कस्तो छ थारू समुदायमा सिकलसेलको असर ?
काठमाडौं, असोज २३ । सबैभन्दा बढी सिकलसेल सङ्क्रमण हुने थारू समुदायमा कस्तो छ त रोगको अवस्था ? कुन उमेर समूहका व्यक्तिलाई बढी रोगले सताउँछ । रोगबाट मानवीय क्षति न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ।
ती प्रश्नको निराकरण गर्ने प्रयासस्वरुप अहिले नेपालमा सबैभन्दा धेरै थारूको बसोबास रहेको बर्दियाको बारबर्दिया नगरपालिकामा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सिकलसेलको अध्ययन थालेको छ । सिकलसेल एनिमियाँ रातो रक्तकोषभित्र रहेको हेमोग्लोबिनलाई असर पार्ने वंशाणुगत रोग हो ।
“हामीले अध्ययन गरिरहेका छौँ, यसबाट महत्वपूर्ण तथ्य आउने छ”, अनुसन्धान अधिकृत सृष्टी प्रियदर्शीनीले भन्नुभयो, “अध्ययनले खास अवस्था पत्ता लगाउने छ र मृत्युदर कम गर्ने उपायको खोजी गर्न सहयोग गर्छ ।” विसं २०६८ को जनगणनामा नेपालमा १७ लाख ३७ हजार थारू रहेकोमा त्यसमध्ये ५६ प्रतिशत बर्दियामा छन् । बर्दियाको पनि धेरै थारू समुदाय रहेको बारबर्दिया नगरपालिका हो । त्यसैले त्यहाँ अनुसन्धान केन्द्रित गरिएको परिषद्को भनाइ छ ।
परिषद्का कार्यकारी अध्यक्ष डा अञ्जनीकुमार झाको संयोजकत्वमा समिति गठन गरी गएको चैतदेखि अनुसन्धान थालिएको हो । प्राविधिकले अहिलेसम्म १३ हजार नमूना सङ्कलन गरेका छन् । बीस हजार नमूना सङ्कलन गर्ने लक्ष्य छ । सङ्कलित नमूनाको वीर अस्पतालमा परीक्षण हुन्छ ।
अनुसन्धानमा एकदेखि २९ वर्ष उमेर समूहका व्यक्ति छनोट गरिएको छ । खासगरी १ देखि ५ वर्ष उमेर समूहका बालबालिकामा मृत्युदर बढी हुन्छ । “पेटको बच्चामा डिएनए परीक्षण गरेर रोग फेला परेमा बुबाआमाले चाहेमा बच्चा रोक्न सक्ने अवस्था हुनसक्छ, नभए बेलैमा सावधानी अपनाउन सकिन्छ, त्यसैले प्रतिवेदन आएपछि समुदायलाई सचेत गराउने कामसमेत हुन्छ”, प्रियदर्शीनीले भने । अनुसन्धानले रोगको पहिचान गर्ने र प्रभावितलाई परामर्श दिएर ज्यान जोखिम हुनबाट रोक्छ । अनुसन्धानमा सहभागी डा श्यामकुमार विक अनुसन्धान सँगसँगै परामर्श सेवाका कार्यक्रमसमेत चलिरहेको बताउँछन् ।
थारूमा मात्रै छैन सिकलसेल
सिकलसेल थारूमा मात्रै लाग्ने रोग भन्ने गरिए पनि परिषद्ले भने त्यसलाई इन्कार गरेको छ । अन्य समुदायमा पनि रोग देखिएको तर बढी थारू समुदायमा सङ्क्रमण रहेको परिषद्को भनाइ छ ।
तथ्याङ्कअनुसार नेपालमा करीब १८ प्रतिशत थारू समुदायमा यो रोग देखिएको छ । आठदेखि १० प्रतिशत गैर थारू समुदायमा रोग देखिएको छ । “थारूमा मात्रै यो रोग देखिन्छ भनेर जसरी प्रचार भइरहेको छ, त्यो चाँहि हैन, अरु समुदायमा पनि रोग छ ”, प्रियदर्शीनीले भन्नुभयो । यो वंशाणुगत रोग भएकाले आफ्ना पुर्खामा भए सरेर आउन सक्छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २००७ को प्रतिवेदनमा अफ्रिकामा ४५ प्रतिशत मानिस यो रोगबाट प्रभावित भएको तथ्याङ्क छ ।
भारतको गुजरात, राजस्थान र अमेरिकामा पनि रोग देखिएको विभिन्न अध्ययनले देखाएको छ । नेपालको दाङ, बाँके, बर्दियामा बढी देखिएको छ । रौतहटको झा समुदायमा समेत रोग देखिएको छ ।
पूर्वी नेपालका थारू समुदायमा भने न्यून रहेको छ । यसअघि विभिन्न अस्पताल र विश्वविद्यालयले सीमित क्षेत्रको अनुसन्धान गरे पनि एउटा नगरपालिकालाई नै केन्द्रित गरेर अनुसन्धान गरेको पहिलो भएको दाबी परिषद्को छ । यसको प्रतिवेदन आएपछि समग्र नेपालमै सिकलसेलको एनिमियाँ अवस्थाको बारेमा अध्ययन गर्ने योजना रहेको परिषद्का उपप्रमुख प्रशासकीय अधिकृत निर्भयकुमार शर्मा बताउनुहुन्छ ।
के हुन्छ सिकलसेलको असर
पहिलो पटक कपिलवस्तुमा सिकलसेल एनिमियाँ रोग पत्ता लागेको थियो । शुरुमा यो रोग लागेका बिरामीमा शरीर दुख्ने, हड्डी दुख्ने, रगत कम हुने, अल्छी लाग्ने हुन्छ ।
रगत कम भएर रक्त अल्पता हुन्छ । जाँगर नलाग्ने, सुस्तता आउने हुन्छ । वंशाणुगत रुपमा सर्ने भएकाले उपचारको विधि विश्वमा नरहेको सिकलसेल अनुसन्धानमा सक्रिय डा विक बताउनुहुन्छ । “यसको उपचार भनेको लक्षणअनुसारको औषधि हो”, उहाँ भन्नुहुन्छ । रोगको न्यूनीकरणका लागि बर्दियामा नयाँ शैक्षिक तथा परामर्श सेवाको अभियान थालिएको छ । जेटेटिक परामर्श सेवा थालिएको र सिकलसेल हुनेले नहुनेसँग बिहे गर्ने अभियान चलाइएको छ जसले गर्दा ७५ प्रतिशत रोग सर्नबाट रोकिने डा विक बताउनुहुन्छ । यसले अहिले समाजमा सकारात्मक प्रभाव पारेको छ ।
सिकलसेल भएकालाई रातो, महिलामा मात्रै हुने र अरुलाई नसर्ने खालको रोग भएका बिरामीलाई पहँेलो र रोग नभएकालाई हरियो कार्डको अवधारणा ल्याइएको छ । रोग घटाउनका लागि यो कार्यक्रम चलाइएको छ ।
शैक्षिक तथा परामर्श सेवा सँगसँगै
सरकारले बारबर्दिया नगरपालिकासँगै मिलेर यही शैक्षिक सत्रदेखि सामाजिक विषयमा सिकलसेलको अनिवार्य शिक्षा लागू गरेको छ । यसले गर्दा यो अरुजस्तै रोग हो आत्तिनु हुँदैन भनेर शिक्षा दिन्छ । रोग भएकाले नभएकासँग बिहे गर्दा रोग सर्ने सम्भावना न्यून हुन्छ भनेर विद्यार्थीतहबाटै शिक्षा प्रदान गर्ने भएकाले समाजमा सकारात्मक सन्देश जाने विश्वास छ । गाउँगाउँमा रोगको बारेमा परामर्श दिएर रोगको असर न्यूनीकरण तथा रोकथामका उपायसमेत सँगसँगै लगिएको छ । रासस
अझै तीन हप्ता डेंगुको जोखिम कायमै
काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”
थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।
कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह
काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल
पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।