पाँच सय वर्ष पुरानो मन्दिरमा भक्तजनको भीड

पाँच सय वर्ष पुरानो मन्दिरमा भक्तजनको भीड

बागलुङ, असोज १० । दशैंँको नवरात्र शुरु भएसँगै प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लागेको छ ।

मनोकांक्षा पूरा हुने विश्वासमा पूजाआजाका लागि देशका विभिन्न भूभागबाट भक्तजन यहाँ आउने गरेका छन् । मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार दशैँं अवधिभर हजारौँ भक्तजनले मन्दिरको दर्शन गर्छन् ।

समितिका अध्यक्ष राजु खड्काले घटस्थापनादेखि नै भक्तजनको संख्या बढेको बताउनुभयो । दशैंँको पाँचौँं दिन सोमबारसम्म भक्तजनले चढाएको भेटीबाट रु पाँच लाखभन्दा बढी संकलन भएको उहाँको भनाइ छ । देशमै पवित्र धार्मिकस्थलका रुपमा परिचित सो मन्दिरमा बडादशैँं र चैतेदशैँंका बेला विशेष मेला लाग्ने गरेको छ । मन्दिरको मुख्य आम्दानी हुने समय पनि यिनै हुन् । बडादशैँंलाई लक्ष्य गरी पूजाआजालाई विशेष रुपमा व्यवस्थापन गरिएको अध्यक्ष खड्काले बताए ।

मन्दिरको सुरक्षार्थ खटिएका प्रहरीसहित अतिरिक्त प्रहरी खटाइएको छ । स्वयंसेवक र मन्दिर व्यवस्थापनका कर्मचारी अहोरात्र खटिएका छन् । ‘पूजाआजा कार्यलाई सहज बनाउन सबै उपाय अपनाइएको छ’, खड्काले भने, “दशैँंको बेला मन्दिरका तीन वटै ढोकाबाट पूजा गर्न सकिने व्यवस्था मिलाइएको छ।”

सुरक्षा, खानेपानी, शौचालयदेखि अन्य व्यवस्थापकीय काममा पनि कुनै कमी हुन नदिएको उहाँको भनाइ छ । पाँच सय वर्ष पुरानो सो मन्दिरमा महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत देवीको पूजा आराधना गरिन्छ ।

काठमाडौँं, पोखरादेखि विभिन्न ठाउँबाट मन्दिर दर्शनका लागि वर्षेनी भक्तजन आउने गरेका छन् । पछिल्लो समय कालिकाको दर्शनका लागि भारतबाट समेत दर्शनार्थी आउन थालेका छन् । बडादशैँ विशेषगरी नवरात्रभर बिहान ३ बजेदेखि नै भक्तजन मन्दिरमा लाम लाग्ने गरेका छन् । सो मन्दिरमा पूजाआजा गर्नाले शक्ति प्राप्त हुने र मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

“बागलुङ कालिकालाई देशकै प्रसिद्ध शक्तिपीठको रुपमा लिइन्छ” संस्कृतिकर्मी प्राज्ञ प्रेम छोटाले भने, “दशैँंको नवरात्रमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धूमधाम पूजा गरिन्छ ।” पछिल्लो समय मन्दिरको गरिमा झन् बढ्दै गएको उनको बुझाइ छ ।

महाष्टमी र महानवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने चलन छ । मन्दिरमा कुखुरा, हाँस, सुँगुर, बोका र राँगोसमेत बलि दिइन्छ । पछिल्लो समय परेवा बलिमा भने रोक लगाइएको छ । मन्दिरको समग्र विकासका लागि गुठी व्यवस्थापन समितिले पञ्चवर्षीय योजना बनाएर काम गरिरहेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय