जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

जलवायु सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार साँझ स्वदेश फर्किएका छन्। मङ्सिर १३ गते राति ९ बजे युएई गएका प्रधानमन्त्री प्रचण्ड पाँच दिने भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्री, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीले स्वागत गरे ।

शनिबार जलवायु सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै सो अवस्थाका अन्त्य गर्नुपर्ने बताए। उनले हिमाल जोगाउन र विश्वका मानव जातिको रक्षाका लागि जलवायु परिवर्तनको असर न्युनिकरणका लागि सहयोग गर्न पनि अन्तराष्ट्रिय समुदायलाई आह्वान गरे। सम्मेलनमा उनले विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता पनि गरे ।

विमानस्थलमा पत्रकारलाई प्रधानमन्त्रीको २१ बुँदे सम्बोधन जस्ताको तस्तै
उपस्थित सञ्चारकर्मी मित्रहरू,
१.संयुक्त अरब इमिरेट्सका प्रधानमन्त्री तथा उपराष्ट्रपति His Highness Sheikh Mohammed bin Rashid Al Maktoum को निमन्त्रणामा दुबईमा आयोजना भएको United Nations Framework Convention on Climate Change को 28th Conference of the Parties (COP 28) को World Climate Action Summit मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २०८० मंसिर १३ देखि १७ गते (2023 नोभेम्बर २९ देखि डिसेम्बर ३) सम्म भाग लिएर आज स्वदेश फर्किएको छु।
२.भ्रमणका क्रममा मैले मंसिर १४ गते (नोभेम्बर ३०) अबुधाबीस्थित नेपाली राजदूतावासको अवलोकन गरी दूतावासका कामकारवाही, कठिनाइ/चुनौतीहरू लगायतका विषयमा जानकारी लिई संयुक्त अरब इमिरेट्समा रहेका नेपाली श्रमिकसँग सम्बन्धित उद्धार, राहत, क्षतिपूर्ति, कानूनी प्रतिरक्षा लगायतका सेवाहरू उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी छिटो छरितो एवम् प्रभावकारी रूपमा प्रवाह गर्न निर्देशन दिएको छु। संयुक्त अरब इमिरेट्सबाट नेपालमा लगानी भित्र्याउन समन्वयात्मक हिसाबले पहल गर्नसमेत मैले राजदूतावासलाई निर्देशन दिएको छु।
३.यसै गरी नेपाली राजदूतावासबाट आयोजित त्यहाँ रहेका नेपाली समुदायका प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै विदेशमा रहेका नेपालीहरूले मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानका लागि उहाँहरूलाई धन्यवाद दिँदै मुलुकको विकासमा थप क्रियाशील रहन अनुरोध गरेको छु।
४.नेपाल सरकारले हालका दिनमा श्रम क्षेत्रको सुधारका लागि अबलम्बन गरेका नीति तथा कार्यक्रमहरूले वैदेशिक रोजगारी थप व्यवस्थित, मर्यादित र भरपर्दो हुने अपेक्षा रहेको धारणा नेपाली समुदायका प्रतिनिधिहरूबीच राखेको छु ।विदेशी भूमिमा दुख गरी आर्जन गरेको आयलाई वैधानिक बाटोबाट स्वदेश पठाउदा प्राप्त हुने लाभको उपयोग गर्न अनुरोध गरेको छु ।


५.सोही दिन साँझ नेपाली राजदूतावाससँगको समन्वयमा नेपाल उद्योग वाणिज्य महासंघ तथा दुबई च्याम्बर्सले पहिलोपटक संयुक्त रूपमा दुबईमा आयोजना गरेको Nepal-Dubai Business Forum लाई सम्बोधन गरेँ। उक्त कार्यक्रममा नेपालमा लगानीको उपयुक्त वातावरण रहेकोले नेपालका प्राथिमकता प्राप्त क्षेत्रमा लागानी गर्न युएईका लगानीकर्ताहरूलाई आह्वान गरेको छु। नेपालमा लगानीका प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेको र ती सम्भावनाहरूलाई मूर्त रूप दिन र वैदेशिक लगानीको संरक्षण गर्न नेपाल सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएको थिएँ।उक्त फोरममा उपस्थित युएई सरकारका उच्च अधिकारीहरूले नेपाल र युएईले व्यापार र लगानीका क्षेत्रमा सहकार्य गर्न सक्ने सम्भावनाका सम्बन्धमा सकारात्मक सन्देश प्रवाह गरेका थिए। कार्यक्रममा उद्योगी, व्यापारी एवम् लगानीकर्ताहरूको उत्साहजनक सहभागिता रहेको थियो।
