नारायणी तटबन्धनको काम सुरू
चितवन । नारायणी नदी तटबन्धनको काम सुरुआत भएको छ।
विगत १० वर्षदेखि थालिए पनि बजेट अभावमा थोरै(थोरै काम हुँदै आएकामा रकमको निसाकासँगै यस वर्षबाट नदी किनारका भरतपुर महानगरतर्फका अधिकांश भू–भागमा काम गरिँदै छ।
असार अघि नै बोलपत्र आह्वान भई सम्झौता भएका तीन खण्डमध्ये एउटा खण्डको काम थालिएको छ। अन्य दुई खण्डमा छिट्टै काम थालनी गरिँदै छ।
नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शङ्कर बुढाथोकीका अनुसार अर्को एक खण्डको बोलपत्र आह्वान भएर सम्झौता यसै महिना गरिएको छ भने अर्को एक खण्डको बोलपत्र आह्वान भई मूल्याङ्कन भइरहेको छ।
असार अघि नारायणी नदीको महानगरतर्फ सिसइदेखि भगडीसम्मको तटबन्धनका लागि रु ३८ करोडमा ठेक्का सम्झौता भएको हो। त्यसैबेलाको अर्को एक खण्ड गाँजीपुरदेखि हीरापुरसम्मको रु ४८ करोडमा ठेक्का सम्झौता भएको छ।
तेस्रो रामघाटदेखि काभ्रेघाटसम्मको रु एक अर्ब १५ करोडमा ठेक्का सम्झौता भइसकेको छ। तेस्रो खण्डको काम सुरु गरिएको छ। उनले अन्य दुई खण्डको काम छिट्टै सुरु हुने बताए।
सम्झौता भइसकेका तीन खण्ड ५ किलोमिटर लम्बाइका दरले रहेका छन्। गत कात्तिकमा सम्झौता भएको बालुवादेखि गोलाघाट सम्मको सात किलोमिटरमध्ये २.५ किलोमिटर नयाँ तटबन्ध र अन्य मर्मतसम्हार रहेको छ। यसका लागि रु २३ करोडमा यसै महिना ठेक्का सम्झौता भएको हो।
नारायणी नदी नारायणगढस्थित पुलबाट पूर्वतर्फको सिविच बोलपत्र आह्वान भई मूल्याङ्कनको चरणमा रहेको छ। नारायणी किनारको जङ्गलको क्षेत्रबाहेकका सबै ठाउँमा तटबन्धनका लागि ठेक्का लगाइएको हो।
बहुवर्षीय आयोजनाका रुपमा काम अघि बढाइएको छ। विगत १० वर्षदेखि तटबन्ध थालिए पनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा एकै पटक रु पाँच अर्बको काम अघि बढाइएको हो। जसमध्ये भरतपुर र नवलपरासीतर्फ दुवैतर्फ यस बजेटबाट काम हुँदैछ।
आर्थिक वर्ष २०६६–०६७ बाट निरन्तर काम भइरहे पनि हालसम्म रु एक अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुन सकेको थिएन। चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने छ।
चितवनका लागि रु नौ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ। हालसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरी सकिएको छ।
गुरुयोजनाअनुसार नदी तटबन्ध गरिँदै गर्दा एक लाख ९८ हजार छ जना प्रत्यक्षरुपबाट लाभान्वित हुने छन्। चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने छ भने कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने छ।
नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार चार सय तीन क्युविक मिटर प्रतिसेकेण्ड पानीको बहाव रहने गरेको अध्ययनले देखाएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तर लागिपरेकै कारण बजेट परेको जानकारी दिइन्। यसलाई सबैको साथ र सहयोगबाट समयमै सम्पन्न गर्न सकेमा पश्चिम चितवनका कटान समस्या सदाका लागि अन्त्य हुने उनको भनाइ छ।
उपनिर्वाचनमा बालेन पक्षीय स्वतन्त्रले उम्मेदवारी नदिने
काठमाडौं । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ। स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ। काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने पनि चासो छ। मेयर शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले उपनिर्वाचनमा मेयर शाहको पक्षबाट उम्मेदवारी नरहने बताए। उनले देशका विभिन्न ठाउँमा हुने उपनिर्वाचनमा पनि उम्मेदवारी खडा नगरिएको र कसैलाई पनि समर्थन गर्ने नीति नरहेको प्रष्ट पारेका छन्। २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर बालेन मेयर निर्वाचित भएका थिए।
कीर्तिपुरमा रास्वपाले उम्मेदवारी नदिने, राम्रो उम्मेदवारलाई साथ दिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कीर्तिपुरमा स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुरमा उम्मेदवारी नदिने भएको छ । रास्वपाले कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाको वडाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको हो । यसअघि मेयरका लागि नगरसभापति जयराम कार्कीको नाम केन्द्रमा सिफारिस भए पनि रास्वपाले अन्तिम समयमा आएर उम्मेदवारी नदिने निर्णय गरेको हो । काठमाडौं महानगरको १६ नं. वडामा भने रास्वपाले उम्मेदवारी दिँदैछ । रास्वपाले आफूले उम्मेदवारी नदिएपछि राम्रो उम्मेदवारलाई सर्मथन गर्ने भएको छ । स्थानीय तहको रिक्त पदका लागि मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे छलफल गर्न बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित
काठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक स्थगित भएको छ। आइतबार बस्ने भनिएको बैठक अनिश्चित समयका लागि स्थगित भएको हो। परराष्ट्रमन्त्री आरजु राणाको व्यस्तताका कारण बैठक स्थगित भएको समिति सचिवालयले जनाएको छ। आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बारेमा छलफल गर्ने कार्यसूची रहेको थियो। हाल परराष्ट्रमन्त्री राणा सुदूरपश्चिम भ्रमणमा रहेकाले आज बैठक बस्न नसकेको हो। त्यस्तै पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डे पनि उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिनुभयो।
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।