प्रधानमन्त्रीद्वारा मानवअधिकारकर्मी बरालको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखराका मानवअधिकारकर्मी तथा वामपन्थी नेता टेकनाथ बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत पोखरेलीका अभिभावक बरालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरुमा समवेदना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री दाहालले भनेका छन्, “सामाजिक–सांस्कृतिक आन्दोलनको अग्रज व्यक्तित्व, पोखराको वाम–प्रजातान्त्रिक आन्दोलनका अगुवा टेकनाथ बरालको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु । पोखरेलीका अभिभावक बरालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।”
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण मञ्चको संस्थापक बराल लामो समय नेपालको मानवअधिकार तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए। बरालको मङ्गलबार दिउँसो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको थियो । मंगलबार साँझ नै बरालको सेतीनदी तुलसीघाटमा अन्त्येष्टि गरिएको छ । अन्त्येष्टिमा राजनीतिक दलका नेता, अधिकारकर्मीलगायत सयौँको उपस्थिति थियो । रासस
बाराको गढीमाई मन्दिरमा मेला शुरु
बारा । पशुबलीका लागि विश्वमै चर्चित पञ्चवर्षीय गढीमाई मेला शनिबारदेखि बाराको बरियापुरस्थित गढीमाई मन्दिरमा शुरु भएको छ । गढीमाई मेला शुरु भएसँगै भक्तजनहरुको घुँइचो लाग्न थालेको छ । करीब १ हजार बिगाह क्षेत्रफलभित्र लाग्ने मेलामा नेपाल भारत तथा सार्क मुलुक र विदेशबाट समेत करीब १ करोड भक्तजन एक महिने मेलामा आउने गरेको गढीमाई मेला व्यवस्थापन समितिले जनाएको छ । शनिबार शुरु भएको गढीमाई मेलामा विशेष पूजाअन्तर्गत मंसिर २३ गते बिहान तान्त्रिक विधीबाट पुजारीले गढीमाईलाई पञ्चबलि गरेपछि मन्दिरमा भाकल गरेर ल्याइएका पशु बलि दिने परम्परा छ । २३ गते रागांको बलि हुनेछ भने २४ गतेदेखि बोका, हास, परेवा, कुखुराको बलि हुने गढीमाई मेला मुल आयोजक समितले जानकारी गराएको छ। यस्तै मेला स्थलमा भेन्टिलेटर सेवासहितको १० वटा स्वास्थ्य उपचार शिविर सञ्चालनमा ल्याइने जानकारी दिँदै समितिले मेला स्थलमा १० वटा एम्बुलेन्स र १० वटा वारुण यन्त्र तयारी अवस्थामा राखिएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद सचिवाल सिंहदरबारमा रहेको समितिको सभाकक्षमा बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुन गइरहेको चीन भ्रमणका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री ओली यही मंसिर १७ देखि २२ गतेसम्म चीन भ्रमणमा जाने तयारी रहेको छ।
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ । केन्द्रीय बैंकले स्वीस फ्रंयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा, बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा, बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा निर्धारण भएको जनाएको छ । हेर्नुहोस् विनिमय दर
यस्तो छ आजको मौसमः केही भूभागमा वर्षाको संभावना
काडमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराई भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। आज सूर्योदय बिहान ६ बजेर २६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ ।