उत्साहका साथ सकियो लगानी सम्मेलन
काठमाण्डौं, चैत १७ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ ।
सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए ।
यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाएर सम्मेलनलाई एउटा उत्सवका रुपमा सम्पन्न गरेका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालमा आउने लगानी र प्रतिफलको सुरक्षामा सरकार कटिबद्ध रहेको, कानूनी तथा नीतिगत सुधार गरिएको र खुला हृदयले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको भन्दै विदेशी तथा स्वदेशी लगानीकर्ताको मन जित्ने प्रयास गरेका थिए ।
नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भन्दै सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले लगानीका अवसरको सविस्तार वर्णन गरेका थिए । समापन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हरेक क्षेत्रमा लगानी जरुरी रहेको र त्यसका लागि सरकारले उपयुक्त वातावरण बनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए।
राजनीतिक विषयमा फरकफरक अडान राख्दै आएका राजनीतिक दल, उद्योगी व्यवसायी तथा जानकारले एकै स्वरमा भनेका थिए– नेपालमा लगानी गर्न आउनुस्, हामी उच्च प्रतिफल हुने वातावरण बनाउँछौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रको शुरुआतीसँगै नेपालको निजी क्षेत्रले गरेको प्रगतिको फेहरिस्त मात्रै प्रस्तुत गर्नुभएन, नाफा कमाउन र लगानीको सुरक्षाका लागिसमेत नेपाल आउन आग्रह गर्नुभयो । कोही सत्तापक्ष थिएन, कोही प्रतिपक्ष पनि भएन, सबै नेपाली भएर एकै स्वरमा संसारभरबाट नेपालमा आएका लगानीकर्तालाई सम्बोधन गर्दै भनेका थिए–विकसित देशमा समेत सानातिना समस्या रहन्छ, त्यस्ता समस्यासमेत नेपालमा छैन ।
भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलोमात्रामा लगानी जरुरी रहेको भन्दै लगानी बोर्डले आयोजनाको विशेषतासहितको प्रस्तुतिसमेत गरेको थियो । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घका प्रतिनिधिले सरकारको भनाइमा नै होस्टेमा हैसै गर्दै खुला हृदयका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका थिए ।
लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व प्राप्त गरेको नेपालले सहज लगानीका लागि पछिल्लोपटक कानूनमा गरेको सुधार, एकल सेवा केन्द्रमार्फत सेवा दिने प्रणालीको स्थापना, संस्थागत र संरचनागत सुधारले पनि लगानीमैत्री बनेको सन्देश सम्मेलनले दिएको छ । सम्मेलनमा भएका समझदारी शुरुआत मात्रै भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले केही समयभित्रै सकारात्मक प्रभाव देखिने बताए ।
नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिएर नेपालले विश्व रङ्गमञ्चमा बेग्लै पहिचानको सञ्चारसमेत गरेको छ । सम्मेलनमा सहभागीलाई सरकारले प्रदान गरेको न्यानो आथित्वताले पनि उनीहरुलाई आकर्षित गरेको थियो ।
सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ । सम्मेलनकै क्रममा निर्माणमा गइसकेको अरुण तेस्रोमा वित्तीय व्यवस्थापन भएको छ ।
यस्तै लामो समयदेखि निर्माणमा जान इच्छुक रहेको माथिल्लो त्रिशूलीमा समेत लगानी जुट्ने सुनिश्चितता भएको छ । गैरआवासीय नेपालीसमेत मातृभूमिको विकासका लागि संस्थागतरुपमा लगानी जुटाउन प्रतिबद्ध देखिएका छन् । नेपालमा लामो समयदेखि लगानी गर्दै आएका एशियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाले थप लगानी गर्ने प्रतिबद्धता जनाएर सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएका छन् । यसले नेपालको छविसमेत उच्च बनाउन बल पुगेको छ ।
नेकपा नेतृत्वको वर्तमान सरकारले राजनीतिक विषयलाई भन्दा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दलको एउटै प्रतिबद्धता रहेको सन्दर्भमा सम्मेलनले नेपालको हित पहिल्याउने दिशामा सार्थक प्रयास गरेको छ ।
जस्तोसुकै ढाँचाबाट भए पनि नेपालमा लगानी गर्न आग्रह गर्ने नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल लगानीका लागि स्वर्ग जस्तै रहेको बताउने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणादेखि छलफल शत्रमा सहभागी विज्ञलेसमेत लगानीकर्तालाई विश्वासमा लिन कुनै कसर बाँकी राखेका थिएनन् ।
सम्मेलनले नेपाल सुगम गन्तव्य हो, चीन र भारतजस्ता उदयमान अर्थतन्त्रको बीचमा रहनुको फाइदा सहजै लिन सक्छ भन्ने स्पष्ट र सोझो सन्देशसमेत प्रवाह गर्न सफल भएको छ । सम्मेलनका क्रममा प्रस्तुत गरिएको हुड्के, तामाङ सेलो, साकेलाले पनि नेपालको विधितालाई झल्काउने प्रयास गरेको थियो । रासस
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपँैया ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैँया ५९ पैसा र बिक्रीदर एक सय २ रुपैँया ४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैँया ८१ पैसा र बिक्रीदर आठ रुपैँया ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८५ पैसा र बिक्रीदर १८ रुपैँया ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८२ पैसा र बिक्रीदर ३६ रुपैँया ९८ पैसा कायम भएको छ ।
गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपालको विकास र सम्मृद्धिमा प्रयोग गर्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाद्धारा वासिङ्टनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका अनगिन्ती सम्भावना रहेका र अहिले लगानीको वातावरण पनि रहेकाले आफ्नो मातृभूमिमा लगानी भित्र्याउन आग्रह गर्नुभएको हो । सो कार्यक्रममा उहाँले भन्नुभयो “प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । तर त्यसको उपयोग र उपभोग गर्न हामी सफल हुन सकेका छैनौँ । देशलाई यतिखेर यहाँहरुले विदेशी माटोमा आर्जन गरेका ज्ञान, सीप र पुँजीको जरुरत छ । अहिले हामी जहाँ र जस्तोसुकै काम विशेषमा रहेका भए पनि भोलिको सन्ततिका लागि नेपालमै केही गर्नुपर्छ ।” अध्यक्ष ढकालले संकटका बेला सबैलाई आफ्नै जन्मथलो चाहिने प्रसंग उल्लेख गर्दै भन्नुभयो “कोरोना महामारीका बेला हामी सहरमा बसेका गाउँ फर्कियौँ, विदेशमा विभिन्न कारणले बसेका नेपालीहरु घर फर्किए । त्यो अवस्थाको स्मरण गर्दा हामी अहिले जहाँ जुन रुपमा भए पनि हाम्रो घर भनेको नेपाल नै रहेछ भन्ने लागेको थियो । त्यसैले पनि म यहाँहरुलाई यो आग्रह गर्दछु कि आफ्नै जन्मस्थानमा केही गर्नुपर्छ ।” उहाँले संसारका कैयौँ देशमा रहेर गैरआवासीय नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप तथा पुँजीको ठूलो महत्व रहेको बताउनुभयो । त्यसैले त्यसको केही प्रतिशत छुट्याएर नेपालमा लगानी गर्नसके गैरआवासीय नेपाली तथा नेपालकै लागि फाइदा पुग्ने उहाँको भनाई थियो । गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्न चाहेमा महासंघले आवश्यक सबै सहजीकरण गर्ने त छँदैछ नेपालका लगानीकर्ताहरु पनि सहकार्य गर्न इच्छुक रहेका उहाँको भनाई थियो । अध्यक्ष ढकालले नेपालमा अहिले जलविद्युत, पर्यटन, हस्पिटालिटी, सूचना प्रविधि तथा अन्य पूर्वाधारका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेका उल्लेख गर्नुभयो । कोरोना महामारीपछि मुलुकको अर्थतन्त्र लयमा फर्कने तरखरमा रहेको र नेपालमा अहिले पर्यटन क्षेत्र फस्टाउँदो अवस्थामा रहेकाले ती क्षेत्रमा लगानी गरेर मुनाफा आर्जन गर्न पनि आग्रह गर्नुभयो ।
लगानी सहजीकरणमा महासंघले सघाउँछ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय विविध कारण विदेशी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य बनेको बताएका छन् । अमेरिकाको वासिंटनमा यूएस चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत विकसित मुलुकमा प्राप्त भन्साररहित पहुँच एवं ऊर्जा खरिद बिक्री सम्झौता मुख्य कारण रहेको बताए । नेपाली र विदेशी बजार समेतलाई हेरेर नेपालमा लगानी गर्न अध्यक्ष ढकालले आग्रह गरे । नेपालमा उत्पादन गरी यहाँको बजारसँगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावनातर्फ लगानीकर्ताको ध्यानाकर्षण गराए । उनले भारतसँग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसँगको समझदारीले जलविद्युत्मा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरूलाई गराए । नेपालमा प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पूर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान गरे ।संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सीमाबाट औसत दुई घण्टाको दूरीमा शीतल र स्वस्थ वातावरणसहितको हिलस्टेसन विकास गर्न सकिने सम्भावना रहेको लगानीकर्ताहरुलाई देखाए । लगानी सहजीकरणका लागि महासंघले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) हेल्प डेस्क स्थापना गरेको जानकारी दिँदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त पारे । महासंघले एफडीआई हेल्पडेस्कमार्फत सहजीकरण गरिरहेको छ । नेपालमा पर्याप्त विदेशी मुद्राको सञ्चिति रहेको बताउँदै अध्यक्ष ढकालले लगानीको जोखिम न्यून हुँदै गएको जनाए । साथै सरकारले कानुन सुधार र द्विपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९० पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १३ पैसा र बिक्रीदर एक सय ७४ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ७३ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा र कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९९ पैसा र बिक्रीदर चार रुपैयाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७३ पैसा र बिक्रीदर नौ रुपैयाँ ७८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६९ पैसा र बिक्रीदर १२ रुपैयाँ ७५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले जुनसुकै समयमा पनि उल्लेखित दर संशोधन गर्न सक्ने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।