धार्मिकस्थल सुपा देउरालीमा १२ हजार दर्शनार्थीहरुको भीड

धार्मिकस्थल सुपा देउरालीमा १२ हजार दर्शनार्थीहरुको भीड

सन्धिखर्क, वैशाख ९ । धार्मिकस्थल सुपा देउरालीमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

एक वर्ष पहिलाको तुलनामा आजभोलि आउने दर्शनार्थीको सङ्ख्यामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार जनाले दर्शन तथा पूजाआजा गर्ने गरेकामा अहिले एक हजारदेखि दुई हजारसम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम थापाले बताउनुभयो ।

वैशाख १ गते नयाँ वर्षको दिन १२ हजारभन्दा बढीले दर्शन गरेको र उक्त दिन मन्दिरमा रु एक लाख नौ हजार आठ सय भेटी चढेको उहाँको भनाइ छ ।

सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा रहेको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सुपा देउराली मन्दिर धेरै भेटी सङ्कलन हुने मन्दिरमध्येको एक हो । यहाँ उठेको भेटीबाट विकास निर्माणका काम भइरहेका छन् ।

मन्दिरमा चढाइएको भेटीबाट आदर्श मावि खाँचीकोटमा छ र शान्ति निमावि सीतापुरमा चार शिक्षक राखिएको छ । भेटीबाट सङ्कलित रकममध्ये मासिक रुपमा आदर्श मावि र शान्ति निमाविलाई रु एक लाख २० हजार उपलब्ध गराइएको मन्दिर व्यवस्थापन समितिका सचिव यादव घिमिरेले बताउनुभयो ।

यस्तै सन्धिखर्कमा रहेको पाणिनि वेदविद्या आश्रमका लागि वार्षिक रु एक लाख २० हजार उपलब्ध गराइने उहाँको भनाइ छ । “विद्यालयसँगै अन्य विकासनिर्माणका काममा पनि सहयोग पु¥याउने गरेका छौँ”, उहाँले भन्नुभयो, “खानेपानी प्लटिङ, मोटरबाटो निर्माणजस्ता विकास निर्माणका काम भएका छन् । विभिन्न खाले जटिल खालका बिरामीको उपचार खर्चमा समेत सहयोग पु¥याउँदै आएका छौँ ।”

मन्दिरमा गत वर्ष रु ६० लाख आम्दानी भएको थियो । यस वर्ष बढेर रु ८० लाख पुग्ने मन्दिर सचिव यादवले बताउनुभयो । मन्दिरको दर्शन गर्न अर्घाखाँची, कपिलवस्तु, दाङ, प्युठान, गुल्मी र रुपन्देहीबाट बढी मात्रामा पर्यटक आउने गर्छन् । भारतको उत्तर प्रदेश, विहारबाट समेत यहाँ दर्शन गर्न आउने गरेका छन् ।
विद्यालय चलाउन कठिन भएका समयमा मन्दिरको भेटीबाट प्राप्त रकमले शिक्षक राखेर विद्यालय सञ्चालन गर्दा धेरै सहज भएको आदर्श मावि खाँचीकोटका प्रअ डिल्लीराज थापाले बताउनुभयो । “मन्दिरबाट सहयोग नमिलको भए यो विद्यालय प्रावि नै रहने थियो” उहाँले भन्नुभयो, विद्यालयलाई यो अवस्थासम्म ल्याउन पाउँदा हामी निकै खुसी छौँ ।”

मन्दिर व्यवस्थापन समितिले यहाँ उठेको रकमबाट मन्दिर र विद्यालय सञ्चालन, विकासनिर्माण र बिरामीको उपचारमा सहयोग गर्दै आएको बताएको छ । सुपा देउराली मन्दिर वरिपरिको वातावरणलाई व्यवस्थित गरी यसको प्रचारप्रसारमा ध्यान दिनुपर्ने संरक्षण समितिका उपाध्यक्ष गोबर्धन थापाले बताउनुभयो । “मन्दिरको भेटी विद्यालय जस्तो सामाजिक संस्थालाई दिनु राम्रो कार्य हो”, उहाँले भन्नुभयो ।

सुपा मन्दिरको शिरमा जान सकिने केबुलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सहायक प्रजिअ नारायण खत्रीले बताउनुभयो । सुपाको पूर्वमा रहेको भैँसी मेलामा मन्दिर बनाएर केबुलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्न सके नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बनाउन सकिने उहाँले बताउनुभयो ।। सन्धिखर्क गोरुसिङ्गे सडकखण्डसँगै जोडिएकाले पनि यसको महत्व बढ्दो छ ।

सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ । यहाँ राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा ठूलो ओहदामा पुगेका व्यक्तिसमेतले दर्शन गर्छन् । कुनै अप्ठ्यारो समस्या आएको बेलामा सुपा देउरालीलाई भाकल गरे समस्या टर्ने विश्वास छ ।
सुपा देउराली नजिकै मनोरम दृश्यले भरिपूर्ण नरपानीको डाँडाले पनि यस क्षेत्रमा पर्यटन विकासले फड्को मार्नेमा विश्वास लिइएको छ । नरपानी डाँडा चिसो हावा र पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ ।

मनमोहक दृश्य देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय