पूर्ण साक्षर बनाउने कांग्रेसको संकल्प

पूर्ण साक्षर बनाउने कांग्रेसको संकल्प

काठमाडौँ, वैशाख १४ । नेपाली काँग्रेसले स्थानीय सरकारको पाँच वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीलाई शतप्रतिशत साक्षर गराउने सङ्कल्प गरेको छ ।

काँग्रेसले प्रत्येक स्थानीय तहमा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराउनुका साथै १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजनाअन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने घोषणापत्रमा सङ्कल्प गरेको छ ।

स्थानीय तहमा रोजगारमूलक तथा स्व–उद्यम प्रवद्र्धन गर्ने प्राविधिक एवम् सीप सिकाइ शिक्षालयको व्यवस्था गरी युवालाई रोजगारमुखी सीपमूलक तालिम दिइने काँग्रेसको घोषणापत्रमा उल्लेख छ ।

‘नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेको छ ।

निजी क्षेत्रलाई रोजगारमुखी प्राविधिक शिक्षालय खोल्न प्रोत्साहन गरिनुका साथै “एक विपन्न परिवार : सीप सिकाइ केन्द्रमा एक निःशुल्क अवसर” कार्यक्रम लागू गरिने पनि सङ्कल्प गरिएको छ ।

काँग्रेसले शिक्षालाई रोजगारीसँग जोड्न युवा विद्यार्थी, विद्यालय र बंैकिङ एवम् व्यावसायिक प्रतिष्ठानलाई संलग्न गरी युवा रोजगारी प्रोत्साहित गर्ने नीति अवलम्बन गर्ने जनाएको छ ।

माध्यमिक शिक्षाको राष्ट्रिय मानक निर्धारण र विकासका लागि सङ्घीय शिक्षा आयोग गठन गरी निश्चित विषयको पठनपाठन राष्ट्रिय रुपमा एकैप्रकारका हुनेगरी स्थानीय सरकारले आवश्यकताअनुसार थप विषय अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइने काँग्रेसले प्रतिबद्धता गरेको छ ।

निर्वाचनमा पार्टीले आधारभूत तहमा तालिम प्राप्त र विषयगत योग्यता भएका शिक्षकको व्यवस्था र आधुनिक प्रविधिमार्फत शिक्षणको व्यवस्था गर्न पुराना स्थायी शिक्षकलाई स्वेच्छिक अवकाशको व्यवस्था गरी नयाँ शिक्षक भर्नाद्वारा शिक्षक रुपान्तरणको योजना अघि सारेको छ ।

साथै लोकतन्त्र, शान्ति, मानवअधिकार, नैतिक शिक्षा र अहिंसाजस्ता अवधारणालाई विद्यालयस्तरको शैक्षिक पाठ्यक्रममा समावेश गरिने घोषणापत्रमा उल्लेख छ ।

काँग्रेसले पार्टीको नेतृत्वमा सबै स्थानीय तहमा वाइफाइ इन्टरनेट र आधुनिक पुस्तकालयसहितको एउटा सामुदायिक स्रोतकेन्द्र बनाइने र एक वडा–एक पुस्तकालय एव्म एक वडा–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनामा गर्ने योजना अघि सारेको छ ।

एक टोल–एक शिशु विकास केन्द्र कार्यक्रम सञ्चालन गरी न्यून एवम् मध्यम आय भएका परिवारका शिशुको प्रारम्भिक शिक्षालाई समेत सहज बनाइ बालबालिकाको शिक्षाको निरन्तरताका लागि आमालाई नगद प्रोत्साहन दिइने काँग्रेसको कार्यक्रम छ ।

विद्यालयको प्राथमिक तहदेखि नै नेपालीबीच प्रचलनमा रहेका विभिन्न जाति, भाषा र संस्कृति तथा सांंस्कृतिक–ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनसम्बन्धी शिक्षालाई अनिवार्य गरिने घोषणापत्रमा जनाइएको छ ।

घोषणापत्रमा उल्लेख भएअनुसार काँग्रेस नेतृत्वको स्थानीय सरकारले शौचालय, सुरक्षा एवम् यातायातको अभावबाट छात्राको अध्ययनमा असर पर्न नदिन विशेष व्यवस्था गरी भर्ना र उत्तीर्ण दरलगायत अन्य सूचकमा छात्र र छात्राबीच स्थानीय तहमा रहेका सबै प्रकारका विभेदको अन्त्य गर्नेछ ।
रासस

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

यस वर्ष दसैँको टीकाको उत्तम साइत ११ः३६ बजे

काठमाडौं । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।  टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने समितिले जनाएको छ । समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।  यस्तै असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ । असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

लोकप्रिय