, हामीले पचास साठी वर्षमा यति राजनीतिक गतिबिधि गर्यौं, कहाँ आइपुग्यौं भन्दा हामी हर क्षेत्रमा परनिर्भर बन्दै गएका छौं । हामीलाई हाम्र्रै जगमा, इतिहास र विशेषतामा, पूर्खाले विकास गरेको प्रविधिमा टेकेर आधुनिक समाजवाद निर्माण गर्नुछ ।’ नेपालमा समाजवादको बारेमा सार्थक बहस नभएको औल्याउँदै उहाँले बदलिंदो समाज र सूचना प्रविधिसमेतको प्रयोगलाई ध्यान दिएर समाज कसरी रुपान्तरण गर्न सकिन्छ र यसको नेतृत्व कसरी संभव भन्नेबारेमा धेरै अन्योल रहेको उल्लेख गर्दै उहाँले नेपाली विशेषताको समाजवाद कसरी निर्माण गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने बताउनुभयो । अहिले नेपालमा समाजवादको बहसबारे तीनवटा धारणा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘एउटा विशुद्ध सिद्धान्तवादी वा जडसूत्रवादी धारणा रहेको छ । अर्को असाध्य धेरै अनुभववादी र समन्वयवादी धारणा रहेको छ’– उहाँले भन्नुभयो– ‘अर्को प्रयोग र व्यवहारवादी धारणा रहेको छ, यसले सिद्धान्तलाई व्यहारमा उतार्नेतिर जोड दिन्छ । सोमत घिमिरेजीको पुस्तकले तेस्रो धारणालाई जोड दिएकाले यो वैज्ञानिक र वस्तुवादी रहेको छ ।’ संविधानले नेपाल अब समाजवादउन्मुख हुने भनिए पनि समाजवाद कस्तो हुनेछ भन्ने विषयमा विमर्श नभइरहेको बेलामा ‘सामुदायिक समाजवाद’ पुस्तक लेखेर घिमिरेले यो बहसलाई नयाँ उचाई दिएको टिप्पणी गर्नुभयो । यो पुस्तक पुस्तक अध्ययन गर्न लायक रहेको र सुरुदेखि अन्तिमसम्म यसले नयाँ प्राप्त गर्ने उत्सुकता पैदा गर्ने बताउनुभयो । आफूहरुले जनयुद्धको बेलामा समाजवादबारे अध्ययन र बहस थालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जतिबेला हामी जनयुद्धमा थियौं, त्यतिबेला आफ्नै संस्कृति, आफ्नै अर्थतन्त्र र आफ्नै न्यायालय निर्माण गर्ने प्रक्रियामा थियौं । त्यतिबेला विश्वमा कयौं समाजवादी सत्ताहरु ढलेका थिए भने कयौं नयाँ तरिकाले अघि बढ्दै थिए । ती सबै सत्ताहरुको अध्ययन गरेर, मैले अलि बढी मेहनत गरेर मैले एक्काइसौं शताब्दीको जनवाद भन्ने दस्तावेज तयार पारेको थिएँ ।’ अहिले आफूले त्यसको ब्याख्या गर्न नचाहे पनि त्यसमा राखिएको एउटा विषय जनता र सत्ताबीचको सम्बन्धमा स्पष्ट हुनैपर्ने उल्लेख गर्दै भन्नुभयो– ‘एक्काइसौं शताब्दीको जनवादमा एउटा कुरा स्पष्टका साथ राखेको थिएँ– जनताको निगरानी, नियन्त्रण र सक्रिय हस्तक्षेपसहितको सत्ता मात्रै वास्तविक समाजवादी सत्ता हुनेछ । अब पनि हामीले समाजवादको बहस गर्दा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित सरकार र जनताबीचको सम्बन्ध के हुन्छ भनेर स्पष्ट गर्नैपर्छ । जनताको निगरानी, नियन्त्रण र सक्रिय हस्तक्षेपविनाको सरकार जनताको सरकार हुन सक्दैन, त्यो अन्ततः जनविरोधी नै हुन्छ ।’ जनता दल वा सरकारका अनुयायी र बिरोधी मात्र होइन, सरकार कस्तो बताउने भन्ने विषयमा स्वयं जनताले सक्रिय हस्तक्षेप र नेतृत्व गर्नसक्ने संरचनाको विकासविना समाजवादी व्यवस्था दिगो नहुने पनि उहाँले स्पष्ट गर्नुभयो ।
निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’– उहाँले भन्नुभयो– ‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर प्रतिक्रान्ति गर्ने सपना पनि देखिरहेका छन् । त्यसैले दुबैतर्फ सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ साँचो अर्थमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरु सजग रहनुपर्नेमा जोड दिंदै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हिजो पनि संविधानमाथि बलात् आक्रमण गरेर दुईदुईपटक संसद बिघटन गर्ने प्रवृत्तिलाई हामी बामपंथी लोकतान्त्रिक शक्तिहरु मिलेर परास्त गरेका थियौं, फेरि पनि संविधान मिच्ने, संसद विघटन गर्ने हर्कत हुनसक्छन्, यस्ता हर्कतका विरुद्ध अझै पनि सतर्क रहनुपर्छ ।’ अर्को एक प्रसंगमा उहाँले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउने मुख्य दायित्व पनि यिनै शक्तिसँग भएको बताउनुभयो । गिरिजाले मृत्यु शैयामा पुगेको बेला आफूलाई ‘अब भरोसा तपाइँको छ, बाँकी राजनीतिक अवस्थालाई सम्हालेर लैजानुहोला’ भन्ने बाक्यांश नभुलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कहिलेकाही नेपाली उखानमा भएजस्तो बाघको छालामा स्यालको रजाइँ हुने हो कि भन्ने चिन्ता पनि छ तर मलाई लाग्छ अन्ततः त्यस्तो हुँदैन ।’ जसले परिवर्तनका लागि युगान्तकारी भूमिका निर्वाह गरे, यो परिवर्तन जोगाउन पनि उनीहरुले नै नेतृत्वदायी भूमिका निर्वाह निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । ‘यतिबेला लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशिताको रक्षा गर्नु र यसमा रहेका कतिपय सीमालाई परिवर्तन गर्दै अझै विकसित गर्नु मुख्य दायित्व हो’– उहाँले भन्नुभयो– ‘त्यसका लागि परिवर्तन पक्षधर शक्तिहरु गम्भीर हुन आवश्यक छ ।’ अहिले अध्ययन र वैचारिक बहसको संस्कृति हराउँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तीस र चालिसको दशकमा हुने शैक्षिक क्षेत्रमा हुने वैचारिक बहस निकै जीवन्त र उच्चस्तरका भएका स्मरण गर्नुभयो । अहिले नेपाली समाजमा वैचारिक बहस र सामूहिक चिन्तनभन्दा पनि व्यक्तिगत स्वार्थप्रेरित हुँदै गएकोप्रति प्राज्ञिक क्षेत्र गम्भीर बन्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । अध्यक्ष प्रचण्डले पञ्चायविरोधी आन्दोलनका बेलामा अखिल वा नेविसंघ जुन आस्थामा निकट भए पनि सामूहि चिन्तन र वैचारिक बहसमा केन्द्रित हुने गरेको उल्लेख गर्दै चिन्तन संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो । उहाँले आस्था, निष्ठा र आदर्शका धरोहर अखिलेश्वरलाल दास भिन्न प्रकृतिको र समाजवादी क्रान्तिका लागि प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । उहाँले दास औसतभन्दा माथिको व्यक्ति भएको बताउनुभयो ।