६.भ्रमणको तेस्रो दिन मंसिर १५ गते (१ डिसेम्बर २०२३) का दिन जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २८ ‍औं सम्मेलन COP28 को औपचारिक उद्‌घाटन समारोहमा सरिक भएँ।
७.उक्त उद्‌घाटन समारोहका अवसरमा उपस्थित विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूसँग भेटघाट भएको थियो। सम्मेलनमा भाग लिन आउनुभएका भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीसँग समेत उद्‌घाटन कार्यक्रमका दौरानमा भेटघाट भएको थियो। सो भेटमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्पले पारेको प्रभावका बारे चासो राख्दै प्रधानमन्त्री श्री मोदीले भूकम्प पीडितलाई आवश्क पर्ने सहयोग उपलब्ध गराउन तत्पर रहेको कुरा बताउनुभएको थियो।
८.सोही दिन अपरान्ह सम्मेलन आयोजना स्थलमा रहेको Nepal Pavilion को अवलोकन भ्रमण गरेको थिएँ। सो क्रममा Pavilion मा उपस्थित जलवायु परिवर्तनका क्षेत्रमा क्रियाशील नेपालीहरूलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको प्रभावलाई न्यून गर्न नेपाल सरकारले चालेका कदमहरू र COP28 मा नेपालले उठाउने एजेण्डा र प्राथमिकताका क्षेत्रहरूको बारेमा जानकारी गराएको थिएँ। जलवायु सम्मेलनमा पहिलोपटक नेपालको आफ्नो छुट्टै Pavilion भएको हुँदा यसको विशेष महत्त्व रहेको मैले पाएको छु।
९.सोही दिन Global Stocktake (GST) High-Level Leaders’ Event on Adaptation विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै मैले Paris Agreement को प्रतिबद्धता अनुरूप नेपालले दोस्रो Nationally Determined Cointributions (NDC) पेश गरिसकेको एवम् राष्ट्रिय अनुकूलन योजनासमेत तयार गरेको जानकारी गराएको छु। जलवायु परिवर्तनको असर विरुद्धको लडाइमा युवा पुस्तालाई संलग्न गराउनुपर्नेमा जोड दिँदै विश्व तापमान वृद्धिको सीमा १.५ डिग्री कायम गर्ने प्रतिबद्धताको पालना गर्न विश्व समुदायलाई आह्वानसमेत गरेको छु।
१०.सम्बोधनका क्रममा मैले जलवायु परिवर्तनको जोखिममा परेका अति कम विकसित मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्नका लागि वित्तीय लगानी र प्रविधिको परिचालनमा विलम्ब गर्न नहुनेमा जोड दिएको थिएँ।
११.सम्मेलनको साइड लाइनमा मैले G77 and China का अध्यक्ष क्युवाका राष्ट्रपतिसँग भेट गरी द्विपक्षीय सम्बन्धमा कुराकानी गर्नुका अतिरिक्त G77 and China लाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी गरेको थिएँ।
१२.भ्रमणको चौथो दिन मंसिर १६ गते (२ डिसेम्बर २०२३) का दिन बिहान नेपालले आयोजना गरेको High-Level Roundtable on Call of the Mountains: Who Saves us from the Climate Crisis? को अध्यक्षता गर्दै जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली मुलुकहरूमा पारेको प्रतिकूल प्रभावको न्यूनीकरण गर्न तत्काल पहल गर्नु आवश्यक रहेको विषयमा जोड दिएको थिएँ।
