यी हुन् प्रचण्डका चीन भ्रमणको उपलब्धी ?

यी हुन् प्रचण्डका चीन भ्रमणको उपलब्धी ?

काठमाडौँ,  चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सबै दलको सहमतिमा निर्वाचन भई राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ उच्च नेतृत्वको चाहना रहेको बताएका छन् । साताव्यापी अनौपचारिक चीन भ्रमण पूरा गरी स्वदेश फर्केका प्रधानमन्त्री दाहालले बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन्।

बोआओ फोर फर एसिया सम्मेलनमा भाग लिन चीन गएका दाहालले बेइजिङ, सिचुवान र तिब्बतसमेत भ्रमण गरेका छन् । ‘अरू मुलुकको आन्तरिक राजनीतिक मामिलामा कुनै हस्तक्षेप नगर्ने चीनको घोषित नीति रहेको हामी सबैलाई थाहा भएकै कुरा हो’, प्रधानमन्त्री दाहालले भने, ‘हामीसँग भएका राष्ट्रपति तथा उपप्रधानमन्त्री सम्मका भेटमा उहाँहरूले नेपालका सबै राजनीतिक दलको बीचमा सहमतिले निर्वाचन भई राजनीतिक स्थिरताको वातावरण होस् । हाम्रो शुभकामना छ भन्ने कुरा राख्नुभयो । उहाँहरूले नेपालको राजनीतिबारे त्योभन्दा अरू केही भन्नुभएन ।’
उच्चस्तरीय भेटघाट र छलफलबाट आपसी विश्वास र समझदारी सम्बन्ध थप सुदृढ भएको उनले बताए । ‘यसबाट नेपाल-चीन सम्बन्धमा आगामी दिनमा नयाँ गति र आयाम प्राप्त गर्ने विश्वास मैले लिएको छु’, उनले भने ।

चिनियाँ राष्ट्रपतिले अघि सारेको वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता आफूले राष्ट्रपतिसँग व्यक्त गरेको दाहालले बताए । उक्त अवधारणामा सहभागिताबाट नेपाल-चीनबीच रेलमार्ग र सडक सञ्जाल निर्माण, ऊर्जा क्षेत्रमा सहकार्य, सीमापार विद्युतीय प्रसारण लाइन, औद्योगिक पार्कलगायत महत्ववपूर्ण पूर्वाधार निर्माण गर्ने विषयमा फाइदा लिन चाहेको दाहालले बताए ।

दाहालले वान बेल्ट वान रोड अवधारणामा सहभागिताले नेपालका भौतिक पूर्वाधारको स्तरोन्नति, नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा चीनले सहयोग गर्ने, दुई देशबीच अन्तरसञ्जाल निर्माण र विस्तार गर्ने, जनस्तर र सांस्कृतिक सम्बन्ध अझ प्रगाढ बनाउनेजस्ता विषयबाट नेपाली जनता लाभान्वित हुने बताए ।
चीनमा भएका उच्चस्तरीय छलफलमा दुवै मुलुकमा विद्यमान अवसर र सम्भावनालाई भरपुर सदुयोग गर्दै आपसी सम्बन्धलाई थप दरिलो बनाउने विषयमा महत्ववपूर्ण समझदारी भएको उनले बताए । ‘यस खालका उच्चस्तरीय भ्रमणको आदानप्रदानबाट दुवै देशबीचको सम्बन्धलाई विस्तार एवं थप मजबुत बनाउन दुवै देश सहमत भएका छन्’, दाहालले भने । नेपालका राष्ट्रपतिका तर्फबाट चिनियाँ राष्ट्रपतिलाई आफूले नेपाल भ्रमणको निमन्त्रणा स्मरण गराएको दाहालले बताए । ‘चिनियाँ राष्ट्रपतिले दुवै पक्षलाई अनुकूल हुने गरी छिट्टै नेपाल भ्रमणमा आउने बताउनुभएको छ’, उनले भने ।

