माछाले धानिएको वेगनासको पिप्लेगाउँ

माछाले धानिएको वेगनासको पिप्लेगाउँ

लेखनाथ । वेगनासतालको उत्तरी छेउमा छ पिप्लेगाउँ । त्यहाँ ४२ परिवारको बसोबास छ । ती परिवारमध्ये ३२ परिवार जलारी समुदायका छन् भने छ परिवार विक र चार अन्य छन् ।

बाउबाजेको पालादेखि माछा मार्ने काम गर्दै आएको ती परिवारको जीविकोपार्जनको मूल आधार माछा बिक्री नै हो । वेगनासको पिप्लेमा पुगेर त्यो समुदायले तालमा माछा मारेर बिक्री गर्न सुरु गरेको पनि ५० वर्ष पुगिसकेको छ । पाँच दशक पार गर्दा पनि एक–दुई परिवारबाहेक उनीहरुको माछा मारेर बिक्री गर्ने मूल पेशा फेरिएको छैन ।

वेगनास तालका माछा बिक्री गरेर प्रत्येक परिवारले अहिले मासिक रु २० देखि रु ५० हजारसम्म आम्दानी गर्ने गरका छन् । उनीहरु बाँच्नका लागि मुख्य आधार बन्दै आएको छ । “छोरा–छोरी पढाउन, बिहान–बेलुका हातमुख जोर्न माछा व्यवसाय नै मूल आधार बनेको छ”, वेगनासताल मत्स्य व्यवसायी समितिका अध्यक्ष राजेन्द्र जलारीले भने ।

“बस्ने बासबाहेक उनीहरूसँग एक टुक्रा पनि जग्गा छैन, ती घरको पनि लालपुर्जा उनीहरुको हातमा छैन”, उनले भने, “माछा बिक्री गरेर भएको आम्दानीको ३० प्रतिशत त जालको तार खरिद गर्दा नै सकिने गरेको छ, जाली पनि तीन महिनामात्र टिकाउ हुन्छ ।”

आफूहरूको थातथलो कास्कीको पोखरा–९ नयाँबजार रहेको जानकारी दिँदै उनले जिजुबाजेका पालादेखि नै आफूहरूले माछा मार्ने काम गर्दै आएको बताए । जलारीका अनुसार उनको परिवार पोखराको नयाँ बजारमा हुँदा विजयपुर खोला, फुस्रोखोला, कालीखोला, याम्दीखोलामा माछा मार्ने काम गर्दै आएको थियो । माछा मार्ने क्रममा ५० वर्षअघि वेगनासको पिप्लेगाउँमा एउटा परिवार आएको र माछा मार्ने सिलसिलामा आफ्नो बुवा यही ठाउँमा बसेको इतिहास उनले सुनाए । कास्कीको पोखरा महानगरपालिका–३१ वेगनास तालमा आउने पर्यटकमध्ये केही प्रतिशत पिप्लेगाउँ पुग्छन् । तालको छेउबाट पिप्ले उक्लन पाँच मिनेट पैदल हिँड्नुपर्छ ।

“म ५५ वर्षको भएँ, म पाँच वर्षको हुँदा बुवा यहाँ आउनुभएको रहेछ, सुरुमा हामी एक परिवार मात्र थियौँ, बुवा एक्लै बस्न नसकेर साथीको रूपमा अर्को भाइलाई बोलाउनुभएछ”, उनले भने, “त्यसपछि अन्य व्यक्ति पनि आए, त्यो बढ्दै अहिले ४२ परिवार भएका छन् । ती परिवारले मारेको माछा वेगनासताल मत्स्य व्यवसाय समितिमा जम्मा गरी बिक्री गर्ने गरिएको छ ।”

समितिकै अर्का सदस्य सानु जलारीले वेगनासतालमा मारिएका माछा समितिको कार्यालयमा सङ्कलन गरी ठेकेदारमार्फत पोखराको बजारमा बिक्रीका लागि लगिने गरिएको जानकारी दिए । तालमा पाइने विभिन्न जातका माछाको मूल्य प्रतिकिलो रु एक सय ८० देखि रु एक हजारसम्म पर्छ । वेगनासतालमा तिलिपीया, विग्रेड, भ्याकुर, सहरलगायत प्रकारका माछा पाइन्छन् । तिलिपीयाका कारण अन्य माछा लोप हुने अवस्थामा रहेको स्थानीयवासी बताउँछन् ।

तराईका पोखरीमा पालिएका माछा पोखरा बजारमा वेगनास, रुपा, फेवा र खास्टेतालका भन्दै व्यापारीले ढाटेर बिक्री गर्दा पछिल्ला वर्षमा यहाँका तालका माछाको महत्व घट्नुका साथै मूल्यमा समेत गिरावट आएको उनीहरूको गुनासो छ । पछिल्लो १५ वर्षयता पिप्लेका एक जलारी, अन्य क्षेत्री र बाहुन समुदायका चार जनाले रेष्टुरेण्ट र लज खोलेका छन् । ती होटलमा मुस्किलले ५० पाहुना अटाउँछन् ।

कोरोना महामारी अघि माछाको स्वाद लिनका लागि स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गरे पनि केही समय यता बिदाका दिन केही आन्तरिक पर्यटक मात्र पुग्ने गरेको उनीहरू बताउँछन् । सरकाले यतिका वर्षसम्म पनि जग्गाको लालपुर्जा नदिँदा आफूहरूलाई चिन्तित बनाएको उनीहरूको दुःखेसो छ । तालको मापदण्डको नाउँमा हटाउने हो कि भन्ने चिन्ताले उनीहरूलाई सताउने गरेको छ । स्थानीय तहले जलारी समुदायलाई कास्कीको वेगनासतालमा माछा मार्न कुनै रोकटोक भने लगाएको छैन ।

कोरोना त्रासले समस्या बनाएको उल्लेख गर्दै पिप्लेमै रेष्टुरेन्ट सञ्चालन गर्दै आएका अनिष जलारीले भने, “दुई वर्षदेखि बाह्य पर्यटक आएका छैनन् ।” –रासस

विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी

लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो ।  पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।  अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्। 

चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया  सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा  बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।  आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।

स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश

पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।

लोकप्रिय