१३.उक्त High-Level Roundtable लाई प्रमुख वक्ता (Key Note Speaker) का रूपमा सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एन्टोनियो गुटेर्रेसले Roundtable आयोजना गरेकोमा नेपाललाई धन्यवाद दिँदै जलवायु परिवर्तनको प्रतिकूल प्रभाव जताततै देखिन थालेकोले प्रभाव न्यूनीकरणको काममा ढिलाइ गर्न नहुने धारणा राख्नुभएको थियो। आफूले हालै गरेको नेपाल भ्रमणको सुखद स्मरण गर्दै महासचिव गुटेर्रेसले जलवायु परिवर्तनले नेपालका हिमालमा पारेको प्रभाव आफ्नै आँखाले देखेको उल्लेख गर्दै नेपालको सहयोग र हिमालहरूको संरक्षणमा राष्ट्रहरूले प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुएको थियो।
१४.सो अवसरमा एन्डोराका प्रधानमन्त्री, किर्गिज गणतन्त्रका विदेशमन्त्री, भूटानका State Secretary र अन्तर्राष्ट्रिय संघ-संस्थाका प्रतिनिधिले Roundtable आयोजना गरेकोमा धन्यवाद दिँदै हिमाल संरक्षणको लागि हिमाली राष्ट्रहरूले एकताबद्ध भएर काम गर्नुपर्ने धारणा राख्नुभएको थियो।
१५.कार्यक्रममा जलवायु विज्ञ, सरकारी अधिकारी, व्यवसायी र जलवायु अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
१६.सोही दिन मैले नेपालको तर्फबाट National Statement दिँदै हरित गृह ग्यास उत्सर्जनमा नेपालको नगण्य योगदान रहेको भए तापनि जलवायु परिवर्तनको प्रतिकूल असरको प्रभाव भने असमान रूपमा भोगिरहेको हुँदा नेपालप्रति अन्याय भएकोले यथार्थलाई दृष्टिगत गर्दै जलवायु वित्त र जलवायु न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने तथ्यप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको थिएँ। साथै, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि नेपाल सरकारले चालेका कदमबारे पनि मैले जानकारी गराएको थिएँ।
१७.हिमाल मानव सभ्यता र जैविक विविधताको आधार भएकोले बढ्दो तापक्रमको प्रकोपबाट यसलाई जोगाउन अत्यावश्यक भएको कुरा दृढताका साथ राखेको थिएँ।
१८.त्यसैगरी, मैले दुबईमा रहेको फ्युचर म्युजियमको अवलोकन भ्रमण गरेको थिएँ।
१९.आजै बिहान पनि मैले संयुक्त राष्ट्र संघ अन्तर्गतका संघ-संस्थाहरू – WMO, UNDRR, ITU, IFRC ले आयोजना गरेको विपदबाट पर्न सक्ने जोखिमको पूर्व जानकारीमा सबैको पहुँच (Delivering Early Warnings for All) विषयमा नेपालको तर्फबाट मन्तव्य राखेको छु। संयुक्त राष्ट्रसंघका महासचिव समेत सहभागी हुनुभएको उक्त महत्त्वपूर्ण कार्यक्रममा मैले नेपाल लगायत अति कम विकसित मुलुकहरूका विपद र जलवायु परिवर्तनका कारण सिर्जित समस्या सम्बोधन गर्न साधन स्रोत र प्रविधिको अभाव भएको हुँदा साधन स्रोतका लागि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छु।यस महत्त्वपूर्ण Initiative मा नेपाललाई प्राथमिकता प्राप्त मुलुकको सूचीमा समावेश गराउनु भएकोमा संयुक्त राष्ट्र संघका महासचिवको प्रशंसा गरेको छु।
२०.आजै बिहान मसँग बेलायतका विदेश राज्यमन्त्री Andrew Mitchel ले शिष्टाचार भेट गर्नुभएको थियो। भेटका अवसरमा नेपाल-बेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयहरु लगायतमा कुराकानी भएको थियो।
२१.अन्त्यमा भ्रमणसम्बन्धी अद्यावधिक समाचार निरन्तर प्रसारण गरी सहयोग गर्ने सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