नेपाल-चीनबीच उच्च राजनीतिक तह, सांसद, सरकारी अधिकारी र राजनीतिक दलका प्रतिनिधिको नियमित रूपमा भ्रमणको आदानप्रदान गरी आपसी मित्रता र सहयोगलाई थप सुदृढ गर्ने समझदारी भएको उनले बताए ।

भूकम्पपछि अवरुद्ध तातोपानी नाकालाई पुनःसञ्चालनमा ल्याउने अपेक्षा राख्दा चिनियाँ राष्ट्रपतिले आफूले व्यक्तिगत रूपमा उक्त विषयलाई समेत ध्यान दिएको र प्रतिवेदन अध्ययनपश्चात् नाका खुल्ने विश्वास व्यक्त गरेको उनले बताए ।
चिनियाँ उपप्रधानमन्त्रीद्वय वाङ् याङ् र झाङ् गाओलीसँगको भेटमा नेपालको आर्थिक विकासका लागि थप चिनियाँ लगानीका लागि पहल गर्न आग्रह गरेको दाहालले बताए । उनले बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन प्रोत्साहन गर्न, नेपालको पूर्वाधार विकास र व्यापार क्षमता अभिवृद्धि गर्न तथा चिनियाँ बजारमा नेपाली उत्पादनको सहुलियतपूर्ण पहुँचको व्यवस्था गर्न जोड दिएको स्मरण गरे।

भ्रमणका क्रममा पारवहन यातायात सम्झौताको प्रोटोकल तयार गरी शीघ्र हस्ताक्षर गर्न, तातोपानी नाका सञ्चालनमा ल्याउन, रसुवागढी नाकाको स्तरोन्नति गर्न, उक्त नाकामा रहेको एकदिने पासको समस्या समाधान गर्न, बढ्दो व्यापार घाटा कम गर्न चीनले सक्दो सहुलियत प्रदान गर्ने विषयमा कुराकानी भएको उनले बताए ।
भ्रमणका उपलब्धि
– उच्चस्तरीय भेटबाट विश्वास र समझदारी सुदृढ
– विकासका लागि आवश्यक सहयोग र समर्थन
– वान बेल्ट वान रोड अवधारणामा नेपाल सहभागी हुने प्रतिबद्धता
– चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्ता
– तातोपानी नाका पुनःसञ्चालनमा चिनियाँ राष्ट्रपतिको चासो
– चिनियाँ लगानीका लागि पहल
– चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गराउन प्रोत्साहन

यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

सीता दाहालको स्मृति दिवस : मानव सेवा आश्रममा सहयोग लिएर पुगे प्रचण्ड, खाना खुवाए

काठमाडौं । काठमाडौँ । पत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रानीवनस्थित  मानव सेवा आश्रम पुगेका छन्।  उनले आश्रममा आश्रितहरूसँग आत्मीय भेटघाट गर्नुका साथै भोजन गराएका हुन्। उनले आफू प्रधानमन्त्री भएको बेला हेटौँडामा मानव सेवा आश्रमको केन्द्रीय भवन उद्घाटन गरेको स्मरण गर्दै, मानव उद्धारका लागि आवश्यक सवारी साधनको व्यवस्थापनमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए।  साथै, मानव सेवा आश्रमले सकारात्मक उद्देश्यले देशभर सञ्चालन गरेका काममा साथ र सहयोग पुर्‍याउने बताए। मानवीय सेवामा आधारित यस्ता कार्यहरूले सामाजिक मूल्य र आदर्शको सन्देश दिन्छन् भन्ने धारणा उनले व्यक्त गरे।

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै, छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ। आज तपाईंहरूले संघीय निजामति विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ,” उहाँले भन्नुभयो, “यो विधेयकमा कसले बदमासी गर्‍यो, त्यसको छानबिन गरी, चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौं।” अध्यक्ष प्रचण्डले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याउनुभयो। “यथास्थिति र प्रतिगमन उल्ट्याउने प्रयास भइरहेको अवस्थामा हामीले पार्टीको अभियान रोकेर प्रतिवाद गर्‍यौं। अहिले पनि त्यो प्रवृत्ति जारी छ,” उहाँले स्पष्ट पार्नुभयो। सो अवसरमा अध्यक्ष प्रचण्डले वाइसिएल नेपाललाई पार्टीको विचार, लाइन र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ अघि बढ्न आग्रह गर्नुभयो। “वाइसिएल नेपाल पार्टीको उत्तराधिकारी संगठन हो, प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्ने शक्ति हो,” उहाँले भन्नुभयो, “पार्टीको आठौं महाधिवेशनले पारित गरेको विधान, विचार र लाइनलाई जनतासमक्ष लैजान आवश्यक छ।” उहाँले वाइसिएलसँग जनताका समस्या समाधान गर्ने संघर्षमा सधैं अग्रपङ्क्तिमा रहनुपर्ने अपेक्षा व्यक्त गर्नुभयो। “युवा आन्दोलनको इतिहास जनताको समस्या समाधान गर्दै अघि बढेको हो,” उहाँले भन्नुभयो, “भित्र र बाहिर अहिले जटिल परिस्थिति छ, जुन जनयुद्धका समयमा पनि भोगिएको थियो । त्यसमा नेतृत्व र विचारको रक्षामा वाइसिएल एकताबद्व भएर लाग्न जरूरी छ ” अध्यक्ष प्रचण्डले वर्तमान अवस्थामा वर्गसंघर्ष थप पेचिलो बन्दै गएको उल्लेख गर्दै, विचार र नेतृत्वको रक्षा गर्दै एकताबद्ध रूपमा क्रान्तिकारी धारलाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो। “महाधिवेशनले सर्वसम्मत निर्वाचित गरेको नेतृत्व र विचारको रक्षा तथा संस्थागत गर्नु अहिलेको आवश्यकता हो,” उहाँले भन्नुभयो। उहाँले वर्षायाम पछि मध्यपहाडी लोकमार्गको अभियानलाई पूर्णता दिने जानकारी दिंदै  त्यसपछि सुरु गरिने संगठन निर्माणको अभियानमा वाइसिएललाई सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। वाइसिएलले जुजारु भूमिका खेल्ने गरी काम गर्नुपर्ने र संगठन निर्माणलाई प्राथमिकता दिनुपर्नेमा उहाँले विशेष जोड दिनुभयो।

कृषकहरूको समस्यामा सरकार गम्भीर बनोस्  : अध्यक्ष प्रचण्ड

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि किसानलाई वास्तविक अर्थमा न्याय गर्नुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै अध्यक्ष प्रचण्डले जलवायु अनुकूल धानका जात र स्थान विशेषका आधारमा मल सिफारिसलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । उनले सहकारीमार्फत साना किसानलाई बजारको सहज पहुँच प्रदान गर्न आग्रह गरे। प्रचण्डले आफ्नो सन्देशमा भनेका छन्, “धानबाली हाम्रो प्रमुख खाद्यबाली मात्र नभएर यो हाम्रो सांस्कृतिक पहिचान, आर्थिक आधार र आत्मनिर्भरताको महत्त्वपूर्ण कडी पनि हो ।” नेपालको कुल खाद्यान्न उत्पादनमा धानको योगदान करिब ५० प्रतिशतभन्दा बढी छ । यो हाम्रो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको अध्यक्ष दाहालले बताए । यस वर्षको नारा ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ले धानखेतीमा उत्पादकत्व वृद्धि र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता दर्शाउने उनले उल्लेख गरे । समयमा मल, बीउ र सिँचाइको अभावले किसानले ठूलो कठिनाइ भोगिरहनुपरेको  अध्यक्ष दाहालको भनाइ छ । सन्देशमा अगाडि भनिएको छ, “मैले नेतृत्व गरेको सरकारको पालामा, हामीले रासायनिक मलको आयात र वितरणमा पारदर्शिता ल्याई समयमै मल आपूर्ति सुनिश्चित गरेका थियौँ, ठूला, मझौला र साना सिँचाइ परियोजनालाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्याउन सघन प्रयास गरेका थियौँ ।” उनले वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको बताए।  धानबालीमा सघनता ल्याएर खाद्य सुरक्षा र आत्मनिर्भर नेपाल निर्माणका लागि बीउ, मल तथा सिँचाइका साथै धान जोनहरूमा पर्याप्त लगानी जुटाउन सरकारसमक्ष माग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि धानखेतीमा परनिर्भरताको अन्त्य गर्नुपर्नेमा जोड दिए । “सरकारले यो विषयमा गम्भीर बनेर किसानलाई न्याय गर्न माग गर्न चाहन्छु, सरकारसँग धानबालीमा सघनता ल्याउन बीउ, मल, सिँचाइ र धान जोनमा पर्याप्त लगानी सुनिश्चित गर्न सकिन्छ”, अध्यक्ष प्रचण्डले भने ।”

संसदीय समितिमा पारित भएका विधेयकमाथि छेडखानी नहोस् : अध्यक्ष प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उक्त टिप्पणी गर्नुभएको हो। अध्यक्ष प्रचण्डले समितिबाट सर्वसम्मत पारित भइसकेका केही विधेयकहरू प्रतिनिधिसभामा कार्यसूचीमा राखिए पनि अन्तिम समयमा हटाइएको प्रति असन्तुष्टि व्यक्त गर्दै त्यसो नगर्न गर्दै सरकारलाई चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, “हामीले धेरै मेहनत गरेर सदनमा ल्याएका र समितिबाट सर्वसम्मत पारित गराएका विधेयकहरू कार्यसूचीबाट हटाउने प्रवृत्ति देखिएको छ। यस्तो चलखेल नहोस् भन्ने हाम्रो आग्रह हो।” संघीय निजामती सेवा विधेयक र विद्यालय शिक्षा विधेयक जस्ता महत्त्वपूर्ण विधेयकहरू कार्यान्वयनका लागि अत्यावश्यक भएको भन्दै अध्यक्ष प्रचण्डले यसमा सरकार र समितिका सभापतिको ध्यानाकर्षण गराउनुभयो। उहाँले थप्नुभयो, “संवेदनशील विधेयकहरू टारिनेतिर लागियो भने हामी चुप लाग्दैनौं।” अध्यक्ष प्रचण्डले प्रहरीसम्बन्धी विधेयकलाई समय सान्दर्भिक, व्यापक छलफल र अधिकतम परिमार्जनसहित पारित गर्नुपर्नेमा समेत जोड दिनुभयो। उहाँका अनुसार, विधेयक तयार पार्दा अघिल्ला बहसहरू, सरोकारवालाको राय र संघीयताको मर्मलाई मध्यनजर गरिनुपर्छ। “यो विधेयक ढिला भए पनि आएकोमा सरकारलाई धन्यवाद दिन्छु। तर अब यसको परिमार्जन र समुचित प्रक्रिया सुनिश्चित गरेर अघि बढाउनु आवश्यक छ,” उहाँले भन्नुभयो। उहाँले संघीयताको प्रभावकारी कार्यान्वयनमा देखिएको अन्योल हटाउन कानुनी अधार निर्माणमा सबै दलले सहकार्य गर्नुपर्नेमा पनि जोड दिनुभयो। अध्यक्ष प्रचण्डको चेतावनीसँगै बैठकमा सहभागी अन्य सांसदहरूले पनि समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरूमा अनावश्यक हस्तक्षेप स्वीकार नहुने धारणा व्यक्त गर्नुभयो ।

लोकप्रिय