गिरिजाप्रसाद कोइराला विश्व विद्यालयको स्थापना गर्नुपर्छ : मन्त्री बडू
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका छन् । शनिवार स्व. नेता गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोइराला विश्व विद्यालय खोल्नुपर्ने बताएका हुन् ।
उनले अरू नेताहरूको नाममा विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व.नेता कोइराला आदर्श र मूल्यमान्यताको प्रतीक भएकोले उनको नाममा जी.पी. कोइराला विश्व विद्यालयको स्थापना आवश्यक रहेको बताए । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यका साथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताए । उनले भने, ‘अब एउटा जीपी कोइराला विश्व विद्यालयको स्थापना आवश्यक छ । विभिन्न नेताहरूको नाममा छन् । तर जीपी कोइराला एउटा मान्यता हो । एउटा आदर्श, मूल्य,मान्यताको प्रतीक पनि हो । त्यसकारण गिरिजाप्रसाद कोइरालाको नामबाट हामीले एउटा विश्व विद्यालय बनाउन आवश्यक छ । जसले उत्कृष्ट विश्वविद्यालयको रूपमा आफूलाई स्थापित गर्ने उद्देश्यकासाथ स्थापना गर्न सरकार अवश्य पनि सहयोग गर्छ । व्यक्तिगत रूपमा म आफू पनि सहयोग गर्छु । गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा रहेको सरकार जसमा पनि मन्त्रीमण्डलको सदस्य थिएँ । त्यसबेला हामीले पहिलो विश्व विद्यालय काठमाडौँ विश्व विद्यालय खोलेका हौँ । त्यसपछिको एउटै उद्देश्य थियो, शिक्षामा अब प्रतिस्पर्धा आवश्यक छ । शिक्षा क्षेत्रको प्रतिस्पर्धाका कारणले आज इन्जिनियरिङ र मेडिकल कलेज कति वटा छन् । व्यवस्थापनका क्षेत्रमा एक सय एक प्रतिस्पर्धा छ । यो नीति नेपाली काँग्रेसको थियो । हामीले बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो प्रतिस्पर्धा रिजल्टमा देखाइरहेका छन् । त्यसैले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट आदर्श र उद्देश्य राखेर हामीले स्थापना गर्ने विश्व विद्यालय अवश्य पनि हामी सबैका निमित्त गौरवको विषय हुन्छ ।’
मन्त्री बडूले क्षमतासहितको प्रतिस्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य राखेर जी।पी। कोइराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार रहेको प्रतिबद्धता जनाए ।
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।