उपत्यकाबाट दैनिक दुई लाख यात्रु बाहिरिँदै

उपत्यकाबाट दैनिक दुई लाख यात्रु बाहिरिँदै
काठमाडौँ, असाेज १० ।
षष्ठी, सप्तमी र अष्टमीमा सडक वर्षभरिकै सबैभन्दा बढी व्यस्त हुने –

-१२ लाख मानिसले काठमाडाैँ छाडिसकेको यातायात विभागको भनाइ

-काठमाडौंदेखि बाहिरिने सबै सडक–नाका सुचारु

-स्तरोन्नतिको अभावमा स्थानीय सडक समस्यामा

-यात्रुबाहकलाई नारायणघाट–मुग्लिङ सडक २४ घन्टा खुला

मंगलबारदेखि निरन्तर तीन दिन (१०–१२ गतेसम्म) राजमार्ग र स्थानीय सडक वर्षभरमै सबैभन्दा बढी व्यस्त हुँदै छन् । यातायात व्यवसायीका अनुसार यो अवधिमा ६ लाख मानिस उपत्यकाबाट बाहिरिँदै छन् । ‘काठमाडौंमा पेसा–व्यवसाय गर्नेदेखि अधिकांश विद्यालय, क्याम्पस बिदा हुने भएकाले यो वर्षको दसैँमा घर जाने ‘पिक आवर’ सुरु हुँदै छ,’ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने । बिहीबारसम्म सबै यात्रुको यात्रा सफल बनाउन सकेको खण्डमा यो वर्षको दसैँ सफल भएको मानिने व्यवसायीको भनाइ छ । ‘त्यसका लागि यात्रुबसको व्यवस्थापनमा खटिरहेका छौँ,’ सिटौलाले भने । मंगलबारसम्म काठमाडौं उपत्यकाबाट बाहिरिएकामध्ये ११ लाख गन्तव्य (घर) मा पुगिसकेको र करिब १ लाख मानिस यात्रारत रहेको महासंघले जानकारी दिएको छ ।

यात्रुबाहक बस तथा अन्य सवारीसाधन बिहान २ बजेदेखि बेलुका ६ बजेसम्म गन्तव्यतर्फ लागिरहेका छन् । ग्रामीण क्षेत्रतर्फ गएका सवारीसाधन भने सडकको दुरावस्थाको कारण समयमा फर्कन नसक्दा ढिला भइरहेको यातायात व्यवसायीले जानकारी दिएका छन् । राजमार्गमा भने तुलनात्मक रूपमा यात्रा सहज रहेको छ ।

ग्रामीण भेगको यात्रा कष्टकर, ठूला सहर र सदरमुकाममा सहज
यो वर्ष देशभरका अधिकांश ग्रामीण भेगमा सडकको दुरावस्थाको कारण यात्रुलाई सास्ती भइरहेको छ । कतिपय स्थानीय सडक गाडी गुडाउनसमेत कठिन हुँदा दसैँ, तिहार तथा छठलगायतका चाड मनाउन घर हिँडेकालाई समयमै गन्तव्यमा पुग्न समस्या भइरहेको विभिन्न गन्तव्यमा यात्रारत र घर पुगेका यात्रुको गुनासो छ । यातायात व्यवसायीले पनि मुख्य राजमार्ग छोडेर स्थानीय सडकलाई छुनेबित्तिकै सडक समस्या बनेको बताएका छन् । ‘यसको कारण लामो दूरीका सवारीसाधन गन्तव्यसम्म पुग्न समस्या परिरहेको छ भने फर्केर आउन पनि ढिलाइ भइरहेको छ,’ महासंघका महासचिव सिटौलाले भने । समयमा बस छुट्ने वा गन्तव्यमा नपुग्दा वृद्धा, बालबालिका, सुत्केरी, बिरामीलगायतका यात्रुको बिचल्ली हुने गरेको छ ।

यात्रा गर्न सहज 

काठमाडौंदेखि अधिकांश जिल्ला सदरमुकाम, पोखरा, नेपालगन्ज, बुटवल, कैलाली, दीपायल, विराटनगर, हेटौँडा, मन्थली, सिन्धुली, विराटनगर, इलाम, जनकपुरलगायत सहरी क्षेत्र ।

यात्रा गर्न असहज 

काठमाडौंदेखि अधिकांश जिल्लाका सदरमुकाम र सहरी क्षेत्रबाहेकका ग्रामीण क्षेत्र, जोमसोम, जुम्ला, अर्घाखाँची, नुवाकोट, खोटाङ, सोलुखुम्बु, जाजरकोट, संखुवासभालगायत ।

स्तरोन्नतिको अभावमा स्थानीय सडक समस्यामा
अहिलेसम्म ५७ हजार ९९७ किलोमिटर (किमि) ग्रामीण सडक निर्माणको चरणमा छ । यस सडकमध्ये जम्मा २ हजार ४ किलोमिटर सडक मात्र कालोपत्रे गरिएको छ । यो भनेको कुल स्थानीय सडकको ४ प्रतिशत मात्र हो । यसकारण अधिकांश सडक अझै कालोपत्रे भएका छैनन् । केही ठाउँमा पानी परिरहेको कारण धुले सडकमा समस्या आएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागको भनाइ छ । विभागका महानिर्देशक जीवनकुमार श्रेष्ठ सडकलाई स्तरोन्नति गरेर कालोपत्रे गर्न सकेको खण्डमा बाह्रै महिना यात्रा सहज हुने बताए ।

विभागको पछिल्लो तथ्यांकअनुसार देशभरमा ग्राभेल स्तरमा रहेको स्थानीय सडक १२ हजार ८२३ किलोमिटर रहेको छ । यो कुल स्थानीय सडकको २२ प्रतिशत हो । त्यस्तै, धुले (ट्र्याक मात्र खोलेको) सडक ४२ हजार ८ सय ५ किलोमिटर रहेको छ । यो कुल सडकको ७४ प्रतिशत हो । सडक इन्जिनियर तथा यातायात व्यवसायीका अनुसार यो धुले सडक नै सबैभन्दा समस्याग्रस्त सडक हो ।

काठमाडौंदेखि बाहिरिने सबै सडक–नाका सुचारु
यो वर्ष भाडा तिरेरै अधिकतम् २० लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विगतमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका थिए । त्यस्तै, निजी सवारीसाधनबाट पनि पाँचदेखि सात लाख मानिस उपत्यकाबाट बाहिरिने निश्चितजस्तै भएको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए । तर, चाडपर्वमा बाहिरिने यात्रुको अध्ययनमा आधारित यकिन तथ्यांक विभाग र यातायात व्यवसायी दुवैसँग छैन । बाहिरिने यात्रुमध्ये सबैभन्दा धेरैले कलंकी, नागढुंगा, मुग्लिङ नारायणघाट हुँदै पूर्व–पश्चिम राजमार्ग प्रयोग गर्नेछन् । यसबाहेक राजधानी जोड्ने अरनिको, सिन्धुली–बर्दिबास, पासाङल्हामु राजमार्ग पनि व्यस्त हुनेछन् । सबैभन्दा बढी व्यस्त हुने मुग्लिङ–नारायणघाट खण्डमा चाडपर्वको वेला खाल्डा पुर्ने काम गरिएको छ । यो वर्ष अरनिको राजमार्ग भने अन्यको तुलनामा व्यवस्थित छैन । भारतीय सहयोगमा सडक स्तरोन्नतिको काम भइरहेकाले रोकिँदै जानुपर्दा समयमै नपुग्ने समस्या रहेको अरनिको राजमार्ग बस सञ्चालन गरिरहेका रमेश बस्नेतले जानकारी दिए ।

यात्रुबाहकलाई नारायणघाट–मुग्लिङ सडकमा २४ घन्टा खुला
नजिकिँदो चाडपर्व र मौसममा देखिएको सुधारसँगै यात्रुबाहक र साना सवारीसाधनलाई २४ घन्टा नै छोडिने भएको छ । चाडपर्वमा यात्रुबाहक सवारीसाधनको बढ्दो चाप र ती सवारीलाई प्राथमिकता दिँदै सवारी व्यवस्थापन चुस्त बनाउन मालबाहक ठूला सवारीसाधनलाई भने प्रत्येक दिन राति ८ बजेदेखि १२ बजेसम्म रोकिने भएको छ । ती सवारीसाधनलाई नारायणघाटतर्फबाट आउनेलाई भतेरी जंगल इलाकामा, काठमाडौंतर्फबाट आउनेलाई लेवाटार इलाकामा र पोखरातर्फबाट आउनेलाई आँबुखैरेनीमा रोकिने आयोजना कार्यालयले जानकारी दिएको छ । -नयाँ पत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय