जुुत्ता मर्मत गर्ने मतदाताको कामलाई सम्मान गर्ने उम्मेदवरलाई भोट दिने

जुुत्ता मर्मत गर्ने मतदाताको कामलाई सम्मान गर्ने उम्मेदवरलाई भोट दिने

लोकेश धामी

कैलाली, बैशाख २५ । ‘हामी रहरले होईन, करले चर्को घाम सहेर श्रम गर्छौ । त्यसकारण, श्रमजिवीहरुको कामलाई सम्मान गर्ने उम्मेदवारले हाम्रो भोट पाउनेछन् ।’ सडक छेउमा बसेर दिनभरी जुत्ता, चप्पल सिलाईको काम गर्ने कर्णबहादुर मगरातीको यो भनाइसंग सोही पेशामा संलग्न अरुको भनाइ पनि मिल्दोजुल्दो छ ।

स्थानीय तह निर्वाचनको देशव्यापी उल्लास छाएको खबरसंग धनगढीका यी श्रमजिवीहरु अनविज्ञ छैनन् । निर्वाचनको उत्साह बढेसंगै भोट दिनका लागि उनीहरुले कामको सम्मान गर्ने उम्मेदवारको खोजी समेत गर्न थालेका छन् । धनगढीमा राजनीतिक दलका सभा, भेला प्रायः पार्क चौक स्थित सडकमा हुने गरेको छ । सोही आसपास सडक छेउमा वर्षदिन गुजारी रहेका यी श्रमजिवी वर्ग दलहरुको एजेण्डा र दृष्टिकोणलाई नजिकबाट नजर अन्दाज गर्दै आएका छन् ।

अधिकांश दलका कुरा बुझेकाले राम्रो गर्ने व्यक्तिलाई नै भोट दिने विगत २२ वर्षदेखि जुत्ता, चप्पल सिलाईको काम गर्दै आएका जयबहादुर बयलकोटीको भनाइ छ । उनी भन्छन्–‘यति लामो समयपछि स्थानीय तहको चुनाव हुन गइरहेको छ । त्यसैले भोट नहाल्ने भन्ने त कुरै आउँदैन । राम्रो गर्नेले नै हाम्रो भोट पाउनेछन् । कामदारका समस्या बुझ्ने व्यक्तिलाई भोट दिने हो ।’

आवधिक भए पनि विविध कारणले मुलुकमा झण्डै १९ वर्षसम्म स्थानीय तहको चुनाव हुन सकेको थिएन । लामो अन्तरालपछि चुनाव हुने सुनिश्चितताले श्रमिक वर्गमा उमङ्ग समेत ल्याएको छ । चुनाव हुने निश्चित भएसंगै खुशी लागेको र कामदारहरुको समस्या समाधान हुने अपेक्षा गरिएको कर्णबहादुरले बताए ।

‘सबै तह, तप्काका व्यक्तिलाई खुशी लागेको बेला हामी पनि खुशी हुनु स्वभाविक हो’, उनले अगाडि थपे–‘किनभने, हामीले छानेको जनप्रतिनिधि स्थानीय तहमा पुगेमा हाम्रो पेशा व्यवस्थित हुनेमा हामी आशावादी छौं । हामीले गरिरहेको कामले सम्मान पाउने अपेक्षा गरेका छौं ।’

जुत्ता, चप्पल मर्मत तथा सिलाईको काम गर्ने श्रमिक वर्गमा प्रायः दलित समुदायका व्यक्तिहरुको संलग्नता रहेको छ । टन्टलापुर घाम होस वा शरिर कठ्याङ्ग्रिने चिसो । जुनसुकै वातावरणीय अवस्थासंग जुधेर यो वर्ग श्रम गरिरहेका देखिन्छन् । तर, मामको लागि सडक छेउमा काम गर्नु परेकाले ट्राफिक प्रहरी लगायत विभिन्न व्यक्तिबाट दुःख पाएको अनुभव उनीहरुसंग ताजै छ ।

‘हामीले धेरै दुःख पाउँदै आएका छौं । त्यसकारण, जसले हामीलाई माया गर्छ, हाम्रो पीडा बुझ्छ । उसैलाई भोट दिन्छौं’, बृद्ध अमर जैरु भन्छन्–‘अहिलेसम्म हामीले छायाँ पनि पाएका छैनौं । जसले हामीलाई छायाँ दिन्छ । निर्वाचनमा हामीले उसैलाई माया गर्ने हो ।’

सडक छेउमा बसेर यस प्रकारको श्रम गर्ने यो वर्गका मतदाताहरु प्रायः अति विपन्न परिवारका छन् । आफ्नो पुर्खौली पेशामा सक्रिय उनीहरु दिनभरी अरुको जुत्ता, चप्पल चम्काउँछन् । तर, उनीहरुको आर्थिक अवस्था भने कहिल्यै चम्कन सकेको छैन । परम्परागत निर्वाहमुखी पेशाले परिवारको गुजारा मात्रै चलेको छ ।

चुनावका बेला गरिबमाथि दया गर्नेहरु धेरै देखिने तर, यथार्थमा ठग्ने काममात्रै गर्दै आएकाले यसपालिको चुनावमा कामको सम्मान गर्नेलाई भोट दिने निधो गरेको १४ वर्षदेखि पुर्खौली पेशा गर्दै आउनु भएका भीम सार्कीले बताए ।

‘चुनावको बेला यसो गर्छौ, उसो गर्छौ भनेर धेरैले भन्छन् । तर, चुनावपछि फर्केर हेर्दैनन्’, उनले भने–‘यसपालि राम्रो व्यक्ति जितन भन्ने चाहना हो । भोट पनि राम्रोलाई नै दिनेछौं ।’ सरकारले प्रदेश नम्बर ७ मा दोस्रो चरण अन्तर्गत जेठ ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि तय भएको मिति यो प्रदेशका लागि ठीक एक महिना पछाडि सरेपछि मतदाताहरुलाई राम्रो उम्मेदवार छान्ने थप मौका मिलेको छ । राजनीतिक छत्र छायाँबाट टाढा रहेका यी श्रमिक वर्गले स्थानीय तहको चुनावमा दल भन्दा पनि व्यक्तिलाई हेर्ने निचोडमा पुगेका छन् ।

‘भोट माग्न जुनसुकै दलका आऊन, यस पटक राजनीतिक दल हेरिन्न’ सार्कीले भने–‘राम्रो व्यक्ति हेरेर अमूल्य मत दिने र जिताउने हो ।’ कैलालीमा मुक्त कमैया लगायत दलित, पिछ्डा वर्गका व्यक्तिहरु प्रायः मजदुरी गरेर गुजारा गर्दै आएका छन् । मजदुरीले जीवन धान्ने यस्ता श्रमिकहरु स्थानीय तहको निर्वाचनमा योग्य, सबैको समस्या बुझ्ने र त्यसलाई समाधान गर्दै समृद्धितिर दो¥याउने उम्मेदवार जितुन भन्ने अपेक्षा गरिरहेका छन् ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय