चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरे : धर्मेन्द्र बास्तोला

चुनावमा जनताले कम्युनिष्टहरूलाई कारबाही गरे : धर्मेन्द्र बास्तोला

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ’कञ्चन’ले अहिलेको चुनावमा नेपाली जनताले कम्युनिष्टलाई कारबाही गरेको बताएका छन् । शुक्रबार काठमाडौंमा “नेपाली कम्युनिष्ट आन्दोलनको आगामी दिशा“ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेपालका कम्युनिष्ट भन्नेहरु चाहे त्यो एमाले होस् या माओवादी केन्द्र, यिनीहरुले आफ्नो सिद्धान्त र नीति छोडेका कारण चुनावमा जनताले मतदान नगरेर उनीहरुलाई कारबाही गरेको कञ्चनको दाबी छ ।

अहिलेको नेपालको कम्युनिष्ट आन्दोलन पथभ्रष्ट भएको भन्दै अहिले नेपालमा कम्युनिष्ट भन्ने पार्टीहरुले सामान्ती प्रकारको व्यवहार गर्ने, आफ्नो सर्वहारा वर्गीय धर्मबाट च्यूत हुने र दलाल, भ्रष्टहरुलाई पोस्ने कार्य गरेका कारण जनताले सबक सिकाएको उनले बताए ।

संसद्वाद नेपालमा रहिरह्यो भने कम्युनिष्टको नाममा भोट थाप्नेहरु सबै नेपालबाट नामेट भएर जानेसमेत उनले बताए । नेपाल र नेपालीको हित चाहने हो भने नेपालका सम्पूर्ण कम्युनिष्टहरुको एकता र ध्रुवीकरण जरुरी भएको उनको भनाइ छ ।

नेपालका कम्युनिष्ट भन्ने पार्टीहरु प्राय साम्राज्यवादी र बिस्तारवादीहरुको चाटुकार बन्ने गरेका कारण जनतामा कम्युनिष्टप्रति वितृष्णा जागेको भन्दै कञ्चनले नेपालमा मात्र नभएर विश्वभर नै क्रान्तिकारीहरुका लागि परिस्थितिप्रतिकूल बन्दै गइरहेकाले सबै कम्युनिष्टहरुलाई एकीकृत र ध्रुवीकृत बन्न आग्रह गरे ।

उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने

काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।  काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।

कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित

काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।

बाराको गढीमाई मन्दिरमा मेला शुरु

बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।

लोकप्रिय