समाजवाद थोपर्ने होइन, जगैबाट उमार्ने र निर्माण गर्ने कुरा होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद कसैले थोपरेर आउने विषय नभई यो तलैबाट उमारेर अघि बढाउनुपर्ने बताउनुभएको छ । सोमत घिमिरेद्वारा लिखित पुस्तक सामुदायिक समाजवादः विमोचन र विमर्श कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘समाजवाद थोपेर आउने कुरा होइन, यो किताब पढेर पनि आउँदैन । समाजवाद अरु कुनै देशको नक्कल गरेर बन्ने कुरा पनि होइन र समाजवाद कुनै पार्टी विशेषले दस्तावेजमा लेखेर जनतालाई अर्ती उपदेश दिएर आउने पनि होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘समाजवाद थोपर्ने होइन, यो त जगैबाट उमार्ने कुरा हो । समाजवाद निर्माण गर्ने कुरा हो ।’ हाम्रो उत्पादन प्रणाली, इतिहास, संस्कृति र अर्थतन्त्रका ऐतिहासिक विरासतका आधारमा समाजवाद निर्माणको आधार खोज्नुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘कुनै बेलामा हामी विदेशमा खाद्यान्न र प्रविधि निर्यात गर्ने अवस्थामा थियौं, हामीले पचास साठी वर्षमा यति राजनीतिक गतिबिधि गर्यौं, कहाँ आइपुग्यौं भन्दा हामी हर क्षेत्रमा परनिर्भर बन्दै गएका छौं । हामीलाई हाम्र्रै जगमा, इतिहास र विशेषतामा, पूर्खाले विकास गरेको प्रविधिमा टेकेर आधुनिक समाजवाद निर्माण गर्नुछ ।’ नेपालमा समाजवादको बारेमा सार्थक बहस नभएको औल्याउँदै उहाँले बदलिंदो समाज र सूचना प्रविधिसमेतको प्रयोगलाई ध्यान दिएर समाज कसरी रुपान्तरण गर्न सकिन्छ र यसको नेतृत्व कसरी संभव भन्नेबारेमा धेरै अन्योल रहेको उल्लेख गर्दै उहाँले नेपाली विशेषताको समाजवाद कसरी निर्माण गर्न सकिन्छ भनेर बहस गर्नुपर्ने बताउनुभयो ।  अहिले नेपालमा समाजवादको बहसबारे तीनवटा धारणा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘एउटा विशुद्ध सिद्धान्तवादी वा जडसूत्रवादी धारणा रहेको छ । अर्को असाध्य धेरै अनुभववादी र समन्वयवादी धारणा रहेको छ’– उहाँले भन्नुभयो– ‘अर्को प्रयोग र व्यवहारवादी धारणा रहेको छ, यसले सिद्धान्तलाई व्यहारमा उतार्नेतिर जोड दिन्छ । सोमत घिमिरेजीको पुस्तकले तेस्रो धारणालाई जोड दिएकाले यो वैज्ञानिक र वस्तुवादी रहेको छ ।’ संविधानले नेपाल अब समाजवादउन्मुख हुने भनिए पनि समाजवाद कस्तो हुनेछ भन्ने विषयमा विमर्श नभइरहेको बेलामा ‘सामुदायिक समाजवाद’ पुस्तक लेखेर घिमिरेले यो बहसलाई नयाँ उचाई दिएको टिप्पणी गर्नुभयो । यो पुस्तक पुस्तक अध्ययन गर्न लायक रहेको र सुरुदेखि अन्तिमसम्म यसले नयाँ प्राप्त गर्ने उत्सुकता पैदा गर्ने बताउनुभयो । आफूहरुले जनयुद्धको बेलामा समाजवादबारे अध्ययन र बहस थालेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जतिबेला हामी जनयुद्धमा थियौं, त्यतिबेला आफ्नै संस्कृति, आफ्नै अर्थतन्त्र र आफ्नै न्यायालय निर्माण गर्ने प्रक्रियामा थियौं । त्यतिबेला विश्वमा कयौं समाजवादी सत्ताहरु ढलेका थिए भने कयौं नयाँ तरिकाले अघि बढ्दै थिए । ती सबै सत्ताहरुको अध्ययन गरेर, मैले अलि बढी मेहनत गरेर मैले एक्काइसौं शताब्दीको जनवाद भन्ने दस्तावेज तयार पारेको थिएँ ।’ अहिले आफूले त्यसको ब्याख्या गर्न नचाहे पनि त्यसमा राखिएको एउटा विषय जनता र सत्ताबीचको सम्बन्धमा स्पष्ट हुनैपर्ने उल्लेख गर्दै भन्नुभयो– ‘एक्काइसौं शताब्दीको जनवादमा एउटा कुरा स्पष्टका साथ राखेको थिएँ– जनताको निगरानी, नियन्त्रण र सक्रिय हस्तक्षेपसहितको सत्ता मात्रै वास्तविक समाजवादी सत्ता हुनेछ । अब पनि हामीले समाजवादको बहस गर्दा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित सरकार र जनताबीचको सम्बन्ध के हुन्छ भनेर स्पष्ट गर्नैपर्छ । जनताको निगरानी, नियन्त्रण र सक्रिय हस्तक्षेपविनाको सरकार जनताको सरकार हुन सक्दैन, त्यो अन्ततः जनविरोधी नै हुन्छ ।’ जनता दल वा सरकारका अनुयायी र बिरोधी मात्र होइन, सरकार कस्तो बताउने भन्ने विषयमा स्वयं जनताले सक्रिय हस्तक्षेप र नेतृत्व गर्नसक्ने संरचनाको विकासविना समाजवादी व्यवस्था दिगो नहुने पनि उहाँले स्पष्ट गर्नुभयो ।        

निरंकुशता र प्रतिगमनतर्फ फर्कने प्रयासका बिरुद्ध परिवर्तनका हिस्सेदार एक हुनुपर्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरंकुशता र प्रतिगमनतर्फ फर्कने कसरतका विरुद्ध परिवर्तनका हिस्सेदार शक्तिहरु एकताबद्ध भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पूर्व केन्द्रीय संयोजक अखिलेश्वरलाल दासको दोस्रो स्मृति दिवस तथा उहाँको स्मृतिमा प्रकाशित ‘स्मृतिमा अखिल सर’ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । ‘हामी आज देख्छौं समाजलाई अलिकति अराजकता र निरंकुशतातिर फकाउने कसरतहरु भइरहका छन्’– उहाँले भन्नुभयो– ‘एकातिर हामीले स्थापित गरेको संघीय लोकतान्त्रिक मूल्य मान्यताबाट पछि हट्न खोज्ने हामीभित्रै कसैको मनशाय छ भने त्यसलाई पनि सफल हुन दिनु हुँदैन भने अर्कोतिर अराजकतावादीहरुले जनतामा देखिएको निराशा र आवेगलाई दुरुपयोग गरेर प्रतिक्रान्ति गर्ने सपना पनि देखिरहेका छन् । त्यसैले दुबैतर्फ सचेत भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’ साँचो अर्थमा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरु सजग रहनुपर्नेमा जोड दिंदै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘हिजो पनि संविधानमाथि बलात् आक्रमण गरेर दुईदुईपटक संसद बिघटन गर्ने प्रवृत्तिलाई हामी बामपंथी लोकतान्त्रिक शक्तिहरु मिलेर परास्त गरेका थियौं, फेरि पनि संविधान मिच्ने, संसद विघटन गर्ने हर्कत हुनसक्छन्, यस्ता हर्कतका विरुद्ध अझै पनि सतर्क रहनुपर्छ ।’ अर्को एक प्रसंगमा उहाँले नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र माओवादीको तर्फबाट आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता हुनुको नाताले प्राप्त राजनीतिक उपलब्धिलाई जोगाउने मुख्य दायित्व पनि यिनै शक्तिसँग भएको बताउनुभयो । गिरिजाले मृत्यु शैयामा पुगेको बेला आफूलाई ‘अब भरोसा तपाइँको छ, बाँकी राजनीतिक अवस्थालाई सम्हालेर लैजानुहोला’ भन्ने बाक्यांश नभुलेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘कहिलेकाही नेपाली उखानमा भएजस्तो बाघको छालामा स्यालको रजाइँ हुने हो कि भन्ने चिन्ता पनि छ तर मलाई लाग्छ अन्ततः त्यस्तो हुँदैन ।’ जसले परिवर्तनका लागि युगान्तकारी भूमिका निर्वाह गरे, यो परिवर्तन जोगाउन पनि उनीहरुले नै नेतृत्वदायी भूमिका निर्वाह निर्वाह गर्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । ‘यतिबेला लोकतान्त्रिक गणतन्त्र र समानुपातिक समावेशिताको रक्षा गर्नु र यसमा रहेका कतिपय सीमालाई परिवर्तन गर्दै अझै विकसित गर्नु मुख्य दायित्व हो’– उहाँले भन्नुभयो– ‘त्यसका लागि परिवर्तन पक्षधर शक्तिहरु गम्भीर हुन आवश्यक छ ।’ अहिले अध्ययन र वैचारिक बहसको संस्कृति हराउँदै गएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तीस र चालिसको दशकमा हुने शैक्षिक क्षेत्रमा हुने वैचारिक बहस निकै जीवन्त र उच्चस्तरका भएका स्मरण गर्नुभयो । अहिले नेपाली समाजमा वैचारिक बहस र सामूहिक चिन्तनभन्दा पनि व्यक्तिगत स्वार्थप्रेरित हुँदै गएकोप्रति प्राज्ञिक क्षेत्र गम्भीर बन्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । अध्यक्ष प्रचण्डले पञ्चायविरोधी आन्दोलनका बेलामा अखिल वा नेविसंघ जुन आस्थामा निकट भए पनि सामूहि चिन्तन र वैचारिक बहसमा केन्द्रित हुने गरेको उल्लेख गर्दै चिन्तन संस्कृतिलाई बढावा दिनुपर्ने बताउनुभयो । उहाँले आस्था, निष्ठा र आदर्शका धरोहर अखिलेश्वरलाल दास भिन्न प्रकृतिको र समाजवादी क्रान्तिका लागि प्रेरणादायी व्यक्तित्व भएको बताउनुभयो । उहाँले दास औसतभन्दा माथिको व्यक्ति भएको बताउनुभयो ।  

कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग

काठमाडौं। नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी महासंघले बाढीपहिरो पीडितका लागि पौने आठ लाखभन्दा बढी सहयोग हस्तान्तरण गरेको छ। महासंघले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात लाख सतहत्तर हजार सात सय सतहत्तर रुपैयाँको चेक हस्तान्तरण गरेको हो । महासंघका अध्यक्ष मणिरत्न श्रेष्ठ, महासचिव प्रेम खनाल, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टलगायत महासंघ र संगठनका पदाधिकारीहरुले चेक हस्तान्तरण गर्नुभएको थियो । यो सहयोग संकलनमा नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठनको महत्वपूर्ण भूमिका रहेको महासंघले जानकारी गराएको थियो । सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रसेवासँगै जनताले भोग्नुपरेको विपत्तिमा कर्मचारीहरुले सहयोग संकलन गरेकोमा धन्यवाद दिनुभयो । प्राकृतिक विपत्तिले सिर्जना गरेको संकट समाधानका लागि सरकारमा हुँदा पनि नहुँदा पनि आफ्नो पार्टी निरन्तर अग्रमोर्चामा रहेर काम गरेको उल्लेख गर्दै उहाँले पार्टीनिकट शुभेच्छुक संगठनहरुले पनि यसमा योगदान गर्दा पार्टीलाई थप उर्जा प्राप्त हुने बताउनुभयो । यसपटकको बाढीपहिरोको बेलामा आफ्नो पार्टीले सबैभन्दा पहिले पहलकदमी लिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले प्रभावितस्थलमा निरन्तर खटेर उद्धार, राहत र पुनर्स्थापनामा लाग्ने सबैलाई धन्यवाद पनि दिनुभयो । राहत र पुनर्स्थापनाका कामले अझै गति नलिएको उल्लेख गर्दै उहाँले दुई वर्षअघिका भूकम्पपीडितदेखि अहिलेका बाढीपहिरो पीडित सबैलाई पुरानै अवस्थामा फर्काउन सबै लाग्नुपर्ने र त्यसमा कर्मचारीहरुले आफ्नो कार्यक्षेत्रबाट बढी योगदान गर्नुपर्ने बताउनुभयो । 

सरकारको निर्णय मान्नु प्राधिकरणको कर्तव्य हो, बक्यौता रकम नउठे पुनः लाइन काट्छौं : घिसिङ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अबको १५ दिनभित्र विद्युत्को बक्यौता रकम नतिरे उद्योगीहरूको लाइन फेरि काट्ने चेतावनी दिएका छन् ।  बुधवार प्राधिकरणको कार्यालयका आयोजित पत्रकार सम्मेलनमा घिसिङले  उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘सरकारले गरेको निर्णयलाई मान्नु प्राधिकरणको कर्तव्य हो । हामीले कानुन बमोजिम लाइन काटेको भए पनि सरकारले जोड्नु भन्यो, हामीले मान्यौँ । अब सरकारको निर्देशन अनुरूप १५ दिनमा फेरि उद्योगको बक्यौता उठेन भने प्रक्रिया अनुसार अघि बढ्छौँ ।’

लोकप्रिय