चुनावको मुखमा सीडीओको सरुवा

चुनावको मुखमा सीडीओको सरुवा

काठमाडौं, असोज १ ।  गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै पाँच दर्जन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेका छन् । कर्मचारीको काम हेरी जिम्मेवारी तोक्ने आफ्नो घोषित प्रतिबद्धताविपरीत शर्माले गृह प्रशासनमा करिअर बनाएका अधिकारीहरूलाई अन्यत्र धपाउदै अनुभवहीन र आफूले भनेको मान्नेहरूलाई जिल्ला प्रशासनको नेतृत्वमा ल्याएका हुन् ।

दुई महिना पनि नपुग्दै सीडीओहरूको सरुवा हुन थालेपछि जिल्ला प्रशासन कार्यालयहरूमा कर्मचारीले काम गर्ने वातावरणसमेत बिग्रिएको जानकारी नाम उल्लेख गर्न नचाहने गृहकै अधिकारीले दिए । नयाँ जिल्लामा हाजिर भएको सामान्यत: एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रचलनविपरीत मन्त्री शर्माले पदस्थापन भएको दुई महिना पनि नपुगेका १५ जिल्लाका सीडीओ हेरफेर गरेका हुन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर १० र २१ मा हुँदैछ । निर्वाचन आयोगले त्यो चुनावका लागि आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिता लागू भएपछि आयोगको सहमतिबिना सरुवा गर्न पाइँदैन । तर, मन्त्री शर्माले भने पुरानो मिति राखी आचारसंहिताविपरीत सीडीओहरूलाई छिटोछिटो सरुवा गरी जिल्लाको शान्ति सुरक्षा कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रशासन कार्यालयलाई अस्थिर बनाइरहेको गृहका अधिकारीले बताए ।

‘दुई महिनामा ६० जना सीडीओको सरुवा भएको छ । गृहमन्त्रीले प्रचलित नियम, परम्परा र आचारसंहिताको उल्लंघन गरी त्यति ठूलो संख्यामा सरुवा गरेका हुन्,’ ती अधिकारीले भने । भदौ ८ र साउन २६ मा उनले सहसचिव र उपसचिव तहका सीडीओको सरुवा गरेका थिए । त्यसपछि पनि विभिन्न मितिमा उनले सरुवा गरेका छन् । लामो समयसम्म गृह प्रशासनमा अनुभव बटुलेका कर्मचारीलाई भने उनले अन्यत्रै खटाएका छन् । ‘गृह अन्तर्गत नै करिअर बनाएका, अनुभवी अधिकृतहरुलाई अन्यत्रै पाखा लगाइएको छ । नयाँलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ,’ ती सहसचिवले भने । महत्वपूर्ण जिल्लाहरूमा समेत सीडीओलाई पुरानो मिति राखि समेत काजमा पठाइएको छ ।

गृहले मोर्रमा रामप्रसाद आचार्य, काठमाडौंमा केदारनाथ शर्मा, झापामा ऋषिराम तिवारी, धादिङ्गमा श्यामप्रसाद भण्डारीलाई काजमा सीडीओ पठाएको छ । बाँकेमा रमेशकुमार केसीलाई काजमा पठाएका छन् । हाजिर भएको ४ महिना नबित्दै म्याग्दीका सीडीओ राजुप्रसाद पौडेललाई अध्यागमन विभाग, बझाङ्गका केशव थापालाई मन्त्रालय, जुम्लाका नारायणप्रसाद सापकोटालाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, रामेछापका सुर्यबहादुर खत्रीलाई मन्त्रालय, भोजपुरका गोमादेवी चेम्जोङलाई अध्यागमन कार्यालय पुर्‍याएको छ । मनाङका सुनिल खनाल र दैलेखका सीडीओ प्रकाशचन्द्र अधिकारीलाई २ महिनामै मन्त्रालयमा फर्काइएको छ ।

गृहमन्त्री शर्माले कतिपय आफ्ना जिल्लावासी अधिकृतलाई कनिष्ठ भएपनि सीडीओ बनाएर पठाएका छन् । बाँके, मकवानपुर, जाजरकोटलगायतमा उनले माओवादी केन्द्र निकट मानिएका अधिकृतहरूलाई काजमा पठाएका छन् । सीडीओले न्यायिक काम समेत गर्नुपर्ने भएकाले त्यससम्बन्धी तालिम लिनै पर्ने अनिवार्य व्यवस्था छ । तर, अहिले गृहले सरुवा गरेका आधा भन्दा बढी सीडीओले त्यससम्बन्धी तालिम समेत नलिएको दाबी श्रोतले गरेको छ ।

पूर्व मुख्य सचिव विमल कोइराला आचारसंहिता लागेका बेला यसरी सरुवा गर्न नमिल्ने बताउँछन् । ‘सरुवा नगरी नहुने केही ठाउ भए बेग्लै कुरा । तर, चुनावको मुखमा ठूलो संख्यामा सरुवा गर्दा नियतमाथि प्रश्न उठ्छ । सरकारले यसतर्फ ध्यान दिनुपर्छ’, कोइरालाले भने । सीडीओ सरुवा गर्दा सम्बन्धित व्यक्तिको योग्यता, तालिम, संयोजनकारी भूमिकासमेत ख्याल गर्नुपर्ने प्रचलन रहेको उनले जानकारी दिए ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले भने सरुवालाई सामान्य प्रक्रियाका रुपमा लिनुपर्ने बताए । ‘कतिपयको चाँडो हुन्छ । कतिपय लामो समय बस्न पनि सक्छन् । सम्बन्धित जिल्लाको सुरक्षा संवेदनशीलताका आधारमा पनि सरुवा हुन्छ,’ उनले भने ।

गृह प्रशासनमा लामो अनुभव सम्हालेका सहसचिवहरु बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालय, यादव कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नारायणप्रसाद दवाडीलाई मन्त्रालयमै काज सरुवा गरिएको छ । सहसचिवहरु चक्रबहादुर बुढालाई मकवानपुर, आशमान तामाङलाई सिन्धुपाल्चोक, सिताराम कार्कीलाई सुर्खेत, नारायणप्रसाद भट्टराईलाई बर्दिया, चन्द्रमान श्रेष्ठलाई उदयपुर, मदन भुजेललाई कपिलवस्तुको सीडीओमा काजमा पठाइएको छ ।

‘गृहमन्त्रीले गृहकै अनुभव बोकेकालाई छानीछानी पन्छाएका छन् । नयाँ र अनुकुलका अधिकृतलाई सीडीओको जिम्मेवारी दिँदै पठाएका छन् । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई मध्यनजर गरी सरुवा गरिएको हो’ गृहमा लामो अनुभव बोकेका एक अधिकृतको विश्लेषण छ । -कान्तिपुरबाट

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय