प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसकारण एेतिहासिक र महत्वपूर्ण

प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसकारण एेतिहासिक र महत्वपूर्ण

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म गर्नुभएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ ।

नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयामसमेत थपेको छ ।

सगरमाथाको देशलाई सागरसम्मको पहुँच तथा काठमाडौँलाई भारतको रेल सञ्जालसँग जोड्ने, एकीकृत जाँच चौकीको उद्घाटन र पेट्रोलियम पाइप लाइनको शिलान्यासजस्ता विषयले भ्रमणलाई ऐतिहासिक र महत्वपूर्ण बनाएको छ ।

यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालले प्राप्त गरेको राजनीतिक स्थिरता र समृद्धिको योजनालाई भारत सरकारले खुलेर सहयोग गर्ने वचनसमेत दिएको छ ।

प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएका एक्लाएक्लै वार्ता र प्रतिनिधिमण्डल स्तरीय वार्ताले दुई देशबीचको समान चासोमा साझा धारणा बनाउने र कहीँकतै समस्या भए त्यसलाई समाधान गरेर जाने सहमतिसमेत भएको छ ।

द्विपक्षीय भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।

स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि नेपाल संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण रहेको छ ।

भारतका प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च राजनीतिक नेतृत्वले नेपालको समृद्धिका लागि खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सम्पर्क सञ्जालको विस्तार, आर्थिक समृद्धिका लागि भारतको निजी क्षेत्रको पनि उत्साहजनक चासोलाई प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा सविस्तार व्याख्या गर्दै नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको जानकारी दिनुभएको थियो ।

नेपाली उद्योगी व्यवसायीको नेतृत्वलाई समेत साथमा राखेर प्रधानमन्त्री ओलीले कृषि, पर्यटन तथा ऊर्जाको क्षेत्रमा भारतीय लगानीकर्तालाई खुला हृदयका साथ लगानीका लागि आग्रह गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै भेदभाव नगरी लगानीमैत्री वातावरण बनाउने सन्देश मात्रै दिनुभएन नेपालमा गरिने भारतीय लगानीले दुवै देशको हित गर्नेसमेत स्पष्ट पार्नुभएको थियो ।

नेपाललाई सगरमाथादेखि सागरसम्मको सहज पहुँचका सन्र्दभमा जुन स्तरको सहमति र प्रतिबद्धता भारतले जनाएको छ, त्यसले परिवर्तनको विशिष्ट चाहनालाई समेत सम्बोधन गर्नेछ ।

प्रधानमन्त्री ओलीकै शब्दमा भ्रमणले नेपाल–भारत सम्बन्धलाई एक्काइसाँै शताब्दीको आँखाबाट हेर्ने अवस्थामा पु¥याइदिएको छ । भ्रमणले दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वास अभिवृद्धि गर्न सफलता हासिल गरेको छ ।

प्रधानमन्त्री ओलीले रासससँगको कुराकानीमा भन्नुभयो, “नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए । सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले महत्वपूर्ण भूमिका खेलेको छ ।”

भारतीय प्रधानमन्त्री मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा सहयोग गर्ने भारतीय पक्षको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ ।

नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गंगाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता विषय नेपालको दीर्घकालीन फाइदाका लागि महत्वपूर्ण रहेका छन् ।

भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलका क्रममा सार्वभौम र स्वतन्त्र राष्ट्र नेपाल अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफँै निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट गरिएको थियो ।

जनचाहनाअनुरुप बनेको संविधान, त्यसको कार्यान्वयन र निर्वाचित सरकारप्रतिको जनविश्वासमा ‘जुन आदरभाव भारतमा देखिएको छ त्यसले सबै कुरा स्पष्ट गरेको’ प्रधानमन्त्री ओलीको अभिमत छ ।

भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको तीन चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा प्रधानमन्त्री ओलीको कार्यकालको सफलताका लागि शुभकामना दिनुभएको र नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गर्नुभएकाले विगतमा रहेका तीतामिठा सम्बन्धलाई पनि नयाँ आधारमा परिभाषित गरिदिएको छ ।

प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय गृहमन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा समेत चासो दिनुभएको छ । दुवै देशका सुरक्षाकर्मीको क्षमता वृद्धि र सीमा अमनचैन कायम गर्ने काममा मिलेर जाने सहमति भएको छ ।

नेपालको विकास निर्माणमा भारतको सहयोग वृद्धि गर्नेदेखि विगतमा भएका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्न पनि भ्रमणले दिशानिर्देश गरेको ठानिएको छ ।

भारत सरकारले काठमाडौँसँग रेल सञ्जाल विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भूपरिवेष्टित मुलुकले पाउने समुद्रसम्मको सहज पहुँचलाई विस्तार गर्न जल यातायातलाई अगाडि बढाउने, कृषि तथा प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गर्ने जुन खालको प्रतिबद्धता भारतले जनाएको छ, त्यसले पनि नेपालले अगाडि सारेको आर्थिक समृद्धिको महान् यात्रालाई सम्बोधन गर्न बल पुगेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ ।

नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई व्यावहारिकरुपमा कार्यान्वयन गराउने र नेपालको बढ्दो व्यापार घाटालाई न्यून गर्ने विषयले पनि महत्वका साथ प्राथमिकता पाएको छ ।

भारत नेपालको ठूलो बजार हुनसक्ने सन्दर्भमा नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने हो भने पनि व्यापार घाटा कम गर्न सकिने विषयले पनि छलफलमा प्रमुखता पाएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यष भवानी राणाले नेपालमा लगानीका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गरेको आग्रहलाई भारतीय लगानीकर्ताले सकारात्मक रुपमा लिएको टिप्पणी गर्नुहुन्छ ।

लगानीका लागि व्यक्त भएका आग्रह र त्यसमा बनेका द्विपक्षीय समझदारीले प्रधानमन्त्रीको भारत भ्रमण पूर्णरुपमा सफल भएको विश्वास गर्न सकिने प्रतिनिधिसभाका सदस्य रामवीर मानन्धरको भनाइ छ ।

भारतको केन्द्र सरकारको मात्रै नभई उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने र काठमाडौँ–देहरादुनलाई हवाई सम्पर्कमा जोड्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गर्नु भ्रमणका सकारात्मक पक्ष हुन् । रासस

दाउन्नेमा एकतर्फी यातायात खुल्यो

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात एकतर्फी खुलेको छ। बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सड्क भासिएपछि यातायात अवरुद्ध भएको थियो। सडकको मर्मतपछि  आज बिहान साढे ९ बजेदेखि बाटो एकतर्फी खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए।  उनले सडक मर्मत गरी आजै दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको बताए। तर सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए। 

पूर्वपश्चिम राजमार्गको यात्रामा निरन्तरको चुनौती बन्दै दाउन्ने

नवलपरासी । नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार साँझ करिब २० फिट लम्बाइ र ५ फिट चौडा सडक भासिएको थियो । राजमार्ग अवरुद्ध हुँदा पूर्व र पश्चिमबाट आउने–जाने सवारी रोकिएका छ्न् । सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन लाइनमा रहेका छन् । प्रहरीले अझै सडक सुचारु हुन केही समय लाग्ने बताएको छ । यसअघि असोज १४ गते पनि खुर्सानी खोला क्षेत्रमा नै सडक भासिएको थियो । दाउन्ने क्षेत्रमा नारायणगढ–बुटवल सडक विस्तारको क्रममा तीन लेनमा सडक विस्तार गर्न खनिएका स्थानमा माटो खुकुलो हुँदा सडक भासिने र पहिरो खस्ने गरेको छ । चाडबाडको समयमा पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले हैरानी खेप्न परिरहेको छ ।

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ। त्यसैगरी देशको पूर्वी तथा मध्य भागमा बंगलादेशको उत्तरी भूभाग र भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।  यतिबेला (शनिबार बिहान) कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका बाँकी पहाडी भूभागको मौसम आंशिक बदली छ।  देशका बाँकी भूभागको मौसम मुख्यतया सफा छ। कोसी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा पनि अहिले राम्ररी घाम लागेको छैन। आकाशमा बादल छ।  आज दिउँसो पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने अनुमान छ।  कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा दिउँसो पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।  कस्तो होला आइतबार र सोमबारको मौसम? २०८१ असोज २० गते आइतबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेश लगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। २०८१ असोज २१ गते सोमबार दिउँसोː देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिː कोसी र मधेस प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोसी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श  कोसी, मधेस, बागमती र  गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाले त्यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको हुँदा ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

अध्यक्ष प्रचण्डद्वारा यातायात क्षेत्रका प्रतिनिधिसँग छलफल, समस्या समाधानका लागि पहल लिने प्रतिबद्धता

काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यातायात व्यवसायी महासंघ र यातायात मजदुर संगठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूलाई खुमलटार बोलाएर प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गर्नुभएको छ । बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गर्नुभएका अध्यक्ष प्रचण्डले दसैंको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाउनुभएको छ । आफूले काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उहाँले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रुपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिनुभयो । सो क्रममा यातायात महासंघ र यातायात मजदुर संगठनका पदाधिकारीले यातायात क्षेत्रले संकट व्यहोर्नुपरेको, व्यावसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्यांक संकलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए । सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यावसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । यातायात क्षेत्रका प्रतिनिधिहरुले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाईको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । आफूहरुलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुशी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्वपूर्ण एजेण्डाको रुपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए । अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष दिपक केसी, नेपाल यातायात मजदुर संघका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिम ज्वाला राई लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय