कोरियन उपप्रधानमन्त्रीसँग अर्थमन्त्री महतको भेटवार्ता, कोरियन कम्पनीहरूलाई नेपालमा लगानी गर्न आग्रह
मोरक्को । अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरुलाई पनि लगानी गर्न आग्रह गरे । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कमाईरहेकाले कोरियन कम्पनीलाई पनि नेपालमा राम्रो अवसर भएको बताए ।
‘नेपाल लगानी गरेका भारतिय बहुराष्ट्रिय कम्पनी डाबर, अमेरिकी बहुराष्ट्रिय कम्पनी कोकोकोला र पेप्सी, भारतिय कम्पनी आइटीसी ईण्डिया मात्रै होइन् मलेसियन टेलिकम कम्पनीले पनि राम्रो नाफा कमाईरहेका छन्,’ मन्त्री महतले कोरियन उपप्रधानमन्त्रीलाई भने,‘ हामीहरुले चालू आर्थिक वर्षको बजेट मार्फत् निजी क्षेत्रको लगानीलाई थप सहजिकरण गर्ने प्रयास गरेका छौं । आगामी दिनमा पनि निजी क्षेत्रलाई सुविधा दिने हाम्रो सोच छ । कोरियन लगानीकर्तालाई नेपालमा स्वागत गर्न हामी इच्छुक छौं ।’
नेपाल सरकारले इज अफ डुइङ विजनेसमा निरन्तर सुधार गरिरहेको भन्दै कोरियन लगानीकर्तालाई झन्झट नहुने मन्त्री महतले बताउनुभयो । ‘भारत सरकारले नेपालबाट १० हजार मेगावाट विजुली खरिद गर्ने निर्णय गरिसकेको छ,’ महतले भने, ‘जलविद्युत उत्पादन, प्रशारण र वितरणलाइन, डिजिटल क्षेत्र, कृषि, पर्यटन लगायतका क्षेत्रमा नेपालमा राम्रो आम्दानी गर्न सक्ने अवसर छ ।’
नेपाली कामदारलाई कोरियामा लगेर कोरियन कम्पनीले राम्रो प्रगति गरिरहेको भन्दै मन्त्री महतले नेपालमै लगानी गरेर लाभ लिन र नेपालको आर्थिक वृद्धीमा पनि सहयोग गर्न आग्रह गरे ।
‘अहिले तपाईंहरु संघर्ष गरिरहेका देशलाई सहयोग गर्ने तहमा हुनु हुन्छ । हाम्रो देशमा पर्यटन विकासको ठूलो सम्भावना छ । तर, कमजोर सडक पूर्वाधारले समस्या भईरहेको छ,’ मन्त्री महतले भने, ‘निजी क्षेत्रले दीर्घकालनमा लाभ दिने सडक जस्ता क्षेत्रमा लगानी गर्दैनन् । कोरियन सरकारलाई पूर्वाधार विकासमा सहुलियतपूर्ण कर्जा, अनुदान, क्षमता विकासमा सहयोग गर्न अनुरोध छ ।’
मन्त्री महतसँगको भेटमा कोरियन उपप्रधानमन्त्रीले नेपालको पूर्वाधार विकासमा सहयोग गर्न आफूहरु तयार रहेको बताए। भेटमा कोरियन अर्थमन्त्री चु क्यूङले ६० वर्षमा कोरिया प्रतिव्यक्ति आय ८० डलरबाट ३३ हजार डलर पुर्याउने अवस्थामा पुगेको भन्दै निरन्तर प्रयास गर्दा आर्थिक वृद्धी सम्भव हुने बताए । उनले केही कोरियन लगानीमा दोहारो कर सम्बन्धी समस्या रहेको भन्दै त्यसलाई समाधान गर्न मन्त्री महतलाई आग्रह गरे । जवाफमा मन्त्री महतले दोहोरो कर सम्बन्धी समस्या समाधान गर्न आफू तयार रहेको र कोरियन लगानीलाई संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे।
मन्त्री महतले कोरियाका उपप्रधानमन्त्री महतलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरे । उपप्रधानमन्त्री चु क्यूङले आफू नेपाल भ्रमण गर्न इच्छुक रहेको भन्दै यथासक्य छिटो एजेण्डा तय गर्न आग्रह गरे । अर्थमन्त्री महतले १२ हजार नेपालीले काम गरिरहेको कोरियाको श्रम कानून राम्रो भएको भन्दै प्रशसा गरे । भेटमा कोरियाका अर्थमन्त्रीले नेपालका जनताको जिवनस्थर सुधार गर्न आफूहरु सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको बताए ।
नेपालले जलविद्युत परियोजना निर्माणमा राम्रो प्रगती गरेपनि कमजोर प्रशारण लाइनले जलविद्युत क्षेत्रबाट प्रयाप्त लाभ लिन नसकेकाले नेपालको प्रशारण लाइन निर्माणमा लगानी गर्न आग्रह गरे ।
बैठकका क्रममा केरियन अर्थमन्त्रीले सन् २०३० मा कोरियाको बुसनले वल्र्ड एक्सपो आयोजना गर्न खाजेको भन्दै नेपाललाई सहयोग गर्न आग्रह गरे ।
इटलीको रोम, साउदी अरेबियाको रियाद र कोरियाले सन् २०३० को एक्सपो आयोजना गर्न प्रतिस्पर्धा गरिरहेका छन् । जवाफमा मन्त्री महतले एक्सपो आयोजना गर्न कोरिया सक्षम भएको भन्दै कोरियनको आवेदनलाई समर्थन गर्ने विषयमा सकारात्मक छलफल गर्ने बताए ।
कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङलाई अर्थमन्त्री डा.महतले नेपाल वायु सेवा निगमलाई कोरियामा सिधा उडान अनुमति दिन माग गरे। कोरियन एयरलाइन्सले नेपालमा सिधा उडान गरिरहँदा नेपाल वायु सेवा निगमलाई पनि सिधा उडान गर्न दिनु पर्ने मन्त्री महतले बताए।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको संयुक्त बैठकमा भाग लिन मोरक्कोको मराकेस पुग्नुभएका अर्थ मन्त्री महतले कोरियाली अर्थ मन्त्रीसँग साइडलाइनमा वार्ता गरे । ‘कोरियाबाट एउटा मात्रै वायूसेवा कम्पनीले उडान गर्दा कोरिया र नेपालको हवाई भाडा महँगो छ । एउटै कम्पनीले एकाधिकारले हवाई भाडा महँगो हुँदा कोरिया रहेका नेपालीहरुले अन्य देश भएर आउनु परेको छ,’ मन्त्री महतले भने,‘नेपाल वायुसेवा निगमले नयाँ विमान खरिद गरेको छ । नेपाली कम्पनीलाई पनि सिधा उडान गर्न दियो भने प्रतिस्पर्धाले हवाई भाडा घट्ने थियो । त्यसले नेपाली नागरिकका साथैं नेपाल घुम्न आउने कोरियन नागरिकलाई समेत सहज हुने थियो ।’
नेपाल वायु सेवा निगमलाई कोरियामा उडान अनुमति दिन अर्थमन्त्री महतको आग्रह पछि कोरियाका उपप्रधान तथा अर्थ मन्त्रीले कोरियाली उड्डन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई उडान गर्न दिनु पर्ने विषय पुर्याउने बचन दिए । ‘तपाईंले भनेको विषयमा म सकारात्मक छु,’ अर्थमन्त्री चु क्यूङले भन्नुभयो, ‘कोरियाली सम्बन्धी निकायमा म यो विषय पुर्याउने छु ।’
विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी
लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।