निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवाका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन
बुटवल । राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् । आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणकाक्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा.महतले यस्तो आग्रह गरेका हुन् ।
नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न मन्त्री डा.महतको आग्रह थियो । विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन । यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन, मन्त्री डा.महतले भने, विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौं ।’
मूल्य अभिवृद्धि कर (भ्याट)विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी दिंदै मन्त्री डा. महतले भने, नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ । ट्राभल्समा लाग्ने करको उदाहरण दिँदै मन्त्री डा. महतले भन्नुभयो, ‘ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो । त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ ।’
स्याउ, आलु र प्याजमा पनि कर लागेको छ, तर त्यो भन्सारमा मात्र लाग्छ । भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्छ । बाहिरबाट आएको छ भने भन्सार मानै लाग्छ, आन्तरिक उत्पादनमा लाग्दैन ।
नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएको छ, त्यसलाई राम्रोसँग अध्ययन गर्न मन्त्री डा। महतले आग्रह गर्दै भन्नुभयो, ‘हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ । पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ ।’
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद सचिवाल सिंहदरबारमा रहेको समितिको सभाकक्षमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको चीन भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओली यही मंसिर १७ देखि २२ गतेसम्म चीन भ्रमणमा जाने तयारी रहेको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्वीस फ्रंयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको जनाएको छ । हेर्नुहोस् विनिमय दर
यस्तो छ आजको मौसमः केही भूभागमा वर्षाको संभावना
काडमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।