उपत्यकाबाट ६७ मेट्रिक टन फोहर व्यवस्थापन

उपत्यकाबाट ६७ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, भदौ ३१। वाग्मती सफाइ महाअभियान शुरु भएको २२७ औँ हप्तामा उपत्यकाबाट सबैभन्दा बढी ६७ मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

वाग्मती सफाइको २२७ औँ हप्तामा आज बानेश्वर क्याम्पसअघि जनचेतनामूलक अभियानसहित सफाइ गरियो । वाग्मती सफाइबाट आज सात मेट्रिकटन फोहर व्यवस्थापन भयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिकालगायत संस्थाका ४५० अभियन्ताको सहभागिता रहेको प्रवक्ता उमेश बोहराले बताए ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८९ औँ हप्तामा आज गोकर्णेश्वर नगरपालिकास्थित हनुमानघाट क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजलगायत संस्थाका १०० अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १८७ औँ हप्तामा कमलपोखरीदेखि गौशाला चोकसम्मको सडकमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्दाउँदा जम्मा भएको धुलो सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।

सांसद गीता राणा, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौँ महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्कीको नेतृत्वमा भएको सफाइबाट १२ मेट्रिक टन धूलो व्यवस्थापन गरियो । धूलो व्यवस्थापनका लागि स्काभेटर, जेसिबी र ट्रिपर पनि प्रयोग गरिएको थियो ।

विष्णुमती सफाइको १५८ औँ हप्तामा माछापोखरी–बालाजु सडक किनारमा ट्राफिक प्रहरीले सम्याउँदा जम्मा भएको १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

तिलगंगा महिला समूहले तिलगंगा क्षेत्रको वाग्मती नदीमा गरेको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । यसैगरी चक्रपथ सफाइको २३ औँ हप्तामा वसुन्धरादेखि महाराजगञ्जसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

मीनभवनस्थित आलोकनगरमा सकारात्मक मातृशक्ति आवाजले गरेको २३ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा १०० भन्दा बढी महिलाको सहभागिता थियो । सो अवसरमा वाग्मती नदी किनारमा निर्माण सम्पन्न गरिएको प्रतिक्षालयको पनि उद्घाटन गरियो ।

यसैगरी बल्खुस्थित इन्द्रमती नदी सफाइको तेस्रो हप्तामा आज खड्कुलो पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मनोहरा नदीको तेस्रो हप्ताका सफाइ कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी आवास गृहअघि गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन भयो ।

यसैगरी वाग्मती सफाइ महाअभियानको नेतृत्वमा शुरु भएको पशुपति क्षेत्र सफाइ १०० दिनसम्म निरन्तर जारी रहने प्रवक्ता उमेश बोहराले जानकारी दिए ।

पशुपतिमा आइतबारदेखि दैनिक तीनचरणमा सफाइ गरिनेछ । बिहान पाँच बजेदेखि राति २ बजेसम्म तीन समूह बनाइ सफाइ एवं ढुंगामा पालिस लगाएर चम्काइनेछ ।

दैनिक तीन चरणमा गरिने सफाइमा स्वयंसेवीका रुपमा काम गर्न चाहनेले सफाइ महाअभियानमा सम्पर्क गर्नसक्ने उहाँले बताउनुभयो । पशुपति सफाइमा पशुपति क्षेत्र विकास कोष र हेम्स क्लिनिङको पनि सहयोग रहदै आएको छ । रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय